नवलपरासी। पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल खण्डको गैँडाकोटमा रातिको समयमा मात्र सडक विस्तारको काम भइरहेको छ। नारायणी नदीको पुलबाट पश्चिमतर्फ १७० मिटर सडक कालोपत्रसँग जोडिन बाँकी रहेकाले रातिमा काम अगाडि बढाइएको हो।
नारायणगढ बुटवल सडक आयोजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले हरेक दिन राति १० बजेदेखि भोलिपल्ट बिहान ४ बजेसम्म काम भइरहेको बताए। “दिउँसोमा सवारीसाधनको चाप अत्यधिक हुने भएकाले सहज रूपमा काम गर्न समस्या देखियो,” उनले भने, “रातिमा सवारीसाधनको न्यून चाप हुनाले सहज रूपमा सडक विस्तार भइरहेको छ।”
दिनमा यो सडकमा काम गर्दा सवारीसाधनको लामो जाम भएकाले ट्राफिक व्यवस्थापनमा समस्या देखिएपछि रातिमा काम थालिएको उनले बताए। कार्यतालिकाबमोजिम प्रगति हासिल भएमा अबको १० दिनमा यस सडकमा कालोपत्र गरेर सकिने सूचना अधिकारी खनालले बताए।
गैँडाकोटको यसखण्ड र दाउन्नेको पहाडबाहेक नारायणगढ बुटवल सडकको पूर्वी खण्डमा एकतर्फी कालोपत्रको काम भइसकेको आयोजना कार्यालयले जनाएको छ। चाडपर्व सकिएपछि सडक विस्तारको काम तीव्र गतिमा अगाडि बढिरहेको खनालको भनाइ छ। “दाउन्नेमा तीन किमि सडक कालोपत्र गरिँदै छ भने बाँकी करिब १० किमि ढलानको काम भइरहेको छ,” उनले भने, “दुईतर्फी सडक कालोपत्र भइसकेको ठाउँमा भने डिभाइडर सर्भिसलेनलगायत सौन्दर्यकरणको काम हुँदै छ।”
यस सडकको भौतिक प्रगति करिब ७० प्रतिशत हाराहारी पुगेको खनालले जानकारी दिए। उनका अनुसार नारायणगढ-बुटवल खण्डको ११४ किमिमध्ये पूर्वी खण्डमा ६५ किमि र पश्चिम खण्डमा ४९ किमि पर्दछ। सडक विस्तारका क्रममा यस खण्डको १०० किमि चार लेनमा तथा दाउन्नेको १४ किमि सडक तीन लेनमा विस्तार हुँदै छ।
भौगोलिक कठिनाइका कारण दाउन्नेमा तीन लेनमा मात्रै सडक विस्तार हुने आयोजनाका सूचना अधिकारी खनालले बताए। उनका अनुसार विस्तारका क्रममा सहरी क्षेत्रमा सडकबाट उत्तरतर्फ र दक्षिणतर्फ अतिरिक्त दुई लेनलाई ‘सर्भिस लेन’का रूपमा निर्माण गरिनेछ।