मधेस राजनीति
काठमाडौँ। मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डललाई पदमुक्त गर्न माग गर्दै सात दलले अविश्वासको प्रस्ताव दर्ता गराएका छन्।
सभामुख मण्डलले पदीय मर्यादाविपरीत काम गरेको भन्दै सात दलका ६४ सांसदले मधेस प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। उनीहरुले प्रदेश सभाका उप-सभामुख बबिता राउत इसरसमक्ष अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।
मधेसमा १०४ सांसद छन्। एक निलम्बन र सभामुखसहित एमालेका २५ जना छन्। अविश्वासको प्रस्ताव दर्ता गराउनेमा जसपा नेपाल, लोसपा, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र नेकपा माओवादी केन्द्र छन्। अविश्वासको प्रस्तावका लागि यी सात दलले दुईतिहाइ संख्या पुग्छ।

प्रस्तावमा सभामुख मण्डलले सभा कार्य सञ्चालन नियमावली २०७५, परिच्छेद २१, नियम १८० अनुसार पदीयअनुकूल र पदीय आचरणअनुकूल कार्य नगरेकाले पदमुक्त गर्नसमेत माग गरिएको छ।
तत्कालीन मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) ले विश्वासको मत लिने समयमा नेकपा माओवादी केन्द्रका दुई सांसद रहबर अन्सारी र माला कर्णलाई बोल्ने मौका दिएर सभामुखले मुख्यमन्त्रीले विश्वासको मत लिने वातावरण बिगारेको र त्यसपछि विश्वासको मत परीक्षण गर्ने वातावरण नै नबनाएको सात दलको आरोप छ।
सभामुखले हटाए पाँच सांसद
यता प्रदेश सभा सचिवालयले मधेस प्रदेश सभाका पाँच सांसदलाई पदबाट हटाएको जनाएको छ। लगातार १० दिन प्रदेश सभा बैठकमा उपस्थिति नभएको भन्दै पाँच सांसदको पद रिक्त गरिएको हो। पद रिक्त गरिएका प्रदेश सभा सदस्यमा उर्मिलादेवी सिंह‚ मनीषकुमार सुमन, सञ्जयकुमार यादव, सिंहासन सा कलवार र शारदाशंकर प्रसाद कलवार छन्।
प्रदेश सभा सदस्य कार्य सञ्चालन नियमावली २०७५ को १८१ अनुसार पाँच सांसद्को पद रिक्त गरिएको सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ।
