अध्ययन समितिको प्रतिवेदन कार्यान्वयनका लागि साझेदार निकायबीच बैठक

२७ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। कुमारी बहाल (कुमारीघर) को छानो जीर्णोद्धार गर्न एक करोड २५ लाख ४७ हजार ८६४ रुपैयाँ लाग्ने अनुमान गरिएको छ। आव ०८२/८३ को दररेट राखेर गणना गर्दा झिँगटी, पर्खाल, काठलगायत छानासँग सम्बन्धित अवयवको जीर्णोद्धार गर्न यो लागत आएको हो।

कुमारी घरको छाना चुहिने भएपछि यसको प्राविधिक पक्षको अध्ययन गर्न गठित समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्न आज (बिहीबार) महानगरपालिकाका उपप्रमुख (उपमेयर) सुनीता डंगोलको अध्यक्षतामा साझेदार कार्यालयका अधिकारीबीच बसेको बैठकमा लागत अनुमानका विषयमा जानकारी दिइएको हो। कुमारी घर जीर्णोद्धारको प्राविधिक, सामाजिक तथा अन्य पक्षका विषयमा सरोकारवालाबाट प्रतिक्रिया लिएपछि उपप्रमुख डंगोलले, मौसम प्रतिकूलता हुनुअघि कुमारी घरको छानो जीर्णोद्धार गरिसक्नुपर्नेमा जोड दिइन्। उनले जीर्णोद्धारको प्रक्रिया तत्काल अगाडि बढाउन पनि हनुमानढोका दरबार संरक्षण कार्यक्रमलाई निर्देशन दिइन्।

“पुनर्निर्माण गर्दा यसको सामाजिक, धार्मिक तथा सांस्कृतिक पक्ष, स्वामित्वलगायत विषयमा विवाद सिर्जना हुनुहुँदैन। यसका लागि सबै पक्ष सहभागी गराएर विज्ञहरुको निगरानी समिति गठन गर्नुपर्छ। पुनर्निर्माणमा कुनै द्विविधा भए वा समस्या आए तत्काल समाधान दिन सक्ने निकायगत समन्वय संयन्त्र बनाउनुपर्छ‚” उनले भनिन्।

बैठकमा गुठी संस्थानका प्रशासक शैलेशराज कुँवर, पुरातत्त्व विभागका सिनियर डिभिजन इन्जिनियर पूर्णबहादुर श्रेष्ठ, हनुमानढोका दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक काजीमान प्याकुरेल, पुरातत्त्व अधिकृत अमृता महर्जन, महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई, हनुमानढोका दरबार संरक्षण कार्यक्रमका निमित्त प्रमुख चीन बज्राचार्यसहित अध्ययन समितिका पदाधिकारीको सहभागिता थियो।

गएको बर्खामा कुमारी घरको छानो चुहिने भएपछि जीर्णोद्धारको प्राविधिक पक्ष अध्ययन गर्न २० साउनमा समिति गठन भएको थियो। समितिको संयोजकमा पुरातत्त्व विभागका पुरातत्त्व विज्ञ पुरुषोत्तम डंगोल थिए भने सदस्यमा विभागका इन्जिनियर रोशन डंगोल, हनुमानढोका हेरचाह अड्डाका प्रमुख काजीमान प्याकुरेल, गुठी संस्थानका इन्जिनियर भीमप्रसाद अधिकारी र महानगरपालिकाको हनुमानढोका दरबार संरक्षण कार्यक्रमका आर्किटेक्ट अमित बज्राचार्य थिए।

अध्ययन समितिको प्रतिवेदनअनुसार कुमारी घरका नामले चिनिने कुमारी वहालको तीनै तलाको पर्खालमा चिरा परेको छ। केही थाम र मेथहरुले ठाउँ छोड्ने अवस्था छ। कतिपय दलिन किराले खाएर ससाना प्वाल पारेका छन्। ठाउँ-ठाउँका काठ मक्किएको अवस्था छ। दोस्रो तलामा शिशाले छोपेर राखिएको भित्तेचित्र जोगाउनुपर्ने अवस्थामा रहेको समितिका सदस्य आर्किटेक्ट अमित बज्राचार्यले बैठकमा जानकारी दिए।

२०७२ को भूकम्पले हनुमानढोका दरबार क्षेत्रका १० वटा संरचना ध्वस्त र कुमारी वहालसहित २१ संरचना आंशिक क्षति भएको विवरणमा राखिएको थियो। त्यसबेला नै कुमारी घरलाई ध्वस्त प्रकृतिमा राखिनुपर्नेमा नराखिएको अधिकारीहरुको भनाइ छ। आंशिक क्षतिमा राखिए पनि तत्काल मर्मत सम्भार नभएको, अन्य विभिन्न समयमा मर्मत सम्भारको काम भएको देखिए पनि विषय विज्ञको उपस्थिति नभएका कारण यसले वहालमा क्षति गरेको प्रतिवेदन उल्लेख छ। मर्मतमा अग्राखको काठ, पक्की इँटाजस्ता टिकाउ निर्माण सामग्रीमा ध्यान नदिइएको, भित्तेचित्रको पुरातात्त्विक वातानुकूलित संरक्षण हुन नसकेको, घरको पश्चिमतर्फको भाग भासिएको हुँदा छानो मर्मतपछि फ्लोर, वाल, झ्याल ढोकालगायत संरक्षण एकैपटक गर्नुपर्ने देखिएको छ।

श्री कुमारी घरको ऐतिहासिक पृष्ठभूमि
राजा जयप्रकाश मल्लका पालामा वि.सं. १८१४ मा यो वहाल निर्माण गरिएको हो। हनुमानढोका दरबार परिसर, वसन्तपुरस्थित काष्ठकला र वास्तुकलाले सुसज्जित नेवारी शैलीको यो वहाल कुँदिएका थाम, झ्याल, मेथको कलात्मक सौन्दर्यले भरिएको छ। प्रवेशद्वारमा प्रस्तरका जोर सिंह, भित्री भागमा खुला चोक (वहाल), तान्त्रिक भित्तेचित्र संरक्षित तीनतले चौघेरा संरचनासहित झिँगटी छाना भएको घर वसन्तपुर क्षेत्रको स्मारक हो। यो घर तलेजु भवानीको अवतार मानिने जीवित देवी श्री कुमारीको निवास हो ।