२९ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल कोरियाको सिओलमा आयोजना भएको ११औं ‘ग्लोबल आईसीटी लिडरसिप फोरम’मा सहभागी भएर आज (शनिबार) स्वदेश फर्किएका छन्। उनली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै २५ कात्तिकमा त्यसतर्फ गएका थिए।

कोरियाको विज्ञान र आईसीटी (एमएसआईटी) मन्त्रालय तथा नेसनल इनफर्मेसन सोसाइटी एजेन्सी (एनआईए) सँगको संयुक्त आयोजनामा सिओलमा आईसीटी लिडरसिप फोरम आयोजना गरिएको हो। फोरममा डिजिटल र एआई ट्रान्सफर्मेसन : स्ट्राटिजिस एन्ड च्यालेन्ज र ग्लोवल को-अपरेसन फर सस्टेनेबल डिजिटल फ्युचर विषयमा दुई सत्रहरु सञ्चालन भएका थिए।

खरेलले ‘ग्लोबल आईसीटी लिडरसिप फोरम’ डिजिटल नेपाल र डिजिटल ट्रान्सफरमेसनका लागि लिडरसिप फोरम उपलब्धिपूर्ण र फलदायी भएको बताए। नेपालले विशेषगरी डिजिटल तथा एआई ट्रान्सफरमेसनको सन्दर्भमा एआई नीति बनाएको र राष्ट्रिय एआई केन्द्र सञ्चालनमा आएको तथा एआई काउन्सिल पनि गठन गरिरहेको सन्दर्भमा थप ज्ञान, सीप र अनुभव हासिल गर्न फोरम सान्दर्भिक भएको उनले उल्लेख गरे।

समूहगत सत्रको छलफलमा पनि सञ्चारमन्त्री खरेलले नेपालको प्राथमिकता, साझेदार संस्थासँगको आगामी सहकार्य एवं साझेदारीका विषयमा धारणा राखेका छन्। त्यसक्रममा कोरिया सरकार र त्यहाँको नेसनल इनफर्मेसन सोसाइटी एजेन्सी (एनआईए) ले पनि नेपाललाई कसरी सहकार्य गर्न सकिन्छ, आपसी साझेदारीका विषयमा पनि परामर्श भएको छ।

फोरममा दक्षिण कोरिया लागि नेपालका राजदूत शिवमाया तुम्बाहाङ्फेलगायत सहभागी थिए। दक्षिण कोरियामा रहँदा सञ्चारमन्त्री खरेलले सिओल एआई फाउन्डेसनल सञ्चालन गरेको ‘सिओल एआई स्मार्ट सिटी सेन्टर’को अवलोकन गरेको उनको सचिवालयल जनाएको छ।

डिजिटल र एआई ट्रान्सफर्मेसन : एसडीजीहरु र दिगो विश्वव्यापी भविष्य हासिल गर्ने विषय अन्तर्गत फोरममा एचिभिङ द एसडीजी एन्ड ए फ्युचर’ विषयक फोरममा नेपाल, भुटान, श्रीलंका, पाकिस्तान, कम्बोडिया, लाओ पीडीआर, भियतनाम, काजकिस्तान, मंगोलिया र उब्जेकिस्तानका मन्त्रीहरु र वरिष्ठ नीति निर्माता सहभागी थिए। एसिया प्रशान्तका लागि संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक आयोग र अन्य अन्तर्राष्ट्रिय संस्था पनि सहभागी थिए।