२९ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीका नेता-कार्यकर्ताहरूलाई धैर्यता राखिदिन अनुरोध गरेका छन्।

महाधिवेशनको विषयमा पार्टी निर्णयमा पुग्न ढिलाइ भइरहेका बेला सामाजिक सञ्जालमार्फत शनिबार उनले नेता-कार्यकर्ताहरूलाई जेन-जी आन्दोलनपछि उत्पन्न समस्या समाधानका लागि कांग्रेसले नेतृत्व लिन सक्ने गरी उपयुक्त निर्णय गर्न समय लागेको बताए।

उनले हतारमा निर्णय गरेर पछि पछुताउनुभन्दा पार्टीलाई एकताबद्ध राखेर प्रतिकूल समयको पदचापलाई सामना गर्न सक्ने गरी निर्णय गर्न केही समय लागेको बताए। “इतिहासमै देश र पार्टीमाथि देखिएको प्रतिकूल अवस्थालाई ध्यानमा राखेर निर्णय गर्न केही समय ढिला भए पनि हतारमा निर्णय गरेर पछि पछुताउनुभन्दा पार्टीलाई एकताबद्ध राखे र प्रतिकूल समयको पदचापलाई सामना गर्न सक्ने गरी निर्णय गर्न केही समय लागेको छ,” सामाजिक सञ्जालमा खड्काले लेखेका छन्, “साथीहरू सबैले एकताबद्ध भएर यो महत्त्वपूर्ण मर्मलाई बुझिदिइ धैर्यता राखिदिन हाम्रो विशेष अनुरोध छ ।”

उनले आफ्नो विषयमा गरिएका टिप्पणीको सम्मान गर्ने पनि बताएका छन्। सार्वजनिक रुपमा हुने टिप्पणी मार्गदर्शक बन्ने उनको भनाइ छ। उनले भनेका छन्, “मेरो बारेमा सार्वजनिक रुपमा यहाँहरूले गर्नुभएको जस्तोसुकै टिप्पणीलाई मेरो सदा सम्मान छ र रहनेछ। यिनै टिप्पणीहरू नै मेरा लागि शक्ति र मार्गदर्शन हुन्छन्।”