काठमाडौं। यम शेर्पाको निर्देशनमा तयार भइरहेको चलचित्र ‘मिरमिरे’को दुईवटा पोस्टर सार्वजनिक भएका छन्। जसका चलचित्रका मुख्य कलाकार फिचर्ड छन्।
दयाहाङ राई र एक बाल कलाकार तथा प्रकाश सपूत र सिर्जना निङ्लेखु पोस्टरमा फिचर्ड छन्। मधुरो प्रकाश र पहाडको पृष्ठभूमिको एउटामा पोस्टरमा दयाहाङ र शाइसा गौचन छन्।
उनीहरू बाउ र छोरीजस्तो देखिन्छन्। दुवै केही तनावमा छन्। कसैको पर्खाइ वा वियोगमा रहेजस्तो देखिएको छ। दयाहाङले छोरीप्रति आमाको जिम्मेवारी पनि निभाइरहेको संकेत पोस्टरमा देखिन्छ।
अर्को पोस्टरमा प्रकाश विद्यार्थी र सिर्जना शिक्षिकाको भेषमा छन्। मन्द मुस्कानमा सिर्जना र मजाको हाँसोसहित प्रकाश देखिएका छन्।
यी दुईबीच शिक्षक र विद्यार्थीको मात्रै सम्बन्ध हो वा प्रेमी-प्रेमिका नै हुन् निर्माण पक्षले खुलाएको छैन । उमेर हेर्दा भने प्रकाश सिर्जनाकै विद्यार्थी हुन्जस्तो देखिँदैन।
‘मिरमिरे’ माघ १ गते रिलिज हुँदै छ। यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु छन्। अन्य कलाकारमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटालगायत छन्। चलचित्रको बाल-कलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन्।
दयाहाङ र प्रकाशको यो पहिलो सहकार्य हो। यमले भने दयाहाङसँग दोस्रोपटक सहकार्य गरेका हुन्। यसअघि उनको पहिलो निर्देशन रहेको ‘कार्साङ’मा पनि दयाहाङ मुख्य भूमिकामा थिए। ‘मिरमिरे’को निर्देशनसँगै स्टोरी पनि यम स्वयंले लेखेका छन्। चलचित्रका छायाकार आलोक शुक्ला हुन्।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह-निर्मातामा गोविन्द बोहोरा, सुदीप कुँवर छन्। चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालकसमेत रहेका चलचित्र वितरक रोहित कट्टेल छन्।
वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको चलचित्रमा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बू मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक छन्। चलचित्र ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ।