२९ कार्तिक २०८२
पत्रकार सम्मेलनमा सचिव पारस खडका। तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणबाट नेपाल क्रिकेट संघ (क्यान) ले ४२ करोड रुपैयाँभन्दा बढी रकम आम्दानी गर्ने अनुमान गरेको छ।

पर्सि (सोमबार) देखि २७ मंसिरसम्म हुने एनपीएलको सबै तयारीबारे जानकारी दिन क्यानले शनिबार पत्रकार सम्मेलनको आयोजना गरेको थियो।

क्यानका अनुसार प्रायोजकबाट १५ करोड ३० लाख रुपैयाँभन्दा बढी रकम प्राप्त हुनेछ। आठ फ्रेन्चाइज टोलीबाट नौ करोड रुपैयाँ प्राप्त गर्ने तथा टिकटबाट आठ देखि १२ करोड प्राप्त हुने क्यानको अनुमान छ। यस्तै पहिलोपटक ओटीटी प्लेटफर्म पनि क्यानले बेचेको छ। डिसहोमलाई पाँच करोड ३० लाख रुपैयाँ ओटीटी अधिकार बेचेको क्यानले जनाएको छ।

यसबाट डिसहोमले गरेको कुल आम्दानीमा पाँच करोड ३० लाख घटाएर बाँकी रकम ७१ प्रतिशत क्यानले र २९ प्रतिशत डिस होमले प्राप्त गर्ने सम्झौता भएको क्यानका कोषाध्यक्ष एवं गभर्निङ काउन्सिलका सह-संयोजक पदमबहादुर खड्काले जानकारी दिए।

पत्रकार सम्मेलनमा कोषाध्यक्ष पदमबहादुर खड्का।

यो पटक स्टार स्पोर्ट्ससँगै नेपालको टेलिभिजनबाट पनि एनपीएल प्रत्यक्ष प्रसारण हुने भएको छ। नेपाली टेलिभिजनको लागि कम्तीमा एक करोडको प्रसारण अधिकार बेच्न टेन्डर आह्वान गरिएको छ।

पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले प्राविधिक र आर्थिक तयारी लगभग पूरा भइसकेको जनाए। उनले भने, “हामीले छोटो बोर्ड बैठक पनि सम्पन्न गरेका छौँ। यो वर्ष एनपीएलले पाउने चर्चा र उचाइलाई अझ ठुलो बनाउने हाम्रो लक्ष्य हो।”

पत्रकार सम्मेलनमा अध्यक्ष चतुरबहादुर चन्द।

क्यानका सचिव तथा एनपीएल गभर्निङ काउन्सिलका संयोजक पारस खड्काले यो वर्ष फ्लड लाइटमा हुने प्रतियोगितामा सबैभन्दा ठुलो परिवर्तन भएको उनले बताए। “ग्राउन्डमा सकिने सबै सुधार गरेका छौँ। हामी खेल मात्र खेल्दै छैनौँ, क्रिकेटलाई उद्योगका रूपमा उभ्याउने प्रयासमा छौं,” उनले भने। उनका अनुसार सुरक्षाका लागि नेपाल प्रहरी तथा प्राइभेट सेक्युरिटीलाई पनि जिम्मेवारी दिएको छ।

पत्रकार सम्मेलनमा सचिव पारस खडका।

क्यानका अनुसार एनपीएलमा विभिन्न आठ फ्रेन्चाइज टोली सहभागी हुनेछन्। उद्घाटन खेल जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच हुनेछ।

यो पनि हेर्नुहोस् :

एनपीएलको दोस्रो संस्करण व्यवस्थित गरौँ : सचिव खड्का