३० कार्तिक २०८२
फाइल तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

झापा। पूर्व-पश्चिम राजमार्गको उत्तर क्षेत्रमा हात्तीको बथान जिल्लामा प्रवेश गरेकाले सावधान रहन डिभिजन वन कार्यालय झापाले सर्वसाधारणलाई आग्रह गरेको छ।

गस्ती र माइकिङ गरेर सर्वसाधारणलाई सचेत बनाउनुका साथै सावधानी अपनाउन आग्रह गरिएको कार्यालयले जनाएको छ। मोरङबाट २५ देखि ३० को सङ्ख्यामा हुल बाँधेर बच्चासहित हात्तीको बथान झापा प्रवेश गरेकाले स्थानीयलाई जानकारी दिँदै सचेतना अपनाउन माइकिङ गरिएको कार्यालय प्रमुख भरतबाबु श्रेष्ठले बताए।

मोरङबाट २५ देखि ३० को सङ्ख्यामा बच्चासहित प्रवेश गरेको हात्तीको बथान आइतबार दिउँसो शिवसताक्षीधामस्थित रतुवामाई वृक्षरोपण वन क्षेत्रमा बसेको छ।

प्रमुख श्रेष्ठका अनुसार डेढ वर्षअघि बाहुनडाँगीको प्रसाद गौँडा हुँदै ५०-६० हात्तीको बथान नेपाल प्रवेश गरेको थियो। त्यसमध्ये करिब एक वर्षअघि ३० हात्ती भारततर्फ फर्किएको र बाँकी मोरङ र सुनसरीका वन क्षेत्रमा थिए। तिनै हात्ती भारततर्फ फर्कने क्रममा झापा आइपुगेकाले सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको उनले बताए।

हात्तीको बथान आज (आइतबार) शिवसताक्षीधामस्थित रतुवामाई वृक्षरोपण वन क्षेत्रमा रहेको वन कार्यालय प्रमुख श्रेष्ठले बताए। “जनधनको क्षति नहोस् भन्ने उद्देश्यले हात्ती रहेका पालिकामा रात्रिकालीन गस्ती र माइकिङ गरिरहेका छौँ,” उनले भने, “हात्ती कुन क्षेत्रतर्फ गइरहेका छन् भनेर वन कार्यालयले रेखांकन गर्दै सोही क्षेत्रमा गस्ती गरिरहेको छ।”

हात्ती दिनभर सामुदायिक वन क्षेत्रमा बस्ने र राति मात्र हिँड्ने गरेका छन्। श्रेष्ठका अनुसार आज र भोलिसम्ममा बाहुनडाँगीको प्रसाद गौँडा हुँदै उक्त बथान भारततर्फ फर्कने आकलन छ।