उपप्रमुख डंगोलसँग राजदूत पुहाक्काको शिष्टाचार भेट
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनीता डंगोलसँग नेपालका लागि फिनल्यान्डका राजदूत पेट्री पुहाक्काले शिष्टाचार भेट गरेका छन्। भेटका क्रममा चक्रीय अर्थव्यवस्था र सहरी आचरणका विषयमा आपसी अभ्यासका विषयमा कुराकानी भएको थियो।
चक्रीय अर्थव्यवस्थाको उदाहरणका रुपमा फोहोर व्यवस्थापनको विषय उठाउँदै उपप्रमुख डंगोलले फोहोरबाट मोहर बनाउने अभियानमा लामो समयदेखि काम हुँदै आएको बताइन्। फोहोरलाई कम्पोस्ट गरेर मल बनाउने‚ यसरी बनाइएको मलको प्रयोग गरेर कौसी तरकारी खेती गरेर फलफूल तथा तरकारी उब्जाउने कार्यक्रम महानगरपालिकाले नियमित सञ्चालन गरिरहेको बताइन्।
सहरको चक्रीय अर्थव्यवस्थासँगै स्वच्छता, सरससफाइ र आपसी सम्बन्धका विषयमा कुराकानी
“फोहोरका रुपमा फालिएका कागज, प्लास्टिकजस्ता वस्तु संकलन गरेर दैनिक उपभोग्य वस्तु, सजावटका सामान बनाउने यसलाई उद्यमका रुपमा विकास गर्ने कामलाई समुदाय स्तरमा सञ्चालन गरिएकाले यसबाट स्थानीय आयमा टेवा पुगेको छ‚” उपप्रमुख डंगोलले भनिन्।
त्यस क्रममा राजदूत पुहाक्काले आफूहरुले मधेस र कर्णाली प्रदेशमा स्वच्छता तथा सरसफाइका लागि काम गरिरहेको बताएका थिए। उनले महानगरपालिकासँग पनि सहकार्य गर्न इच्छुक रहेको पनि बताए।
“पिउने पानीको शुद्धता, सहरी वातावरण र स्वच्छतालगायत महानगरपालिकाले आवश्यकता महसुस गरेका क्षेत्रमा हाम्रो सहकार्य हुनसक्छ‚” राजदूतले उपप्रमुख डंगोललाई जानकारी गराए।