काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

३० कार्तिक २०८२
विरोधमा उत्रिएका सात राजनीतिक दल। तस्बिर : वीरेन्द्र रमण
अ+
अ-

जनकपुरधाम। असंवैधानिक रूपमा मुख्यमन्त्री नियुक्त गरिएकामा आन्दोलनरत सात राजनीतिक दलले आज पनि मधेस भवनअगाडि विरोध प्रदर्शन गरेका छन्। उनीहरू आज राष्ट्रिय झण्डासहित सडकमा धर्नामा बसेका छन्।

आन्दोलनको क्रममा मुख्यमन्त्री कार्यालयमा राष्ट्रिय झण्डा फालिएको विषयमा समाजिक सञ्जालमा सात राजनीतिक दलको व्यापक आलोचना भएपछि दलहरू आज राष्ट्रिय झण्डा लिएर सडकमा उत्रेका हुन्। नेपाली कांग्रेसकी नेतृ एवं प्रदेशसभा सदस्य जिवछी यादवले नेकपा एमालेको कारण अहिले संघीयता नै बदनाम भइरहेको र आफूहरू संघीयता बचाउन र सबलीकरणका लागि आन्दोलन गरिरहेको बताइन्।

मधेस प्रदेशका तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को ३ बमोजिम नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि सात राजनीतिक दल विरोधमा उत्रेको हो। उनीहरूले संविधानको धारा १६८ को २ मा सरकार बनाउने सम्भावना हुँदा हुँदै पनि नियोजित रूपमा सरकार र संघीयतालाई बदनाम हुने गरी धारा ३ प्रयोग गरिएको आरोप लगाएका छन्।

सात दलले मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा रिटसमेत दायर गरेको छ। उक्त रिटमा सर्वोच्चले आज दुवै पक्षलाई छलफलको लागि बोलाएको छ।