काठमाडौँ। नेपाल वायुसेवा निगमले बाहिर (विदेश) बाट आएका विमानहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसके भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउनुपर्ने निर्णय गरेको छ ।
निगम व्यवस्थापनले त्रिभुवन विमानस्थलमा अवतरण हुन नसकी डाइभर्ट गर्नुपर्ने अवस्था आए भैरहवामा विमानस्थलमा अवतरण गराउन भनेको हो। त्रिभुवन विमानस्थलबाट डाइभर्ट भएका विमान अवतरणका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सम्भव हुने/नहुने विषयमा पनि निगमले अध्ययन गर्नेछ ।
२८ कात्तिकमा मात्र दुबईबाट आएको नेपाल वायुसेवा निगमको विमान त्रिभुवन विमानस्थलमा ‘पार्किङ वे’को व्यस्तताका कारण अवतरण हुन नसकेपछि भारतको दिल्लीमा डाइभर्ट गरिएको थियो। जुनसुकै कारणले काठमाडौँमा अवतरण हुन नसकेका विमान अबदेखि दिल्ली नलगी भैरहवा विमानस्थलमै अवतरण गर्नुपर्ने निगमका प्रवक्ता अनिल घिमिरेले विज्ञप्तिमार्फत जनाएका छन्।
विशेषगरी काठमाडौँमा अवतरण गराउन नमिल्ने अवस्थामा पाइलटहरुले जहाजलाई भैरहवामा नलगी सिधै दिल्ली डाइभर्ट गर्ने गरेका छन्।
यदि दिल्लीको साटो भैरहवा विमानस्थलमा अवतरण गराएको खण्डमा चालकदलका सदस्य, इन्धनलगायत सबै खर्च कम हुनेछ। दिल्लीमा अवतरण गरेको विमानको ल्यान्डिङ चार्जका साथै पार्किङको शुल्क पनि दिनुपर्छ। जबकि भैरहवामा अवतरण गराए ल्यान्डिङ चार्ज र पार्किङ शुल्क दुवै नि:शुल्क छ।

यो पनि…
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल हुँदा पनि किन भारततिर मोडिन्छन् विमान?