काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

सन्दर्भः विश्व मधुमेह दिवस

सुरुआती अवस्थातिरै औषधोपचार गरे र अनुशासित जीवनशैली अपनाए मधुमेहका बिरामीले केही वर्षमै औषधि छुटाएर अरूजस्तै सामान्य जीवन व्यतीत गर्न सक्छन्।

२८ कार्तिक २०८२
तस्बिर सौजन्य : नेपाल विकास समाज
अ+
अ-

आज १४ नोभेम्बर, विश्व मधुमेह दिवस हो। संसारभरजस्तै हामी पनि नेपालमा यो दिवस मनाउँछौँ, मनाइरहेकै छौँ। तर, यो रोग झन् झन् बढिरहेको छ। विश्वका नौ जनामध्ये एक जनामा मधुमेह रहेको तथ्यांक छ। तर, मलाई लाग्छ– नेपालमा योभन्दा भयावह अवस्था छ। अध्ययन गर्ने हो भने नेपालका सहरी क्षेत्रमा मधुमेह नभएको घर सायदै भेटिएला भन्ने लाग्छ।

मधुमेहका थुप्रै औषधि खाइरहेका उहाँलाई मैले आँखा, मिर्गौलालगायतको अवस्था जाँच गर्न केही दिन अस्पतालमै बस्न अनुरोध गरेको थिएँ। तर, बेकारमा किन खर्च गर्ने भन्दै उहाँ फर्कनुभयो।

नेपालमा किन मधुमेह घर घरको रोग बनिरहेको छ त? यसबारे विस्तृत अध्ययनको आवश्यकता देखिन्छ। तर, एक चिकित्सकका नाताले भन्नसक्ने कुरा भनेको यसको पहिलो र अहम् कारण भनेको स्वास्थ्यप्रतिको चेतनाको कमी हो। हामी नेपालीमा आफ्नो स्वास्थ्यप्रति ख्याल नै नगर्ने प्रवृत्ति छ। वर्षमा एकचोटि पनि स्वास्थ्यपरीक्षण नगराउने अनि समस्या देखिएपछि मात्र उपचार खोज्ने प्रचलन छ। यो नेपालीको महारोग हो।

दोस्रो कारण भनेको हल्लाको पछि लाग्नु हो। त्यसो त जनचेतनाकै कमी भएपछि हल्लाले घर गर्ने नै भयो। तर, आफूलाई पनि रोग लाग्न सक्छ, रोग लागेपछि उपचारका लागि चिकित्सककहाँ जँचाउन जानुपर्छ भन्ने सामान्य कुरालाई पनि हामी विभिन्न कुतर्कले जित्न खोज्छौँ। चिकित्सककहाँ जानै हुन्न, गइहाले पनि औषधि खानु हुन्न, चिकित्सकले भनेका विभिन्न जाँच गराउनु हुन्न भन्ने छ। कति हामी साथीहरूका कथाका पछि लाग्छौँ। फलानाले यसो गरेर रोग निको पार्‍यो भन्छौँ। कति त कथित गुरुको पनि सहारा लिन्छौँ। उपचारका अनेक उपाय र साधनका पछि लाग्छौँ।

यसो भनिरहँदा म काठमाडौँबाहिरबाट आएका बिरामीको अनुहार सम्झिरहेको छु। मधुमेहका थुप्रै औषधि खाइरहेका उहाँलाई मैले आँखा, मिर्गौलालगायतको अवस्था जाँच गर्न केही दिन अस्पतालमै बस्न अनुरोध गरेको थिएँ। तर, बेकारमा किन खर्च गर्ने भन्दै उहाँ फर्कनुभयो।

दुई वर्षअघि उहाँ फेरि मैकहाँ आउनुभयो र रिपोर्ट देखाउनुभयो। रिपोर्टले उहाँको मिर्गौला फेलियर भइसकेको थियो। उहाँले निरीह हुँदै ‘डाक्टर साहेब, म एक करोड दिन्छु, मलाई बचाउनुहोस्’ भन्न थाल्नुभयो। तर, यो बेला उहाँलाई बचाउने मसँग कुनै उपचार थिएन। केही दिन र केही हजार खर्च गरेर आफूलाई बचाउने मेरो सल्लाह बेवास्ता गर्दा नै यस्तो भएको उहाँले बल्ल बुझ्नुभएको थियो। मैले त्यो पैसाले मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएँ।

मधुमेह ‘महामारी’ हाम्रो जस्तो गरिब देशमा जनसँगै धनका हिसाबले पनि क्षतिको ठूलो कारण बन्नेछ।

उचित खानपान, नियमित कसरत र तौल नियन्त्रण मधुमेह रोकथामका लागि नगरी नहुने काम हुन्। खाँदा टन्न हुने गरी खाने, ढंग मिलाएर नखाने, भोकभोकै बस्ने, शारीरिक कसरतमा ध्यान नदिने गर्नाले समस्या बढाएको छ। सहरी भागदौड, तनाव, जंकफुड यसका थप कारक हुन्।

हामीले बुझ्नैपर्ने कुरा के हो भने, मधुमेह जोकोहीलाई पनि हुनसक्छ। केही दिन रगतमा चिनीको मात्रा कम गराउनु होइन, चिनीको मात्रा नियन्त्रणमा राखिराख्नु यसको उपचार हो। सुरुआती अवस्थातिरै औषधोपचार गरे र अनुशासित जीवनशैली अपनाए मधुमेहका बिरामीले केही वर्षमै औषधि छुटाएर अरूजस्तै सामान्य जीवन व्यतीत गर्न सक्छन्। त्यसैले मधुमेह हुँदैमा आत्तिनु पर्दैन।

यसवर्षको मधुमेह दिवसको नारा ‘मधुमेह र सुस्वास्थ्य’ रहेको छ। नाराजस्तै यसलाई सार्थक बनाउने हो भने हामीले अस्वस्थ र अस्तव्यस्त जीवनशैली बदल्नैपर्छ। राज्य र सरकारी संयन्त्रहरूले स्वस्थ्य जीवन र उपचारका लागि नागरिकलाई सचेत गराउनैपर्छ। नत्र मधुमेह ‘महामारी’ हाम्रो जस्तो गरिब देशमा जनसँगै धनका हिसाबले पनि क्षतिको ठूलो कारण बन्नेछ।