काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

३० कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। नेपालले वन संरक्षणमार्फत कार्बन उत्सर्जन घटाएपछि विश्व बैंकबाट करिब एक अर्ब ३२ करोड रुपैयाँ (९४ लाख अमेरिकी डलर) पाएको छ।

नेपालले करिब १८ लाख ८८ हजार टन कार्बन उत्सर्जन घटाएको भन्दै उत्सर्जन नियन्त्रणसम्बन्धी भुक्तानी सम्झौताअन्तर्गत विश्व बैंकले नेपाललाई रकम भुक्तानी गरेको हो। यो भुक्तानीले नेपालले वन विनाश नियन्त्रण, वन शासन सुदृढीकरण, जैविक विविधता संरक्षण र वनमा निर्भर समुदायको जीवनस्तर सुधार गर्ने प्रयास प्रभावकारी भएको देखिएको विश्व बैंकले आइतबार जारी गरेको विवरणमा उल्लेख छ।

सन् २०२१ देखि तराई क्षेत्रमा कार्यान्वयन गरिएको कार्बन उत्सर्जन नियन्त्रण कार्यक्रमअन्तर्गत यस्तो भुक्तानी गरिएको विश्व बैंकले बताएको छ। कुल ६ अर्ब ३४ करोड रुपैयाँ (चार करोड ५० लाख डलर) को यो आयोजनामध्ये नेपालले पहिलोपटक यस्तो भुक्तानी पाएको हो।

सरकारले प्राप्त गरेको यो रकम लाभ-वितरण योजना (बेनिफिट सेयरिङ प्लान) अनुसार वितरण गर्नेछ। विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका डिभिजन निर्देशक डेबिड सिस्लेन भन्छन्, “यो उपलब्धि नेपालले वन संरक्षण, सुशासन र दिगो जीविकोपार्जमा गरेको प्रगतिलाई प्रमाणित गर्छ।”

वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले सामुदायिक वन उपभोक्ताहरू, आदिवासी जनजाति, तथा सरकारको संयुक्त प्रतिबद्धताको नतिजा प्राप्त हुन थालेको बताए। समावेशी र समुदाय-केन्द्रित वन व्यवस्थापनमार्फत नेपाल पर्यावरणसम्बन्धी काम कारबाही अघि बढाउन प्रतिबद्ध रहेको मिश्रको भनाइ छ।