काठमाडौँ। आगामी २१ फागुनका लागि घोषणा गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित ढंगमा सम्पन्न गर्न गृह मन्त्रालयले एकीकृत निर्वाचन सुरक्षा योजना-२०८२ स्वीकृत गरेको छ।
गृह मन्त्रालयमा आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षता बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत गरेको गृह प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले बताए।
एकीकृत निर्वाचन सुरक्षा योजना तर्जुमा गर्न गृहले सहसचिव तथा शान्ति सुरक्षा महाशाखा प्रमुख काफ्लेको संयोजकत्वमा चारवटै सुरक्षा निकायका प्रतिनिधि सदस्य रहने गरी एकीकृत निर्वाचन सुरक्षा योजना कार्यदलको ९ असोजमा बसेको बैठकले गठन गर्ने निर्णय गरेको थियो।
यस्तै, बैठकले स्वीकृत निर्वाचन सुरक्षा योजनाअनुरुप निर्वाचन प्रयोजनार्थ सेनाको परिचालनका लागि राष्ट्रिय सुरक्षा परिषद्समक्ष सिफारिस गर्न रक्षा मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको प्रवक्ता काफ्लेले जानकारी दिए।
त्यसैगरी गृह मन्त्रालयले निर्वाचनलक्षित प्रदेशस्तरीय सुरक्षा गोष्ठी गर्न ९ मंसिरबाट सुरु हुने गरी लुम्बिनी प्रदेशबाट आयोजना गर्ने निर्णय गरेको उनले जानकारी दिए।
प्रवक्ता काफ्लेका अनुसार निर्वाचन अवधिभर देशमा हिँसा भड्काउने, जनतालाई आतंकित बनाउने गतिविधि निस्तेज गर्न कडाइका साथ कानुनी कारबाही अगाडि बढाइनेछ।
बैठकमा गृह मन्त्रालयका सचिव रामेश्वर दंगाल, सेनाका एकजना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख काफ्लेलगायतको सहभागिता थियो।