काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

लागुऔषध

कोसी प्रदेशमा दुखाइलगायतका औषधि दुरुपयोग, जोखिममा युवा

२७ कार्तिक २०८२
औषधिको दुरुपयोग गरेर लागूऔषध प्रयोगकर्तालाई बिक्री गरेको आरोपमा पक्राउ परेका इसान्त फार्मेसीका सञ्चालक सञ्जयकुमार मण्डल। तस्बिरहरू : अनिल श्रेष्ठ
अ+
अ-

धरानका श्याम श्रेष्ठ (नाम परिवर्तन)ले औषधिको अनुचित प्रयोग गरेर नशा सेवन गर्न थालेको आठ वर्ष भयो। १९ वर्षको उमेरमा साथीको संगतले चुरोट सेवन गर्न थालेका उनी गाँजाको लतमा परे। त्यसपछि दुखाइ कम गर्न बिरामीले खाने ‘पेनकिलर’ मिसाएर लागुऔषध लिन थाले। अहिले २८ वर्ष भएका उनी विराटनगरको एउटा पुन:स्थापना केन्द्रमा छन्।

पेट दुखाइमा खाने ‘पेनकिलर’ स्पास्मो, प्रिगाबालिन र कोडोमोल मिसाएर सेवन गर्नु उनको दैनिकी बनेको थियो। यी औषधि फार्मेसीहरूमा सहजै पाइन्छ। सुरुमा दिनको एकपटक सेवन गर्ने गरेका उनी यसको लतमा यति फसे कि दिनमा तीन पटकसम्म सेवन गर्न थाले। उनले विगत सम्झँदै भने, “एकपटक खाँदा तीन घण्टासम्म नशा लाग्थ्यो। त्यसपछि हरेक तीन घण्टाको फरकमा खाइन्थ्यो।”

उनको कुलतबाट आजित भएपछि परिवारले गत वैशाखमा पुन:स्थापना केन्द्रमा राखेको हो। पुन:स्थापना केन्द्रको अनुशासन र नियमित कक्षाले गर्दा कुलत भुल्दै गएको उनी सुनाउँछन्।

श्यामजस्तै कुलतमा फसेपछि परिवारले पुन:स्थापना केन्द्रमा ल्याएका अर्का युवा हुन्, मोरङ, कानेपोखरीका रोशन लिम्बू (नाम परिवर्तन)। उनले पनि स्पास्मो, कफ ट्याब्लेट र एन्टी कफजस्ता औषधि मिसाएर नशाका रूपमा लिन्थे।

श्याम र रोशन प्रतिनिधि पात्र मात्र हुन्। अहिले कोसी प्रदेशका युवा पेट दुखेका बिरामीलाई राहत दिने पेनकिलरको लतमा परिरहेका छन्। जसले उनीहरूको स्वास्थ्यमा गम्भीर संकट निम्त्याएको मात्र छैन, सामाजिक अपराधको जोखिमसमेत बढाएको छ।

पेटको दुखाइ कम गर्ने, खोकी लाग्दा खाइने र क्यान्सरको समस्या भएकालाई दुखाइ कम गर्न प्रयोग गरिने औषधि मिसाएर सेवन गर्दा लागुऔषधको काम गर्ने गरेको चिकित्सक बताउँछन्। त्यही भएर भारतबाट अवैध रूपमा भित्र्याइने यसको कारोबार पछिल्लो समय फस्टाएको छ।

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार अवैधरूपमा औषधि बेच्ने गिरोहले दुरुपयोग हुने अधिकांश औषधि खुला सिमानाको फाइदा उठाएर भारतबाट लुकिछिपी भित्र्याउँछ।

नेपाल औषधि व्यवस्था विभाग विराटनगरका अनुसन्धान अधिकृत तथा सूचना अधिकारी दीपेन्द्र खड्काका अनुसार विशेषगरी पेनकिलर र मनोद्दीपक औषधिहरूको चरम दुरुपयोग भइरहेको छ। पेट दुख्दा र असह्य पीडा हुँदा प्रयोग हुने स्पास्मो र ओपिडोल अहिले धेरै दुरुपयोग भइरहेको उनको भनाइ छ।

नशासम्बन्धी दुखाइमा प्रयोग हुने प्रिगाबालिन तथा खोकीका औषधि कफ ट्याब, एन्टी कफ, कपट्याब–डी जस्ता औषधिको पनि गलत प्रयोग हुने गरेको छ। पहिले ट्रामाडोलको दुरुपयोग बढी हुने गरेकामा अहिले त्यसको ठाउँमा स्पास्मो, ओपिडोल र प्रिगाबालिनजस्ता औषधि मिसाएर लागुऔषध बनाउने नयाँ प्रवृत्ति देखिएको विभागका सूचना अधिकारी खड्का बताउँछन्।

गिरोह नै सक्रिय

कोसी प्रदेशमा चिकित्सकको सिफारिसमा मात्र बिक्री गर्न मिल्ने औषधिहरू अवैधरूपमा बिक्रीवितरण गर्ने संगठित गिरोह नै छ। यस्तो गिरोह विशेषगरी मोरङ, सुनसरी, झापा र उदयपुरमा सक्रिय छ। गत ७ कात्तिकमा प्रहरीले १५ हजार ट्याब्लेट स्पास्मोसहित मोरङको कटहरी गाउँपालिका-१ का ३५ वर्षीय निरज राजवंशीलाई पक्राउ गर्‍यो। को.२१ प २८३३ नम्बरको मोटरसाइकलमा बोकेको जेब्रा झोलामा प्रहरीले उक्त परिमाणको पेनकिलर बरामद गरेको हो। पेटको दुखाइ कम गर्न प्रयोग हुने यो औषधि चिकित्सकको सिफारिस र औषधि पसलले अभिलेख राखेर मात्र बिक्री गर्नुपर्ने नेपाल औषधि व्यवस्था विभागले जारी गरेको निर्देशनमा उल्लेख छ। तर, राजवंशीले ठूलो परिमाणमा उक्त औषधि लागुऔषध प्रयोगकर्तासम्म पुर्‍याउँदै थिए।

लागुऔषधका रूपमा प्रयोग भइरहेका पेनकिलर

इलाका प्रहरी कार्यालय रंगेलीले अनुसन्धान गर्दा यो सञ्जालको जालो औषधि पसलसम्मै जोडिएको खुल्यो। राजवंशीले उक्त औषधि मोरङको सुनवर्षी नगरपालिका–६ स्थित न्यू रेखा मेडिकल हलबाट ल्याएका थिए। प्रहरीका अनुसार राजवंशीले चलाएको मोटरसाइकलको पछाडि सवार व्यक्ति सोही मेडिकल हलका सञ्चालक कार्तिक दास थिए। उक्त औषधि मोरङको उर्लाबारीमा रहेका लागुऔषध प्रयोगकर्तालाई बिक्री गर्न लैजान लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यो घटना औषधि पसलबाटै औषधिको कसरी अनुचित प्रयोग भइरहेको छ भन्ने दृष्टान्त हो।

१ पुस २०८१ मा पनि मोरङमा लागुऔषध प्रयोगकर्तालाई औषधि आपूर्ति गरेको आरोपमा चारजना पक्राउ परेका थिए। भारतबाट अवैध रूपमा औषधि ल्याएर लागुऔषध प्रयोगकर्ता र पूर्वका विभिन्न ठाउँमा आपूर्ति गर्ने गरेको आरोपमा रंगेली नगरपालिका–७ स्थित इसान्त फार्मेसीका सञ्चालक सञ्जयकुमार मण्डल तथा अभिषेककुमार मण्डल, अजयकुमार मण्डल र पंकज मण्डललाई पक्राउ गरिएको थियो। नेपाल औषधि व्यवस्था विभागले औषधि ऐन, २०३५ अनुसार उनीहरूलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको माग गर्दै गत १५ साउनमा मोरङ जिल्ला अदालतमा मुद्दा दायर गर्‍यो। हाल उनीहरू पुर्पक्षका लागि थुनामा छन्।

यसअघि यस्तै आरोपमा मोरङको उर्लाबारी नगरपालिका-३ मंगलबारेबाट रविन पुरी, रक्की धिमाल, सुमित राई र उज्ज्वल थापालाई पक्राउ गरिएको थियो। तर, उनीहरूलाई परिचालन गर्ने मुख्य नाइके अझै फरार छन्। इटहरी–१ बाट पनि यस्तै आरोपमा पक्राउ परेका पाँच जनाविरुद्ध विभागले मुद्दा चलाएको थियो।

केही फार्मेसी सञ्चालक छिटै धेरै पैसा कमाउने लोभमा परेर यो अवैध धन्दामा संलग्न छन्। जसले गर्दा नियामक निकायलाई अनुगमन गर्न थप चुनौती थपिएको छ।

यी प्रतिनिधि घटनाले कोसी प्रदेशमा औषधिको दुरुपयोग कति भयावह बन्दै गएको छ भन्ने देखाउँछ। औषधि व्यवस्था विभाग, विराटनगरकी प्रमुख सचिता बर्माका अनुसार कोसी प्रदेशको तराईका जिल्लाहरूमा औषधिको दुरुपयोग भयावह बन्दै गएको छ। यो कानुनी मात्र नभई गम्भीर सामाजिक र जनस्वास्थ्य समस्या भएको उनी बताउँछिन्। “दुखाइको समस्या भएका बिरामीले लिने औषधि लागुऔषधका रूपमा प्रयोग हुनु गम्भीर र चिन्ताजनक विषय हो,” उनी भन्छिन्, “यो संगठित अपराध नियन्त्रण गर्नु ठूलो चुनौती बनेको छ।”

दुरुपयोगको बढ्दो ग्राफ

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार अवैधरूपमा औषधि बेच्ने गिरोहले दुरुपयोग हुने अधिकांश औषधि खुला सिमानाको फाइदा उठाएर भारतबाट लुकिछिपी भित्र्याउँछ।

गिरोहका मानिसहरूले भारतमा २० देखि ३० हजार रुपैयाँमा खरिद गरेका औषधि यहाँ लागुऔषध बनाएर आठदेखि १० लाख रुपैयाँसम्म बिक्री गर्ने गरेको पक्राउ परेका प्रतिवादीहरूले दिएको बयानमा उल्लेख छ। एक पत्ताको ३० रुपैयाँ पर्ने ‘स्पास्मो’ जस्ता औषधि लागुऔषध प्रयोगकर्तालाई तेब्बरभन्दा बढी मूल्यमा बिक्री गरिन्छ। यस्तै, १५० रुपैयाँ पर्ने प्रिगाबालिन ७५ एमजी, प्रतिपत्ता ७० रुपैयाँ पर्ने कफ ट्याब, एक पत्ताको ७५ रुपैयाँ पर्ने एन्टी कफ, ८० रुपैयाँ पत्ताको कोडोमोल, ९० रुपैयाँ पत्ताको कफट्याब – डी र एक पत्ताको १२० रुपैयाँ पर्ने ओपिडोल तेब्बर बढी मूल्य लिएर लागुऔषध प्रयोगकर्तालाई बिक्री हुने गरेको छ। यस्तो मनग्गे नाफाका कारण यी औषधिको धन्दा फस्टाइरहेको औषधि व्यवसायीहरू बताउँछन्।

सुनसरीका धरान, इटहरी, इनरुवा, मोरङका केराबारी, बेलबारी, उर्लाबारी, मधुमल्ला, पथरी, झापाका दमक, बिर्तामोड, काँकडभिट्टाजस्ता पूर्वी सहरहरूमा यी औषधिको ठूलो बजार छ। प्रहरी र नियामक निकायको आँखा छल्न यो गिरोहले सिटी रिक्सा, मोटरसाइकल र त्यसका चालकहरूलाई प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) कोपिला चुडाल बताउँछिन्। भन्छिन्, “सिटी रिक्सामा धेरैको ध्यान जाँदैन, यही कमजोरीको फाइदा उठाउँदै उनीहरूले सहरका गल्ली गल्लीसम्म औषधिको दुरुपयोग गर्दै सामान पुर्‍याउँछन्।”

केही फार्मेसी सञ्चालक छिटै धेरै पैसा कमाउने लोभमा परेर यो अवैध धन्दामा संलग्न भएका छन्। जसले गर्दा नियामक निकायलाई अनुगमन गर्न थप चुनौती थपिएको छ।

औषधि व्यवस्था विभाग विराटनगरको पछिल्लो पाँच वर्षको तथ्यांकले औषधिको दुरुपयोग बर्सेनि बढिरहेको देखाउँछ। औषधिको अनुचित प्रयोग गरेको भन्दै आर्थिक वर्ष २०७८/७९ मा १७ वटा मुद्दामा ३८ जनालाई प्रतिवादी बनाइएको थियो। यस्तै, आव २०७९/८० मा ४५ वटा मुद्दा अदालतमा दर्ता भएका थिए। आव २०८०/८१ मा ६५ वटा मुद्दा दायर भएका थिए, जसमा १४ वटा फार्मेसीलाई निलम्बन र ६७ वटामा सिलबन्दी गरिएको विभागको अभिलेखमा देखिन्छ। यस्तै, २०८१/८२ मा ६७ वटा मुद्दा दायर भएका थिए।

औषधिको दुरुपयोग गरेको भन्दै औषधि व्यवस्था विभागले अदालतमा दायर गरेको मुद्दाको तथ्यांक

यस कसुरमा चालु आव २०८२/८३ को पहिलो तीन महिना (असोजसम्म)मै १४ वटा मुद्दा दर्ता भएका छन्। यी घटनामा पाँचवटा फार्मेसी निलम्बन र चारवटा सिलबन्दीमा परेका छन्। यी तथ्यांकले औषधिको दुरुपयोगसम्बन्धी अपराधको ग्राफ तीव्र गतिमा उकालो लागिरहेको देखाउँछन्।

‘ओभरडोजले जानसक्छ ज्यान’

औषधिको अनुचित प्रयोगले युवा पुस्ताको स्वास्थ्यमा असर पर्नुका साथै ज्यानकै जोखिम रहेको चिकित्सकहरू बताउँछन्। विभिन्न मनोद्दीपक औषधिको मिश्रण सेवन गर्दा शरीर र मस्तिष्कमा गम्भीर असर पर्ने वरिष्ठ फिजिसियन डा. रोशन खड्का बताउँछन्। भन्छन्, “यस्ता औषधिहरूको अनियन्त्रित सेवनले दीर्घकालमा स्मरणशक्तिमा ह्रास ल्याउँछ, मानसिक सन्तुलन र श्वासप्रश्वास प्रणालीमा गम्भीर असर गर्छ।

यस्ता औषधिले पेट र शरीरभित्रका अन्य अंगमा पनि क्षति पुर्‍याउने उनी बताउँछन्। “सबैभन्दा डरलाग्दो कुरा, यसको ओभरडोजले मानिसको तत्कालै ज्यान जानसक्छ,” उनी भन्छन्।

औषधि ऐन, २०३५ अनुसार औषधिको अनुचित प्रयोग र बिक्री-वितरण गर्नेलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ। तर, नियामक निकाय औषधि व्यवस्था विभागसँग पर्याप्त जनशक्ति नहुँदा अनुगमन र नियन्त्रण प्रभावकारी हुन सकेको छैन। विभागका कर्मचारीहरूका अनुसार जुन जिल्लामा अभियुक्त पक्राउ पर्छ, त्यहीँको अदालतमा मुद्दा लैजानुपर्ने भएकाले सीमित जनशक्तिले काम गर्न कठिनाइ हुने गरेको छ।

नेपाल औषधि व्यवसायी संघ, मोरङका अध्यक्ष देशबन्धु ढकाल केही औषधि व्यवसायीका कारण समग्र पेसा नै बदनाम हुने अवस्था रहेको बताउँछन्। बजारमा औषधिको दुरुपयोग भइरहेको आफूहरूले पनि गुनासो सुनेको र यसबारे प्रहरी तथा औषधि व्यवस्था विभागलाई ध्यानाकर्षण गराएको उनको भनाइ छ। “औषधिजस्तो संवेदनशील वस्तुको दुरुपयोग अपराध मात्र होइन, यसले गम्भीर सामाजिक र जनस्वास्थ्य संकट निम्त्याउने भएकाले यसको नियन्त्रणका लागि विभाग र प्रहरीको सक्रियता आवश्यक छ,” उनी भन्छन्।