काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

प्रसंग

भारतीय आमाका ३४ वर्षे छोराले धनीहरूको सहर न्युयोर्कमा पाएको दुर्लभ सफलता

२८ कार्तिक २०८२
न्युयोर्कको मेयरका लागि भएको वादविवाद कार्यक्रममा जोहरान ममदानी। तस्बिर : रोयटर्स
अ+
अ-

मैले करिब एक वर्ष बिताएको न्युयोर्क सहरले अहिले एउटा ३४ वर्षे ठिटोलाई मेयरका रूपमा स्वागत गरेको छ। म्यानहटनका उज्याला टावरबीच, ब्रुकलिनका रंगीन गल्लीमा र क्विन्सका विविध बस्तीहरूमा अहिले एउटै नाम गुन्जिन्छ– जोहरान ममदानी। मेयर निर्वाचित हुनासाथ उनी ज्याक्सन हाइटस्थित लालीगुराँस बिस्ट्रो नामको नेपाली रेस्टुरेन्टमा लन्च खान पुगे। त्यहाँ उनले ममको स्वाद लिए। र, दूधको चियो पिए। त्यसको चर्चा नेपाली मिडियाहरूमा समेत भयो।

४ नोभेम्बरको निर्वाचनमा विजयी हुँदै उनी न्युयोर्कका १११औँ मेयर बने। यो जितसँगै उनले एकैपटक पहिलो मुस्लिम, पहिलो दक्षिण एसियाली मूलका र शताब्दीकै कान्छा मेयर हुने इतिहास रचे। तर, प्रश्न सबैतिर छ– छोटो समयमै एउटा मुस्लिम युवाले यस्तो विशाल सहरको मुटु कसरी जिते?

मेयर निर्वाचित भएपछि नेपाली रेस्टुराँमा नेपाली परिकारको स्वाद लिइरहेका ममदानी। तस्बिर : इन्टरनेट

बाबुआमा भारतीय मूलका भए पनि जोहरानको जीवनयात्रा अफ्रिकी माटोबाट सुरु भएको थियो। उनको जन्म १८ अक्टोबर १९९१ मा युगान्डाको कम्पालामा भएको थियो। उनका बुवा महमुद ममदानी कोलम्बिया विश्वविद्यालयका प्रसिद्ध प्राध्यापक हुन्। उनी अफ्रिकी इतिहास र उपनिवेशवादका विशेषज्ञ हुन्, जसको लेखनले विश्वभरका विश्वविद्यालयमा ‘डिकोलोनाइजेसन’ को बहस जन्माएको छ।

आमा मिरा नायर भारतको ओडिसामा जन्मेकी अन्तर्राष्ट्रिय ख्यातिप्राप्त फिल्म निर्देशक हुन्। सलाम बम्बे!, मन्सुन वेडिङ र द नेमसेक जस्ता फिल्मले उनलाई कान्स, भेनिस र ओस्कारसम्म पुर्‍याएका छन्। राजनीतिक अस्थिरताले १९९० को दशकमा ममदानी परिवारसहित अमेरिका बसाइँ सरे। सात वर्षको उमेरमा जोहरान क्यालिफोर्नियाको बर्कली पुगे। त्यहीँ उनले अमेरिकी जीवनको पहिलो अनुभव पाए।

बाल्यकालदेखि नै उनी ‘ननस्टप ममदानी’ भनेर चिनिन्थे; सधैँ कुरा गर्ने, खेल्ने र प्रश्न सोध्ने। एकपटक मिरा नायरले उनलाई सोधिन्, ‘म ह्यारी पोटर बनाऊँ कि द नेमसेक?’ जोहरानले भने, ‘आमा, ह्यारी पोटर जसले पनि बनाउन सक्छ, तर द नेमसेक तपाईंले मात्र बनाउन सक्नुहुन्छ।’ त्यो वाक्य मिराका लागि प्रेरणा बन्यो। र, द नेमसेक जन्मियो।

सन् २०१४ मा जोहरानले बौडोइन कलेजबाट अंग्रेजी साहित्यमा स्नातक गरे र न्युयोर्कको क्विन्समा बसाइँ सरे। त्यहाँ उनले हिपहप संगीत सिके। सडक संस्कृतिबाट प्रेरणा लिए। तर, उनको राजनीतिक चेतना जाग्ने बिन्दु ट्याक्सी चालकहरूको ऋण संकट थियो। हजारौँ आप्रवासी ड्राइभरहरू बैंकको ऋणमा डुबिरहेका थिए। सन् २०१८ मा उनी डेमोक्रेटिक सोसलिस्ट अफ अमेरिकामा सामेल भए र सन् २०२० मा न्युयोर्क स्टेट एसेम्बलीमा निर्वाचित भए। सन् २०२२ र २०२४ मा पुनः जित्दै उनी क्रमशः प्रगतिशील धाराका प्रतिनिधि बने।

मेयर निर्वाचित भएपछि विजयसभालाई सम्बोधन गरिरहेका ममदानी। तस्बिर : एपी

जोहरानको जितपछि भारतमा उत्सव र विवाद दुवै छाए। विजयी भएपछिको भाषणमा उनले जवाहरलाल नेहरूको प्रसिद्ध वाक्य उद्धृत गर्दै भनेका थिए, ‘हामी पुरानोबाट नयाँतिर पाइला टेक्दै छौँ।’ त्यो सुनेपछि भारतीय सामाजिक सञ्जालमा  ‘न्युयोर्कको मेयर हाम्रो !’ भन्दै विभिन्न पोस्ट आए। त्यहाँका समाचारपत्र र अनलाइनहरूमा जोहरान हेडलाइन बने। मिरा नायरका छोरा भएकाले बलिउडले पनि उत्सव मनायो। विजय र्‍यालीमा ‘धुम मचाले’ गीत बज्दा उनी पत्नी रामा दुवाजी (सिरियाली मूलकी) सँग नाच्दै गरेको भिडियो भाइरल भयो।

तथापि, उनको जितमा सबै भारतीय खुसी चाहिँ थिएनन्। जोहरान नरेन्द्र मोदीका कट्टर आलोचक हुन्। उनले भनेका थिए, ‘मोदीको हिन्दुत्वकेन्द्रित नीति भारतलाई केही खालका नागरिकहरूको मात्रै देश बनाउन खोज्छ।’ बीजेपी नेताहरूले उनलाई ‘पाकिस्तानी’ भनेर व्यंग्य गरे, तर प्रगतिशील र युवा वर्गले उनलाई आफ्नै ठानेका छन्।

चुनावी प्रचारमा जोहरानको एक भनाइले अन्तर्राष्ट्रिय हलचल मच्चायो। ‘यदि इजरायली प्रधानमन्त्री नेतन्याहु न्युयोर्क आएछन् भने मैले एनवाईपीडी (न्युयोर्क प्रहरी)लाई एयरपोर्टमै पक्राउ गर्न आदेश दिनेछु,’ उनी भनिरहेका थिए, ‘गाजामा भएका युद्ध अपराधहरूलाई विश्वले नजरअन्दाज गर्न सक्दैन।’ उनको भनाइले यहुदी समुदाय असन्तुष्ट भयो। तर, प्रगतिशीलहरूले न्यायको आवाज भनेर प्रशंसा गरे।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि उनलाई आक्रमण गरिरहेका छन्। ट्रम्पले आफ्नो प्लेटफर्म ट्रुथ सोसलमा लेखे, ‘जोहरान ममदानी १०० प्रतिशत कम्युनिस्ट हुन्।’ जोहरानले उनलाई दिएको जवाफ अझ सशक्त थियो, ‘म कम्युनिस्ट होइन, डेमोक्रेटिक सोसलिस्ट हुँ। ट्रम्प मेरो धर्म र रङप्रति प्रहार गर्छन्, किनभने म जनताका मुद्दा बोल्छु।’ यो जुहारीले जोहरानलाई युवा मतदातामाझ अझ लोकप्रिय बनायो।

जोहरानको सफलता कुनै चमत्कार होइन। उनको रणनीतिक बुद्धिमत्ताले अहिलेको परिणाम दिएको हो। अक्टोबर २०२४ मा उम्मेदवारी घोषणा गर्दा उनी क्विन्सका सामान्य विधायक थिए। सुरुमा कसैले उनलाई गम्भीरतापूर्वक लिएन। तर, उनी टिकटक, इन्स्‍टाग्रामलगायत सामाजिक सञ्जाल प्लेटफर्ममार्फत मतदातासँग जोडिए। घरदैलो अभियानमार्फत उनी युवा र आप्रवासी मतदातासँग प्रत्यक्ष सम्पर्कमा पुगे। भिडिओहरूमा उनी भाडावृद्धि, महँगी र स्वास्थ्य बिमालगायत मुद्दामा बोल्थे।

दक्षिण एसियाली, अफ्रिकी र लाटिनो समुदायहरूमाझ उनको समर्थन बढ्दै गयो। दशौँ हजार स्वयंसेवकले उनका लागि सहरका मतदाताको ढोका ढकढक्याए। फन्डरेजिङले रेकर्ड तोड्यो। अन्ततः उनले डेमोक्रेटिक प्राइमरीमा प्रतिद्वन्द्वी क्युमोलाई १२ अंकले हराए। त्यसपछि बाटो सजिलो भयो। सहरले ममदानीलाई खोजिसकेको थियो।

न्युयोर्क सिटीमा नयाँ मेयरका रूपमा जोहरान निर्वाचित भएपछि सहरको राजनीतिक हावा नै फेरिएको त्यहाँ रहेकी पूर्वनेपाली पत्रकार तारा भट्टराइ बताउँछिन्। “उनका नीतिहरूले धनी वर्ग तथा ठूला व्यवसायीहरूको निदहराम भएको छ,” तारा भन्छिन्, “उनीहरूमा पूरै बेचैनी उत्पन्न गरेको छ। अमेरिकी दक्षिणपन्थी मिडियाले न्युयोर्कलाई ‘बिग्रिँदै गएको सहर’ भनेर चित्रण गर्न थालेका छन्।” यसले अमेरिकामा राजनीतिक ध्रुवीकरण झन् गहिरो बन्दै गएको संकेत गरेको छ।

भट्टराईको भनाइमा अहिले न्युयोर्क सहरको आर्थिक अवस्थामा स्थिरता छैन। धेरै होटल, स्टोर र रेस्टुराँहरू बन्द भइरहेका छन्। स्टारबक्सलगायत ठूला कम्पनीहरूले शाखा घटाएका छन्। बेरोजगारी बढ्दो छ। फुड स्ट्याम्प र मेडिकेयरजस्ता सामाजिक सहयोग कार्यक्रममा कटौती गरिएका छन्। मूल्यवृद्धि र भाडाको चर्को दरबीच धेरै परिवारहरू बाँच्नै पनि संघर्ष गरिरहेका छन्। न्यूयोर्क जसलाई जहिल्यै ‘सपना देख्ने सहर’ भनिन्थ्यो, अहिले धेरैका लागि अस्तित्व टिकाउने सहर बनेको छ।

मेयर पदको निर्वाचनअघिको वादविवादका लागि तयारी गरिरहेका ममदानी। तस्बिर : रोयटर्स

ममदानीले श्रमिक वर्ग र आप्रवासी समुदायका पक्षमा खुलेर प्रगतिशील विचार राखेकै कारण धनी वर्ग र ठूला व्यवसायीहरूमा बेचैनी ल्याएको भट्टराईको भनाइ छ। मिलियन डलरभन्दा बढी आम्दानी गर्नेहरूलाई उच्च कर लगाउने र ठूला कम्पनीहरूबाट थप कर असुल्ने योजना ममदानीको छ। उनले खुला रूपमा अर्बपतिहरूको आलोचना गर्दै भनेका थिए, ‘हामी ती मानिसहरूका लागि खतरा हौँ जसले पैसाले लोकतन्त्र किन्ने सोच राख्छन्। म ठान्दिनँ कि अर्बपति हुनु आवश्यक छ।’

जोहरान ममदानीको विजय साधारण चुनावी नतिजा होइन, यो अमेरिकी राजनीतिमा नयाँ युगको सुरुआत हो। उनको जितले तीन फरक अर्थ बोकेका छन्। पहिलो, प्रगतिशील वामपन्थको पुनरागमन; महँगी, भाडा र स्वास्थ्यका मुद्दा उठाएर उनले मध्यम र कामदार वर्गको असन्तुष्टि सम्बोधन गरे। यसले अमेरिकी वाम धारालाई पुनर्जीवित बनायो, जसले लामो समयदेखि मध्यमार्गी नीतिको दबाब झेल्दै आएको थियो।

दोस्रो, विविधताको वास्तविक प्रतिनिधित्व; पहिलो मुस्लिम र दक्षिण एसियाली मूलका मेयर भएर जोहरानले अमेरिकी सहरहरूमा समावेशी नेतृत्वको नयाँ सम्भावना देखाए। यसले आप्रवासीहरू, मुस्लिम समुदाय र अल्पसंख्यकहरूलाई राजनीतिको मूलधारमा ल्यायो। तेस्रो, युवा पुस्ताको क्रान्ति; जोहरानको जितले राजनीति अब पुराना शासकको कब्जामा मात्र छैन भन्ने देखायो। सोसल मिडिया, सडक र सपना देख्ने युवाको ऊर्जा मिल्दा पुरानो राजनीति हल्लिन्छ। ममदानीको जितले अमेरिकाबाहिर पनि सन्देश दियो। नेपाल, भारत, पाकिस्तान वा अफ्रिकाका युवाका लागि यो एउटा प्रेरणा हो। यदि जनताको मुद्दा उठाउने हो भने परिवर्तन सम्भव छ। जोहरानको जितको कथाले भन्छ– जात, धर्म, मूल वा रङले होइन, साहस र प्रतिबद्धताले इतिहास लेखिन्छ।

अंग्रेजी नयाँ वर्षको पहिलो दिन १ जनवरी २०२६ मा टाइम्स स्क्वायरमा जोहरान ममदानीले १११औँ मेयरको शपथ लिनेछन्। त्यो क्षण उनलाई न्युयोर्कले मात्र होइन, संसारले नै हेर्नेछ।