“विदेशमा रहेका नेपालीलाई मतदान गर्ने प्रबन्ध मिलाउन कानुनी प्रक्रिया सुरु गरिएको छ, अध्यादेश ल्याएर भए पनि यो व्यवस्था गरिने विश्वास दिलाउँछु।”
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी २१ फागुनका लागि घोषित निर्वाचनको वातावरण बनिसकेको दाबी गरेका छन्। दक्षिण कोरिया भ्रमणमा रहेका सञ्चारमन्त्री खरेलसँग नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले आयोजना गरेको साक्षात्कारमा उनले निर्धारित मितिमै निर्वाचन हुने विश्वास व्यक्त गरे।
“फागुन २१ मा निर्वाचन गर्छौं, निर्वाचनका लागि वातावरण बनिसकेको छ‚” सञ्चारमन्त्री खरेलले भने, “भयरहित निर्वाचनका लागि सुरक्षाको वातावरण पनि बनिसकेको छ। नेपाल प्रहरीमा नयाँ नेतृत्व आएको छ। कुनै पनि राजनीतिक दलले निर्वाचनमा भाल लिन्नौँ भनेका छैनन्। केही दलले निर्वाचनका लागि सुरक्षाको वातावरण बनाउनुपर्छ भनेर चासो देखाएका छन्।”
सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेलले निर्वाचनका लागि सरकार र राजनीतिक दलले वातावरण बनाउनुपर्नेमा जोड दिए। उनले जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारको मुख्य प्राथमिकता निर्वाचनसँगै सुशासन कायम, भ्रष्टाचार नियन्त्रण तथा रोजगारी र नवप्रवद्र्धन भएको उल्लेख गरे। मन्त्री खरेलले एआई र डिजिटल ट्रान्सफरमेसन नै नेपालको भविष्य भएको बताए। उनले डिजिटल रुपान्तरमा संसारको प्रतिष्ठित मुलुक कोरियाबाट ज्ञान, सीप अनुभव हासिल भएको तथा नेपालले भर्खरै राष्ट्रिय एआई केन्द्र स्थापना गरेको सन्दर्भमा एआईको विस्तारका लागि कोरिया सरकारबाट थप सहयोगको अपेक्षा गरे।
विदेशमा रहेका नेपालीको नेपाल बनोस्, शान्ति, स्थिरता र सुशासन प्रवर्द्धन होस् भन्ने चाहना रहेको मन्त्री खरेलले उल्लेख गरे। उनले भने, “तपाँइहरुमा देश बनोस् भन्ने भावना छ। यो सरकारलाई नराम्रो गलत गर्ने छुटै छैन, व्यवहारिक रुपमा कति गर्न सकिन्छ थाहा छैन तर नराम्रोचाहिँ अवश्य गरिनेछैन। पाँच महिनाको अवधिमा केही थिति बसाल्छौँ।”
उनले सरकार संविधानको जगमा गठन भएको तथा नेपालका सबै राजनीतिक दलहरुले मान्यता दिएको र अन्तर्राष्ट्रिय समुदायको पनि समर्थन रहेको भन्दै जेनजीको भावनाअनुरुप निर्वाचन प्रणाली र शासकीय स्वरुपबारे छलफल गरिने विश्वास दिलाए। उनले थपे, “निर्वाचन प्रणालीमा सुधार गर्नैपर्छ। शासकीय स्वरुप कस्तो बनाउने सर्वपक्षीय छलफल गरेर निर्वाचन प्रणाली कम खर्चिलो बनाएर लैजानुपर्नेछ। विदेशमा रहेका नेपालीलाई मतदान गर्ने प्रबन्ध मिलाउन कानुनी प्रक्रिया सुरु गरिएको छ, अध्यादेश ल्याएर भए पनि यो व्यवस्था गरिने विश्वास दिलाउँछु।”
मन्त्री खरेलले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को दक्षिण कोरियामा सिधा उडानका लागि आवश्यक पहल गरिने पनि बताए। महासंघ दक्षिण कोरिया शाखाका कार्यवाहक अध्यक्ष सन्तोष खड्काले कोरियामा रहेका नेपालीको समस्या सहजीकरण र दुई देशबीचको सम्बन्धलाई बलियो बनाउन सबैले भूमिका खेल्नुपर्नेमा जोड दिए।
“व्यवहारिक रुपमा कति गर्न सकिन्छ थाहा छैन तर नराम्रोचाहिँ अवश्य गरिनेछैन। पाँच महिनाको अवधिमा केही थिति बसाल्छौँ।”
दक्षिण कोरियास्थित नेपाली राजदूतावासका द्वितीय उपाध्यक्ष जेमिन अधिकारीले नेपालीको हक अधिकार तथा नेपाल र कोरियाबीचको सम्बन्ध बलियो बनाउ दूतावासले काम गरिरहेको उल्लेख गरे। यस्तै गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीको महिला उपाध्यक्ष जुनु गुरुङले कोरियामा रहेका श्रमिकको समस्या सहजीकरण गर्न, समस्यामा परेका नेपालीलाई सहयोगलगायतमा समन्वय गरिरहेको जानकारी दिइन्।
कार्यक्रममा सहभागीहरुले नेपालमा ऊर्जा पर्यटनलगायत क्षेत्रमा लगानी गर्न र आर्थिक लगानी भित्र्याउने वातावरण बनाउन सुझाएका थिए। जेनजीको भावनाबमोजिम सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी काम गर्नुपर्ने उनीहरुको सुझाव छ। साथै जेनजीका माग पूरा गराउन पहल गर्न तथा निर्वाचनमा विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्थाका लागि पहल गर्न सञ्चारमन्त्रीसमक्ष आग्रह गरे। दक्षिण कोरियामा रोजगारी, व्यापार,अध्ययनलगायतमा झन्डै एक लाख नेपाली छन्।