काठमाडौँ। चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ १८ मंसिरबाट प्रदर्शनमा आउँदै छ। विभिन्न कारणले यसको पटकपटक प्रदर्शन मिति स्थगित हुँदै आएको थियो।
यसैक्रममा निर्माणपक्षले चलचित्रको नयाँ पोस्टर आज (आइतबार) सार्वजनिक गरेको छ। पोस्टरमा चलचित्रका अधिकांश कलाकार छन्। कामेश्वर चौरसिया, लक्ष्मी बर्देबा, किरण श्रेष्ठ, सरिता गिरी, शिशिर बाङदेल, गौमाया गुरुङ, प्रकाश दाहाललगायत कलाकार पोस्टरमा अटाएका छन्।
सबै कलाकार क्यारेक्टर लुक्समा छन्। कामेश्वर साइकलका छन्। अरु कलाकार आ-आफ्नै क्यारेक्टर लुक्समा छन्।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको चलचित्र नेपाली र हिन्दी दुवै भाषामा नेपालभरका साथै भारत र विश्वव्यापी रूपमा प्रदर्शन गरिने निर्माणपक्षको दाबी छ।
चलचित्र प्राविधिक र कथानक दुवैमा बलियो रहेको निर्माणपक्षले दाबी गर्दै आएको छ। तराईको सेटअपमा रहेको सिनेमाले तराईको कथा भन्ने संकेत गरेको छ। जुन सिनेमाका मुख्य कलाकार कामेश्वर र लक्ष्मीको हुलियाले पनि प्रस्ट पार्छ।
सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु : च्याप्टर १’को क्रिएटिभ निर्देशक मदन थापा हुन्। यस चलचित्रमा मुकेश खनालको लेखन छ। ‘अभिमन्यु : च्याप्टर १’का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, निराजन लुइँटेल र सन्देश श्रेष्ठ छन्। यो सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य छन्।