काठमाडौँ। प्राकृतिक दुबोसहितको घाँसेचउर, वरिपरि खुला पैदल मार्ग, खुल्ला मञ्चको अहिलेको अवस्था हो।
खुलामञ्चको चउरमा १४ हजार ६ सय वर्गमिटरमा प्राकृतिक दुबो रोपिएको छ। उबडखावड मिलाइएको ठाउँमा नेपाली दुबो रोपेपछि अहिले चउर लोभलाग्दो भएको छ। महानगरपालिकाको सार्वजनिक निर्माण विभागले कार्यान्वयन गरिरहेको, खेलकुद पूर्वाधारको मर्मत, सम्भार, सुधार तथा स्तरोन्नति गर्ने कार्यक्रमअन्तर्गत चउरमा मलिलो माटो राखेर दुबो रोप्ने काम भएको हो।
महानगरपालिकाका सबै वडामा खेलकुद पूर्वाधारमा काम गर्न, ६ करोड ९८ लाख ७० हजार रुपैयाँ विनियोजन भएको छ। यही कार्यक्रमबाट खुल्ला मञ्चको चउरमा दुबो रोपिएको हो। यसका लागि करिब ९० लाख रुपैयाँ खर्च भएको महानगरले जनाएको छ।
चउरको वरिपरि ४ मिटर चौडाइको पैदल बनाइएको छ। सहरका विभिन्न ठाउँका पैदल मार्ग स्तरोन्नति गर्दा निकालिएका हेक्जागोनल ब्लकहरु ल्याएर यस ठाउँको पैदल मार्ग बनाउन पुनःप्रयोग गरिएको छ।
पैदल मार्गमा २१ वटा बिजुलीका पोल राखिएका छन्। यी न्युरोडको पैदल मार्ग विस्तारका क्रममा निकालिएका पोल पुनःप्रयोग गरिएका हुन्। यी पोलहरुमा टु आर्म छन्। यसमध्ये एउटा मैदानतर्फ फर्किएको आर्ममा एक सय वाट क्षमताको र एउटा पैदल मार्गतर्फ फर्किएको आर्ममा ३० वाट क्षमताको बत्ती राखिनेछ। यी बत्तीहरु डे नाइट सेन्सरयुक्त छन्। रातमा बल्छन्। दिनमा आफैँ निभ्छन्।
खुलामञ्च सबैका लागि खुला रहने, बहुउपयोगी स्थानका रुपमा प्रयोग हुनेछ। बिहान शारीरिक अभ्यास गर्न सकिनेछ। बालबालिकाहरुका लागि स्वतन्त्र खेल्ने ठाउँ हुनेछ। पाका उमेरका व्यक्तिका लागि टहल्ने, आराम गर्ने र सहरी जीवन नियाल्ने ठाउँ हुनेछ। मर्निङवाकका लागि उपयुक्त मार्ग हुनेछ। युवाहरुलाई खेल प्रशिक्षण गर्ने तथा रमाउने ठाउँ हुनेछ।
चउरबाट पश्चिमतर्फको मुख्य द्वारबाट गिटीमाथि स्टोन डस्ट राखेर पार्किङ गर्ने ठाउँ बनाइएको छ। यो ठाउँ भलिबल, ब्याडमिन्टनजस्ता खेल खेल्न सकिन्छ।
पूर्वाधार निर्माण र परामर्शमा सहकार्य गर्न महानगरपालिकाले नेपाल सरकारको स्वामित्व भएको पूर्वाधार निर्माण कम्पनीसँग १० वैशाख २०८१ मा नीतिगत सहमतिपत्रमा हस्ताक्षर गरेको छ। त्यसै सहमतिका आधारमा त्यही महिनाको २३ गते खुलामञ्चको ग्रेडिङ र लेभलिङका लागि सम्झौता भयो। त्यही सम्झौताका आधारमा २४ वैशाख २०८१ देखि महानगरपालिकाले खुलामञ्चको ग्रेडिङ र लेभलिङको काम थालेको थियो। यसपछि अर्थात् ग्रेडिङ र लेभलिङको काम सकिएपछि चउरमा पानी नजम्ने र सतहको पानी पुनःभरण हुने भएको छ।
यसका लागि चउरका ६ ठाउँमा ४ फिट व्यास र ४ फिट नै गहिराइ भएका वाटर रिचार्ज पिटहरु बनाइएका छन्।
ग्रेडिङ र लेभलिङ्पछि दैनिक ५० जना जनशक्ति परिचालन गरेर करिब तीन महिना मैदानका ढुंगा टिप्न लगाएको थियो।
खुलामञ्च २३ हजार ४१५ वर्गमिटर (४६ रोपनी १ दाम) क्षेत्रमा फैलिएको छ। मञ्चको टुँडिखेलतर्फ २२० मिटर लामो छ भने रत्नपार्कतर्फ १९० मिटर छ। चौडाइमा प्राधिकरणतर्फ करिब ११० मिटर छ भने वीर अस्पतालतर्फ ११७ मिटर छ।
काठमाडौँ टावर निर्माण थालिएसँगै त्यस क्षेत्रबाट गन्तव्य तय गर्ने सार्वजनिक यातायात सञ्चालन गर्न खुल्ला मञ्च प्रयोग भएको थियो। मञ्च र रत्नपार्कको बिच खण्डमा कालो पत्र गरेर बसपार्क सञ्चालन भएको थियो।
२०७२ को भूकम्पपछि क्षति भएको वीर अस्पताल र दरबार हाइस्कुल पुनर्निर्माण कार्यका लागि पनि यो ठाउँ प्रयोग भएको थियो। यस बेला निर्माण सामग्री सञ्चालन राख्ने, विद्यालय सञ्चालन गर्ने र श्रमिकका लागि बासस्थान यही ठाउँमा बनाइएको थियो ।