आवरण
नेपालीको दैनिक क्यालोरीको ८० प्रतिशत हिस्सा नै कार्बोहाइड्रेट, बढ्यो मोटोपन, मुटुरोग र मधुमेहको जोखिम
आज विश्व मधुमेह दिवस। यस सन्दर्भमा आम नेपालीको दैनिक खाना सरदर कस्तो हुन्छ भन्ने जान्न सहरको एउटा दृष्टान्त हेरौँ : काठमाडौँ, शंखमूलकी गृहिणी सीता खत्रीलाई बिहान-बेलुकै भात चाहिन्छ। यो उनको जीवनभरिको बानी हो। भात नखाए उनलाई पेट नभरिएजस्तो लाग्छ। भन्छिन्, “घरमा बिहान-बेलुकी भात नै खाने बानी छ। घरका सबैले भात नखाए पेट भरिन्न भन्छन्।”
नवलपरासीको सुनवल नगरपालिका-१२, भूमहीका अर्जुनकुमार भट्टराईलाई पनि भात नखाए भेट नभरिएजस्तो लाग्थ्यो। उनको बिहान-साँझको खानामा पनि भातकै वर्चस्व हुन्थ्यो। दिउँसोको खाजा पनि कार्बोहाइड्रेटयुक्त हुन्थ्यो। उनको दिनचर्या शारीरिक श्रममा नभई टेबल वर्कमा बित्थ्यो। शारीरिक निष्क्रियता र खानामा कार्बोहाइड्रेटको वर्चस्वले भट्टराईलाई ४० वर्षकै उमेरमा मधुमेह रोग लाग्यो। भन्छन्, “अहिले एक छाक मात्रै भात खान्छु, शारीरिक अभ्यास पनि गर्छु।”
बिहान-बेलुकै भात नभई नहुने खत्री र भट्टराई प्रतिनिधि पात्र मात्र हुन्। पूर्व-पश्चिम जता गए पनि नेपालीहरूको मुख्य रोजाइ चामल नै हो। नेपालीको दैनिक आहारको लगभग ८० प्रतिशत हिस्सा चामल, गहुँ र मकैजन्य कार्बोहाइड्रेटकै हुन्छ। त्यसैले बहुसंख्यक नेपालीको खाने बानी खासै फरक छैन। तर, नेपालीको भात खाने बानी अब देशकै स्वास्थ्य जोखिम बन्दै गएको छ। भातको अत्यधिक उपभोग मोटोपन, मधुमेह र मुटु रोगको कारक बन्दै गएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तयार पारेको नेपालका लागि खाद्य संरचना तालिका, २०१२ अनुसार मिलमा पोलिस गरिएको १०० ग्राम चामलमा कार्बोहाइड्रेटको मात्रा ७८.२ ग्राम हुन्छ भने १०० ग्राम उसिना चामलमा ७७ .४ ग्राम कार्बोहाइड्रेट हुन्छ। मिलमा प्रशोधन नगरिएको १०० ग्राम चामलमा चाहिँ ७६.७ ग्राम र चिउरामा ७७.३ ग्राम कार्बोहाइड्रेट हुन्छ। तर, आम नेपालीका मुख्य रोजाइ चामल र चिउरा नै हुन्।
खानामा कार्बोहाइड्रेटको मात्रा अत्यधिक भए पनि नेपालीले कुन खाना कति खान्छन् भन्ने तथ्यांक छैन। नेपालीहरूले भात, आलु र मैदाबाट बनेका परिकारलाई दैनिक आहारको मुख्य हिस्सा बनाएका छन्। हिमालतिर गए आलु, पहाडमा भात र तराईमा गहुँको रोटी नेपालीको दैनिक आहारका मुख्य हिस्सा हुन्। फाइबरयुक्त अन्नहरू कोदो, फापरलगायत अरू गुनिला अन्नभन्दा सेतो चामल र मैदाबाट बनेका परिकारले शरीरमा ग्लुकोज तत्कालै बढाइदिन्छन्। परिणामस्वरूप रगतमा इन्सुलिनको मात्रा असन्तुलन भएर मोटोपन, मधुमेह र मुटु रोग हुने सम्भावना बढ्छ।

नेपाली खानामा कार्बोहाइड्रेटकै हिस्सा बढी हुँदाको नतिजा हो– मोटोपन, मधुमेह र रक्तचाप बढेर अस्पताल धाउने बिरामीको संख्या दिनानुदिन बढ्नु। मेट्रो हस्पिटल महाराजगन्जमा कार्यरत मधुमेह रोग विशेषज्ञ डा. ज्योति भट्टराईको दिन ओपीडीमा आएका यस्तै बिरामीको उपचार र तिनलाई खानासम्बन्धी परामर्श सेवा दिँदैमा बित्छ। दैनिक २० देखि २५ जना मोटोपन र मधुमेहका बिरामी उनको क्लिनिक धाउने गर्छन्। स्वस्थ खानपान तथा सन्तुलित व्यायामले शरीर तन्दुरुस्त हुन्छ भन्ने चेतना हुँदाहुँदै कैयौँले त्यसलाई बेवास्ता गरिरहेको डा. भट्टराईको अनुभव छ। खानेकुरा र व्यायामप्रति अनुशासित नहुँदा नेपालीहरूमा मधुमेह, मोटोपन, उच्च रक्तचाप तथा मुटु रोग बढ्दो छ। उनी भन्छिन्, “दैनिक ओपीडीमा आउने बिरामीमध्ये करिब ३० प्रतिशत मधुमेह वा प्रि-डायबिटिज अवस्थामा हुन्छन्। यसको मुख्य कारण कार्बोहाइड्रेटयुक्त खानेकुराको अत्यधिक सेवन नै हो।”
डा. भट्टराईका अनुसार नेपाली आहारमा मुख्य रूपमा कार्बोहाइड्रेटकै वर्चस्व छ। धेरै नेपालीले दुई छाकै भात खान्छन् भने दिउँसोको खाजा पनि कार्बोहाइड्रेटयुक्त हुन्छ। कार्बोहाइड्रेटयुक्त खानेकुराले शरीरमा शक्ति त प्रदान गर्छ, तर त्यो शरीरलाई चाहिनेभन्दा बढी हुँदा स्वास्थ्य जोखिम थपिन्छ। उनी भन्छिन्, “स्वस्थ जीवनका लागि दैनिक क्यालोरीको ५० प्रतिशतजति स्वस्थ कार्बोहाइड्रेटबाट लिनुपर्छ। तर, आम नेपालीले ८० प्रतिशत क्यालोरी नै कार्बोहाइड्रेटबाट लिन्छन्। त्यसले स्वास्थ्य जोखिम बढाएको छ।”
सन् २०२३ मा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले स्वस्थ आहारका लागि कार्बोहाइड्रेट र फाइबर सेवनसम्बन्धी नयाँ मापदण्ड जारी गरेको थियो। त्यो मापदण्डअनुसार कार्बोहाइड्रेटको स्रोत मुख्य तरकारी, फलफूल र दाल हुनुपर्छ। दुई वर्ष वा सोभन्दा माथिका व्यक्तिले दैनिक ४०० ग्राम फलफूल र सागसब्जी तथा २५ ग्रामभन्दा बढी फाइबर सेवन गर्नुपर्छ। दुईदेखि पाँच वर्षका बालबालिकाका लागि प्रतिदिन कम्तीमा २५० ग्राम, ६ देखि ९ वर्षका लागि प्रतिदिन ३५० ग्राम र १० वर्ष वा सोभन्दा माथिका लागि प्रतिदिन ४०० ग्राम कार्बोहाइड्रेट तरकारी, फलफूल र दालबाट आउनुपर्छ। तर, यो मापदण्डअनुसार तरकारी र फलफूल खाने नेपालीहरूको संख्या न्यून छ। धेरैलाई त यो मापदण्डबारे जानकारी नै छैन। अझै पनि ग्रामीण भेगका नेपालीले नियमित फलफूल पाउनु टाढाको कुरा हो भने सहरमै पनि सबैलाई सहज रूपमा फलफूल उपलब्ध हुँदैन। त्यसैले धेरैको सजिलो रोजाइ दाल, भात र तरकारी नै बनेको छ।
सन् २०२३ मा विश्व स्वास्थ्य संगठनले एसियाली देशहरूमा गरेको एक अध्ययनले कार्बोहाइड्रेट बढी खाने मानिसमा मुटु रोगको जोखिम कम कार्बोहाइड्रेट खानेको तुलनामा १.५२ गुणा बढी अर्थात् ५२ प्रतिशतभन्दा बढी हुने देखाएको छ। अत्यधिक चिनी र कार्बोहाइड्रेटकै असर हुनसक्छ, मधुमेह रोगले नेपालको वयस्क जनसंख्याको ८.५ प्रतिशतलाई सताएको स्वास्थ्य सेवा विभागको तथ्यांक छ।
सन् २०२५ मा पबमेड जर्नलमा प्रकाशित कार्बोहाइड्रेट सेवन र हृदय रोगको जोखिमसम्बन्धी अध्ययनमा कार्बोहाइड्रेट धेरै खाँदा मुटु रोग र मेटाबोलिक सिन्ड्रोमको जोखिम बढ्ने निचोड प्रस्तुत गरिएको छ। त्यसमा दैनिक क्यालोरीको ६० प्रतिशतभन्दा बढी कार्बोहाइड्रेट खाने व्यक्तिमा मुटु रोगको जोखिम बढी हुने उल्लेख छ। कतिसम्म भने, त्यस अध्ययनमा दैनिक क्यालोरीको ५२ प्रतिशत मात्र कार्बोहाइड्रेट खान सुझाइएको छ।
ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा कार्यरत पोषणविद् कविता महर्जनका अनुसार स्वस्थ हुन कार्बोहाइड्रेटको सन्तुलित सेवन मात्र होइन, त्यसको स्तर पनि गतिलो हुनुपर्छ। फाइबरयुक्त, कम प्रशोधित वा उसिना चामल, आँटाजस्ता खाद्यान्नबाट पाइने कार्बोहाइड्रेट स्वास्थ्यका लागि राम्रो मानिन्छ भने धेरै प्रशोधित सेतो चामल, मैदाबाट पाइने कार्बोहाइड्रेट हानिकारक हुन्छ।
पोषणविद् महर्जनका अनुसार कार्बोहाइड्रेटको प्रयोगको मापन नगरिए पनि वयस्क नेपालीको आहार चामल र आलुमा आधारित भएकाले औसत ७०-८० प्रतिशत क्यालोरीको स्रोत कार्बोहाइड्रेट नै हो। सन् २०२३ मा विश्व स्वास्थ्य संगठनले जारी गरेको मापदण्डमा वयस्कले कुल क्यालोरीको न्यूनतम ४५ देखि अधिकतम ६५ प्रतिशत मात्र कार्बोहाइड्रेटबाट पाउनुपर्छ। तर, आम नेपालीले यो मापदण्डभन्दा बढी कार्बोहाइड्रेट खान्छन्।
भारतको व्यथा पनि उस्तै
भारतमा ३० सेप्टेम्बर २०२५ मा भारतीय चिकित्सक अनुसन्धान परिषद्ले त्यहाँका विभिन्न राज्यहरूमा मधुमेह, प्रि-डाइबिटिज र उच्च रक्तचापजस्ता रोगसम्बन्धी सर्वेक्षण गरेको थियो। उक्त सर्वेक्षणले मधुमेह, मोटोपन र मेटाबोलिक रोग बढिरहेको देखाउँछ। सर्वेक्षणमा भारतका १८ हजारभन्दा बढी वयस्कहरूको खानपान शैली समेटिएको छ। त्यसले भारतीयहरूको दैनिक कुल क्यालोरीको ६२ प्रतिशतभन्दा बढी हिस्सा कम गुणस्तरका कार्बोहाइड्रेट जस्तै, सेतो चामल, पिसिएको गहुँ र थप गरिएको चिनीबाट आउने गरेको देखाउँछ। त्यसमा सबैभन्दा बढी कार्बोहाइड्रेट सेवन गर्ने व्यक्तिलाई सबैभन्दा कम कार्बोहाइड्रेट सेवन गर्ने व्यक्तिको तुलनामा टाइप टु डाइबिटिजको जोखिम ३० प्रतिशत बढी, प्रि-डाइबिटिजको जोखिम २० प्रतिशत बढी, सामान्य मोटोपनको जोखिम २२ प्रतिशतले बढी हुने देखाएको छ।

नेपाली र भारतीयको खाने शैलीमा ठूलो अन्तर नभएकाले यो जोखिम नेपालीहरूमा भारतीयमा जस्तै हुने चिकित्सकहरूको विश्लेषण छ। पोषणविद् महर्जन भन्छिन्, “नेपाली र भारतीयको खाने तरिकामा धेरै ठूलो अन्तर छैन। त्यसैले कार्बोहाइड्रेटको जोखिम भारतीयलाई जस्तै नेपाली पनि हुन्छ।” उनका अनुसार प्रत्येक व्यक्तिलाई पोषण (कार्बोहाइड्रेट)को आवश्यकता फरक फरक हुन्छ। तर, स्वस्थ व्यक्तिका लागि क्यालोरी, जिंक, पोटासियम कति आवश्यक छ भन्ने जानकारी सर्वसाधारणका लागि पर्याप्त छैन।
स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख दीपक झाका अनुसार नेपालमा खानपान र पोषणसम्बन्धी जानकारीको अभाव छ। पोषण शाखा प्रमुख झा भन्छन्, “नेपाल र भारतमा खाद्यान्नको प्रयोग गर्ने तरिकामा खासै फरक पाइँदैन। तर, हामीकहाँ कति कार्बोहाइड्रेट, प्रोटिन वा अन्य पोषक तत्त्व आवश्यक छ भनेर नाप्ने मापदण्ड छैन। दैनिक रूपमा कति कार्बोहाइड्रेट खाइरहेका छौँ भन्ने जानकारी लिनसक्ने प्रणाली पनि छैन।” उनका अनुसार बजारमा पाइने चामल र प्याकेजिङ गरिएको खाद्यवस्तुमा क्यालोरी उल्लेख भए पनि आवश्यक पोषण तत्त्वको जानकारी छैन। यसले गर्दा सामान्य नेपालीलाई आफूलाई कति क्यालोरी आवश्यक छ र कति सेवन भइरहेको छ भन्ने थाहा हुँदैन।
विश्व स्वास्थ्य संगठन र खाद्य तथा कृषि संगठनले संयुक्त रूपमा प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन र खनिज पदार्थहरूको दैनिक आवश्यकताको मात्रा निर्धारण गरेका छन्। दुई वर्षअघि जारी असल खानपानसम्बन्धी त्यो मार्गदर्शनमा नेपालीहरूले दैनिक उपभोग गर्ने खानाबाट सरदर दुई हजार ५३६ क्यालोरी प्राप्त हुने उल्लेख छ। यो आम वयस्कलाई दैनिक आवश्यक पर्ने न्यूनतम क्यालोरीभन्दा केही बढी हो। त्यो मार्गदर्शनअनुसार हरेक वयस्कलाई सरदर दैनिक दुई हजार २२० क्यालोरी चाहिन्छ। तथापि, दैनिक क्यालोरीको मात्रा भौगोलिक-आर्थिक अवस्था, व्यक्तिको काम र पेसाअनुसार फरक फरक हुनसक्छ। त्यस मार्गदर्शनमा रोचक के छ भने, नेपालमा वार्षिक प्रतिव्यक्ति ८४.४ किलो चामल खपत हुने उल्लेख छ। अर्थात्, नेपालमा एक वयस्क व्यक्तिले वर्षमा औसत ८४ किलो चामल खान्छ। गहुँको चिउरा, जौ, जुनेलोजस्ता अन्नको प्रयोग निकै कम हुने त्यसमा उल्लेख छ।
धेरैलाई मन पर्ने जंक फुड भनेको केवल क्यालोरी दिने तर अन्य पोषक तत्त्व नहुने पत्रु खानेकुरा हो। धेरै कार्बोहाइड्रेट हुने यी खानेकुराले मधुमेह, क्यान्सरजस्ता नसर्ने रोगको जोखिम बढाएको छ। चामल, गहुँलगायत अन्नबाहेक जुस, कोकजस्ता पेय पदार्थमा पनि बढी कार्बोहाइड्रेट हुन्छ। त्यसैले तिनको सेवन सीमित गर्नु जरुरी हुन्छ। मधुमेह रोग विशेषज्ञ डा. ज्योति भट्टराई सन्तुलित खानपानको ज्ञान विद्यालयदेखि नै सिकाउनुपर्ने बताउँछिन्। भन्छिन्, “पोषण योजना (डाइट प्लान) तयार गर्दा पहिले ८० प्रतिशत कार्बोहाइड्रेट राखिन्थ्यो, अहिले ५० प्रतिशतमा झारिएको छ। दैनिक क्रियाकलाप र पाचन प्रक्रिया हेरेर मात्र आहार योजना बनाउनुपर्छ।”

सन्तुलित खानाबारे बिरामीलाई जानकारी दिइरहेकी मेट्रो अस्पतालकी मधुमेह रोग विशेषज्ञ डा. ज्योति भट्टराई। तस्बिर : बिक्रम राई
उनको सुझावअनुसार घरमा पकाएको खाना, प्याकेजिङ नभएको खाना, अनि तरकारी, दाल, गेडागुडी, दहीको मात्रा बढी अनि भातको मात्रा कम हुँदा पोषण सन्तुलित हुन्छ। तर, नेपालीहरूले सन्तुलित पोषण योजना बनाएको पाइँदैन। जे भेटिन्छ त्यही खाने, टन्न खाने धेरै नेपालीको आम बानी नै हो। खानामा कार्बोहाइड्रेट पूर्णरूपमा हटाउनुपर्ने होइन, तर अत्यधिक सेवन चाहिँ घातक नै हुने मधुमेह रोग विशेषज्ञ डा. भट्टराईको भनाइ छ। उनी थप्छिन्, “कोक, फ्यान्टा, जुसजस्ता पेय पदार्थमा कर लगाउनुका साथै स्कुल वरिपरि बेच्न रोक्नुपर्छ। पत्रु खानेकुराले बालबालिकामा मधुमेह बढाउँछ। स्वास्थ्य जोगाउन अत्यधिक कार्ब भएका पत्रु खाना बन्देज नै गर्नपर्छ।”
कार्बोहाइड्रेटको बढ्दो खपतका कारण नेपालमा नसर्ने रोगहरूको प्रकोप बढ्दो छ। ग्लोबल बर्डन अफ डिजिज, २०२१ को पछिल्लो तथ्यांकले नेपालमा हुने कुल मृत्युमध्ये ७३ प्रतिशत हिस्सा नसर्ने रोगले ओगटेको डरलाग्दो चित्र प्रस्तुत गरेको छ। यो सन् २०१९ मा ७१.१ प्रतिशत र सन् २०१७ मा ६६ प्रतिशत थियो, जसले गर्दा नसर्ने रोगहरू अहिले नेपालीहरूको जीवनको सबैभन्दा ठूलो खतरा बनेका छन्। नेपालीको खानपानको ढाँचा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा धेरै फरक छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘मल्टिसेक्टरल एक्सन प्लान (२०२१–२०२५)’ ल्याएको छ। त्यसमा नसर्ने रोगका कारण हुने मृत्यु २५ प्रतिशतले घटाउने लक्ष्य राखिएको छ। तर, स्वस्थ हुन के खाने, कति खाने भन्नेबारे चेतनामूलक अभियान खासै छैन। पोषणविद् महर्जनका अनुसार नेपालमा कार्बोहाइड्रेटको मात्रा नियन्त्रण गर्ने वा जनतालाई सही पोषणका बारेमा शिक्षित गर्ने कुनै तयारी नै छैन। त्यसैले सर्वत्र ट्रान्सफ्याटयुक्त तेल र प्रशोधित खाना सजिलै उपलब्ध छन्।
सहरबजारमा सजिलै पाइने मम, चाउमिन, समोसा, रोटी र पिज्जा, चाउचाउलगायत उच्च कार्बोहाइड्रेट तथा बोसोयुक्त खानेकुरा गाउँमा समेत सहज रूपमा उपलब्ध हुन थालेका छन्। यसले थप जोखिम निम्त्याएको छ। तैपनि, सहरी क्षेत्रमा कामको व्यस्तता र फास्ट फुडको सजिलो पहुँचका कारण कार्बोहाइड्रेटको खपत ग्रामीण भेगभन्दा सहरमा ३० प्रतिशत बढी रहेको विश्व स्वास्थ्य संगठनको आँकडा छ।
चिकित्सकहरूले प्रशोधित अन्न घटाएर फाइबरयुक्त अन्न, दाल, सागसब्जी र फलफूल सेवनमा जोड दिनुको कारण कार्बोहाइड्रेट घटाउनकै लागि हो। तर, त्यसको खासै पालना भएको छैन। दैनिक क्यालोरीमा कार्बोहाइड्रेटलाई ५० प्रतिशतमा सीमित गर्दा स्वास्थ्य जोखिम कम हुने पोषणविद् महर्जन बताउँछिन्। भन्छिन्, “तर, अहिले चाहिने धेरै गुणा बढी कार्ब खपत भएको छ।”
मधुमेह रोग विशेषज्ञ डा. ज्योति भट्टराईको बुझाइमा अहिले कार्बोहाइड्रेटको मात्रा र गुणस्तरमा ध्यान नदिए केही वर्षमै यो संकट स्वास्थ्य प्रणालीका लागि गम्भीर चुनौती बन्नेछ। स्वस्थ समाजका लागि सन्तुलित आहार, नियमित व्यायाम र चेतनामूलक शिक्षा अनिवार्य छ। उनी भन्छिन्, “औषधि होइन, सही खानपान र जीवनशैली नै नसर्ने रोगविरुद्ध लड्ने सबैभन्दा सस्तो र स्थायी उपाय हो। तर, बिहान-बेलुकै कार्बोहाइड्रेट मात्रै खाने हो भने देशले थेग्नै नसक्ने स्वास्थ्य संकट निम्तिनेछ।”