काठमाडौँ। नेकपा एमाले अध्यक्ष केपी ओलीले मुलुकलाई राजनीतिक निकास दिन विघटित प्रनिनिधिसभा पुनःस्थापना हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
प्रेस चौतारी नेपालको टोलीसँग आइतबार छलफल गर्दै उनले असंवैधानिक र अनधिकृत ढङ्गबाट संसद् विघटन भएकाले पुनःस्थापना हुनुपर्ने बताए। उनले यसरी असंवैधानिक तरिकाले संसद् विघटन गर्दै जाँदा मुलुकको राजनीतिक प्रणालीमा गलत नजिर बस्न सक्ने भन्दै चिन्ता व्यक्त गरे।
उनले संसद् पुनःस्थापनाबाट मात्र देशले राजनीतिक निकास पाउने विश्वाससहित आफ्नो पार्टी पुनःस्थापनाका पक्षमा रहेको स्पष्ट गरे। उनले वर्तमान सरकार कसको र कसले बनाएको भन्ने स्पष्ट नभएको जिकिर गरे। उनले यो सरकार कसको हो भन्नेमा आशंका रहेको बताए।
वर्तमान सरकार संविधानबाट पनि नबनेको, संसद्बाट नबनेको, दलबाट नबनेको, जेन-जीबाट नबनेको भन्दै उनले आशंका व्यक्त गरे। “यो सरकार कसको प्रतिनिधि हो ? जेन-जीले मेरो सरकार होइन भन्छ । दलले हाम्रो सरकार होइन भन्छन् । संसद्ले यसलाई म चिन्दिनँ भन्छ । संविधानले मसँग यस्तो सरकार बनाउने व्यवस्था नै छैन भन्छ,” उनले प्रश्न गरे, “आखिर यो सरकार कसको हो ?”

ओलीले पत्रकारिता क्षेत्रमा स्वतन्त्रता कायम हुनुपर्नेमा जोड दिए। उनले वर्तमान सरकारले प्रेस स्वतन्त्रतालाई पञ्चायतकालीन अवस्थामा पुर्याएको दाबी पनि गरे। “पञ्चायतकालमा संविधानमा नै प्रेस स्वतन्त्रता थिएन । अहिले संविधानमा त प्रेस स्वतन्त्रता छ तर अहिले व्यवहारमा छैन,” उनले भने, “सेल्फ सेन्सरसिप लागु भएको छ । पत्रकारले आफूले देखेका, अनुसन्धान गरेका विषय सहजै लेखे सरकारबाट खतरा छ । त्यसैले सेल्फ सेन्सरसिपको मार पत्रकारले खेपिरहेका छन् ।”
छलफलमा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले वर्तमान अवस्थामा सञ्चारमाध्यमको अवस्था, पत्रकारप्रति बढेको सुरक्षा संवेदनशीलता र प्रेस चौतारीका गतिविधिबारे जानकारी गराएका थिए।