काठमाडौँ। लागुऔषध (खैरो हिरोइन) ओसारपसार गरी बिक्री गर्ने चार जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी नायब निरीक्षक विचित्र मगरसहितको टोलीले भारतबाट खैरो हिरोइन ल्याएर राजधानी काठमाडौँलाई केन्द्र बनाई बिक्री दुई भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरी आज (आइतबार) सार्वजनिक गरेको हो।
सप्तरी राजविराजका ३९ वर्षीय रविआनन्द देव, भारतको हरिपुरका २३ वर्षीय राजा कुमार, भारतको स्वस्तिकनगरका २१ वर्षीय देवेन्द्रकुमार शाह र मोरङका २९ वर्षीय पुष्प मगरलाई पक्राउ गरी सार्वजनिक गरिएको ब्युरोका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले जानकारी दिए। विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा दुई भारतीयसहित चार जनालाई पक्राउ गरिएको उनले बताए।
सप्तरी राजविराजका देवको काठमाडौँ महानगरपालिका १३ स्थित पनेरुगाउँको कोठाबाट २७२ ग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ। भारतीय राजा र देवेन्द्रले स्कर्पियो गाडीमा भारतबाट खैरो हिरोइन ल्याएर बिक्री गर्न लागेको अवस्थामा चन्द्रागिरि नगरपालिकास्थित ढुंगेअड्डाबाट ५९२ ग्राम र मगरको साथबाट कोटेश्वर क्षेत्रबाट ९३ ग्राम बरामद गरिएको सहप्रवक्ता यादवले जानकारी दिए।
खैरो हिरोइन भारतबाट ल्याएर काठमाडौँमा केन्द्र बनाई कारोबार गर्ने गरेको अनुसन्धानमा खुलेको उनले जानकारी दिए। पक्राउ परेका व्यक्तिमाथि लागुऔषध (नियन्त्रण), ऐन २०३३ बमोजिम थप अनुसन्धान भइरहेको सहप्रवक्ता यादवले जानकारी दिए।