‘म सुरक्षित छैन भने अन्य कुनै व्यक्ति सुरक्षित हुन सक्दैन‚ म सुरक्षित छैन भने अन्य दलका माननीयहरू कसरी सुरक्षित हुन सक्छन्?’
जनकपुर। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफूलाई सुरक्षा चुनौती रहेको बताएका छन्। मधेस प्रदेशवासीका नाममा शनिबार सम्बोधन गर्दै उनले आफूलाई आन्दोलनकारीबाट सुरक्षा चुनौती रहेको बताएका हुन्।
उनले आफू सेना, प्रहरी र सशस्त्रको सुरक्षा घेराभित्र भए पनि आन्दोलनकारीबाट सुरक्षा चुनौती रहेको बताए। सुरक्षा निकायले नै आफूलाई सार्वजनिक कार्यक्रममा निस्किन सुझाएको मुख्यमन्त्री यादवको दाबी छ। उनले आफूमाथि आन्दोलनकारीबाट सुरक्षा चुनौती रहेको भन्दै मुख्यमन्त्री नियुक्तिको विरोधमा उत्रिएका सात दलप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरे।
वीरगन्जमा रहेको कन्सुलर अफिसको प्रतिनिधिले दललाई सिधै थ्रेट दिएको र पार्टी फुटाइदिन्छु भनेर भनेको मुख्यमन्त्री यादवको आरोप
“सुरक्षा निकायकै रिपोर्टिङअनुसार विशेष कार्यक्रम अलिकति कम गर्नुपर्यो। सीमित कार्यक्रमहरू राख्नुपर्यो। सुरक्षा चुनौती छ। संवेदनशील भइदिनुपर्यो भनेर आइसकेपछि यी विषयवस्तुहरू मैले कसलाई भन्ने?,’ उनको प्रश्न छ।
आफूलाई सुरक्षा निकायले सुरक्षा चुनौती देखिएको भन्दै सीमित कार्यक्रमहरूमा मात्रै सहभागी हुन भनेको उनको दाबी छ। मुख्यमन्त्री यादवले आफू सुरक्षित नभए अन्य दलका सांसदहरूलाई पनि सुरक्षा चुनौती हुने जिकिर गरे।
“सुरक्षा थ्रेट मलाई अरू कोबाट हुन्छ ? जनताबाट त हुँदैन। आन्दोनलकारीबाटै हुन्छ,” उनले भने, “म सुरक्षित छैन भने अन्य कुनै व्यक्ति सुरक्षित हुन सक्दैन। म सुरक्षित छैन भने अन्य दलका माननीयहरू सुरक्षित हुन सक्छन् ?” वीरगन्जमा रहेको कन्सुलर अफिसको प्रतिनिधिहरुले दललाई सिधै थ्रेट दिएको र पार्टी फुटाइदिन्छु भनेर भनेको मुख्यमन्त्री यादवको आरोप छ।