काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

निर्वाचन

निर्वाचन आयोगको सर्भर समस्याले नयाँ मतदातालाई सास्ती

२८ कार्तिक २०८२
मतदाता नामावलीमा नाम दर्ता गराउन जिल्ला प्रशासन कार्यालय काठमाडौँमा लाइनमा उभिएका सेवाग्राही। तस्बिर : बिक्रम राई
अ+
अ-

निर्वाचन आयोगले बिहीबारदेखि राष्ट्रिय परिचयपत्र (एनआईडी)का आधारमा अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने निर्णय गर्‍यो। आयोगको यस निर्णयबाट उत्साहित थुप्रै नयाँ मतदाताले अनलाइनबाटै विवरण भर्ने कोसिस पनि गरे। तर, धेरै निराश भए।

यिनैमध्येकी हुन्, काठमाडौँ महानगरपालिका-११ थापाथलीकी ग्रीष्मा पौडेल। “हिजो दिनभरि एनआईडीको नम्बर हालेर नाम लेखाउने कोसिस गरे पनि भएन,” उनले भनिन्, “एक हप्ताअघि फर्म भर्दा आजको समय दिइएको थियो। त्यसैले यहीँ आएको।

पौडेलले शुक्रबार दिउँसो काठमाडौँ मीनभवनस्थित जिल्ला निर्वाचन कार्यालयमा एक घण्टा लाइनमा बसेरै मतदाता नामावलीका लागि फोटो खिचाइन्। बायोमेट्रिक (जैविक विवरण) पनि दिइन्।

मतदाता नामावलीमा नाम दर्ता गराउन पुगेकी ग्रीष्मा पौडेल। तस्बिर : बिक्रम राई

निर्वाचन आयोगको सर्भर राम्रोसँग नचल्दा राष्ट्रिय परिचयपत्र भएका धेरै जना फोटो खिचाउन निर्वाचन कार्यालय पुगेका थिए।

“एक घण्टादेखि लाइन बसिरहेको छु,” फोटो खिच्न तयारी गरिरहेका बूढानीलकण्ठ-१२ सिमलटारका ४४ वर्षीय नवराज श्रेष्ठले भने। उनले पनि राष्ट्रिय परिचयपत्रको आधारमा नाम लेखाउन हरसम्भव कोसिस गरेका थिए। “निर्वाचन आयोगको पेज चल्दै चलेन,” उनले भने। २०५६ सालमा चुनावमा उदयपुरको गाईघाटमा मतदान गरेका श्रेष्ठले काठमाडौँ बसाइँ सरेपछि मतदान गरेका छैनन्। उनले भने, “गाईघाटमा नाम छ कि छैन थाहा छैन। त्यसैले यहीँबाट नयाँ नाम लेखाउन आएको हुँ।”

मीनभनवस्थित निर्वाचन कार्यालयमा भेटिएका काठमाडौँ-४ बालुवाटारकी गोसाई रायमाझी र पाल्पा, रैनादेवीका लक्ष्मण अधिकारीले पनि यस्तै समस्या सुनाए। “निर्वाचन आयोगको साइट चल्दै चलेन,” अधिकारीले भने।

मतदाता नामावलीमा नाम दर्ता गराउन जिल्ला प्रशासन कार्यालय काठमाडौँमा लाइनमा उभिएका सेवाग्राही। तस्बिर : बिक्रम राई

निर्वाचन आयोगले मतदाता नामावली नाम दर्ता र अद्यावधिक गर्न गठन गरेको टास्क फोर्सका संयोजक कुलबहादुर जीसी एकपटकमा राष्ट्रिय परिचयपत्र नम्बर राखेर २०० जनाले मात्रै नाम दर्ता गराउन सक्ने भएकाले समस्या आएको बताए। “साँघुरो बाटामा एकैपटक धेरै मोटर आएजस्तो भएको छ,” उनले भने।

पाल्पाका अधिकारी भने धेरै मानिसले एकैपटक चलाएका कारण सर्भर जाम भएको हुनसक्ने भए पनि यसको समाधान मतदाताले होइन, आयोगले नै निकाल्नुपर्ने सुझाव दिन्छन्।

राष्ट्रिय परिचयपत्रबाट नाम लेखाउन सफल भएकाहरू पनि निर्वाचन कार्यालयका कर्मचारीसँग सम्पर्क गरेर आफूले गरेको मिलेको/नमिलेको भनेर सोधखोज गरिरहेको देखियो। जिल्ला निर्वाचन अधिकृत ठाकुर भट्टराई सोधपुछका लागि आउनेहरूलाई कागजात हेर्दै भए/नभएको जानकारी गराइरहेका थिए। “राष्ट्रिय परिचयपत्रको नम्बर राखेर नामावली दर्ता गर्ने व्यवस्था गरिएपछि भिड केही कम भएको छ। तर, धेरैले राम्रोसँग नबुझेका कारण यहाँ धाइरहनुभएको छ,” उनले भने।

जिल्ला निर्वाचन कार्यालयमा फोटो खिच्न र बायोमेट्रिक लिन आठवटा डेस्क स्थापना गरिएको छ। पछिल्लो केही दिनयता दैनिक दुई हजार २०० जनाको नाम दर्ता गरेको कार्यालयले जनाएको छ। “वर्षभरि नाम लेख्ने व्यवस्था भए पनि अन्तिम समयमा धेरै भिड लाग्छ। यसले सबैलाई समस्या भएको हो,” भट्टराईले भने।

निर्वाचन अधिकृत ठाकुर भट्टराई। तस्बिर : बिक्रम राई

निर्वाचन आयोगले ९ असोजमा सूचना प्रकाशित गर्दै ३० कात्तिकसम्म मतदाता नामावली दर्ता र अद्यावधिक गरिने जनाएको थियो। “अरू समयमा निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली दर्ता र अद्यावधिक गर्ने काम रोकिन्थ्यो। यसपटक विशेष निर्णय गरेर चुनावको मिति घोषणापछि मतदाता नाम संकलन गर्ने काम भएको छ,” टास्क फोर्सका संयोजक जीसीले भने। उनका अनुसार आयोगले मतदाताका लागि नाम दर्ता खुला गरेपछि दुई लाख ६३ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन्।

राष्ट्रिय परिचयपत्रको प्रयोग गरेर शुक्रबार दिउँसोसम्म ३७ हजार ६०० जनाले नाम लेखाएका छन्।

मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राख्दै प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसँग म्याद थपका लागि आग्रह गरेकी छन्। प्रधानमन्त्रीको आग्रहपछि पाँच दिन समयावधि थप गर्न आयोग सहमत भएको भण्डारीले बताएका छन्।