आन्तरिक पर्यटन
काठमाडौँ। मुल्डे भ्यु-पार्क पछिल्लोसमयमा हिमाल हेर्ने ‘उत्कृष्ट दृश्यविन्दु’ भएको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका ११ मा पर्ने मुल्डे भ्यु-पार्क पर्यटकका लागि हिमाल हेर्ने उत्कृष्ट गन्तव्य बनेको छ।
मुल्डे भ्यु-पार्क तथा पर्यटन व्यवस्थापन समितिले यो स्थानका लागि आवश्यक पर्यटकीय संरचना निर्माण गरेपछि यहाँ पर्यटकको आकर्षण बढेको हो। राजमान गुरुङको नेतृत्वमा ९ सदस्यीय समिति गठन भएपछि अहिले समितिमार्फत दोबाटोदेखि करिब आधा घण्टाको पैदल दूरीमा रहेको मुल्डे भ्यु-पार्कलाइ पर्यटनमैत्री बनाइएको हो।
“दोबाटो-मुल्डेतिर गोठ ल्याउँदै गर्दा मुल्डेबाट देखिने दृश्यबाट रोमाञ्चित मैले मुल्डे भ्यु पदमार्ग सञ्चालन गर्ने मनस्थिति बनाउँदै २०५८ सालमा दोबाटोमा होटेल खोल्न अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)सँग अनुमति मागेको थिएँ,” उनले भने। अहिले यो पदमार्गका अन्य ठाउँमा पनि होटेल खुलेका छन्।
यस क्षेत्रकै ३‚६३७ मिटर उचाइमा रहेको मुल्डे भ्यु-पार्कबाट गुर्जा, धौलागिरि, जिर्वाङ, टुकुचेपिक, धम्पुसपिक, नीलगिरिसाउथ र नर्थ, अन्नपूर्ण-१, अन्नपूर्ण साउथ, हिउँचुली, अन्नपूर्ण-३, गन्धर्वचुली, माछापुच्छ्रे, अन्नपूर्ण दोस्रो, मार्दी, लमजुङ, मिलाचुली, बौद्ध, गणेश, मनास्लुलगायत हिमाल आँखैअगाडि देख्न सकिन्छ।

पहाडी यात्राका कारण थाकेको ज्यानलाई चिसो मौसम तथा छिनछिनमा लुकामारी खेल्ने मौसमसँगै यहाँबाट देखिने मनोरम दृष्यले थकाइ मेटाइदिन्छ। हिमाल नजिकैबाट नियाल्ने सपना कसैलाई भए मुल्डे भ्यु-पार्कको यात्रा अविस्मरणीय बन्न सक्छ।
मुल्डे भ्यु-पार्क तथा पर्यटन व्यवस्थापन समितिका निमित्त कोषाध्यक्ष मीना गुरुङले एकैपटक दर्जनौँ हिमाल हेर्ने सबैभन्दा उपयुक्त स्थानका रूपमा यतिबेला मुल्डे भ्यु-पार्क भएको जानकारी दिइन्। “यसले जति चर्चा पाउनुपर्ने हो त्यो भने पाइरहेको छैन्,” उनले भनिन्।
अन्नपूर्ण साउथको काखमै रहेको हिडन भ्याली
मुल्डे भ्यु-पार्कबाट देखिएका हिमशृंखला र मनोरम दृष्यले पर्यटकको धित मार्न नसकेको अवस्थामा नजिकैको हिडन भ्याली प्ग्न सकिन्छ। समुद्री सतहबाट करिब ४२ सयको उचाइमा रहेको यो सुन्दर फाँट मनमोहक अनि रमणीय छ।
दोबाटोबाट करिब ८ किलोमिटरको दूरीमा रहेको यो स्थानमा पर्ने पदमार्गमा देखिने अनुपम दृश्यले हिँड्दै गर्दा लाग्ने थकानलाइ बिर्साइदिन्छ। समितिका सह-सचिव रामकाजी गुरुङले भिरालो पदमार्गको साँघुरो स्थानमा रेलिङको व्यवस्था गरिएको जानकारी दिए।

यसरी पुग्न सकिन्छ मुल्डे भ्यु-पार्क
सर्वप्रथम काठमाडौँबाट मुग्लिन हुँदै पोखरासम्मको करिब २०० किलोमिटर दूरीको यात्रा आरम्भ गर्नुपर्ने हुन्छ। पोखराको बागलुङ बसपार्कबाट घान्द्रुकका लागि जिपहरू पाउन सकिन्छ। यहाँबाट करिब ५८ किलोमिटरको जिप यात्रा पार गरेपछि पुग्न सकिन्छ- सुन्दर पर्यटकीय गाउँ घान्द्रुक। घान्द्रुकमा बास बस्न करिब एक सयको हाराहारीमा स्तरीय होटेल तथा लज छन्।
यसैगरी घान्द्रुकबाट मुल्डे भ्यु-पार्कका लागि यात्रा गर्दा पदमार्गमा पर्ने कोर्मोडाँडामा पाँचवटा होटेल छन् भने मेलाँचेमा एउटा, चुइलेमा ६, सिप्रुङमा एउटा अनि टाडापानीमा १० वटा होटेल तथा लज छन्।
घान्द्रुकबाट सिधै टाडापानीको पैदलमार्ग पनि जान सकिन्छ। यो बाटो हिँड्दै गर्दा भैँसेखर्कमा दुईवटा लज छन्। टाडापानीबाट अघि बढ्दै गर्दा मेसारमा पुगेपछि तीनवटा होटेल छन्। इसारूमा पनि तीनवटा होटेल छन्। त्यसपछि पुग्ने गन्तव्य दोबाटोमा तीनवटा होटेल छन्।

दोबाटोमा आराम गरेपछि करिब आधा घण्टाको यात्रापछि मुल्डे भ्यु-पार्क पुग्न सकिन्छ। यहीँबाट खोप्रो, त्रिवेणी ताल (हिडन लेक), घोरेपानी-पुनहिल, अन्नपूर्ण आधार शिविर, उत्तर र दक्षिणलगायत पदयात्रा गर्न पनि सकिन्छ।
मुल्डेबाट मनोरम दृष्यावलोकन गरेर धीत नमरे पौडे अर्थात हिडन भ्याली पुग्न सकिनेछ। जहाँ बास बस्नका लागि तीनवटा होटेल छन्। यहाँको बसाइले स्वर्गीय आनन्द दिलाउनेमा कुनै द्विविधा छैन। रमणीय र स्वर्गीय आनन्दले भरिपूर्ण यो ठाउँको यात्रा अविस्मरणीय बन्न सक्छ।
हेर्नुहोस् थप तस्बिर :
