३० कार्तिक २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। रुपन्देहीमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ परेका छन्। पक्राउ पर्नेमा निसिखोला गाउँपालिका ६‚ बागलुङका ३२ वर्षीय वीरबहादुर कुँवर छन्।

तीन दिनअघि २० वर्षीया श्रीमती मेलिना परियारको हत्या आरोपमा उनलाई पक्राउ गरिएको रुपन्देहीका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए।

क्षेत्रीका अनुसार २७ कात्तिकको राति ८ बजे रुपन्देही सिद्धार्थनगर नगरपालिका ८‚ लुम्बिनी गेटस्थित होटेल लुम्बिनीमा काम गर्दै आएकी परियार स्टाफ कोठामा मृत फेला परेकी थिइन्।

घटना अनुसन्धान गर्दै जाँदा हत्यामा श्रीमान् वीरबहादुरको संलग्नता खुलेको क्षेत्रीले बताए। उनका अनुसार श्रीमान्-श्रीमतीबीच सामाजिक सञ्जाल (फेसबुक) प्रयोगको विषयमा झगडा भएको थियो। श्रीमतीले वीरबहादुरलाई परस्त्रीसँग बोल्ने गरेको आरोप लगाएकी थिइन्।

“सोही विषयमा वादविवाद हुँदा मादक पदार्थ (दारु) सेवन गरेका वीरबहादुरले कुटपिट गरी हत्या गरेको अनुसन्धानमा खुलेको छ,” क्षेत्रीले भने। हत्यापछि वीरबहादुर बुटवल उपमहानगरपालिका ९‚ बसपार्कमा लुकेर बसेका थिए। उनलाई प्रहरी टोलीले शुक्रबार बेलुका ६ बजे पक्राउ गरेको थियो। वीरबहादुरलाई हिरासतमा राखेर कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालिएको क्षेत्रीले बताए।