कास्की। जेन-जी आन्दोलनका क्रममा प्रहरी कार्यालय तोडफोड, आगजनी तथा हतियार लुटपाट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका ५‚ जिरो किमिका ३१ वर्षीय श्यामबहादुर तामाङ र पोखरा महानगरपालिका २ का २२ वर्षीय सागर राउत छन्। उनीहरूलाई प्रहरीले पोखराबाट शुक्रबार पक्राउ गरेको हो।
पक्राउ परेकाले प्रहरी कार्यालयबाट हतियार लुटपाट गरेको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले बताए। उनीहरूको साथबाट बन्दुक, गोली एक थान, बोल्ट र ट्रिगरको भाग जोडिएको एक थान बरामद भएको छ।
उनीहरूलाई हतियार तथा खरखजना मुद्दामा पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ। उक्त हतियार प्रहरी कार्यालयको भए पनि कहाँको हो यकिन हुन सकेको छैन।