बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले ‘मृत्युदण्ड’ बारे के भनिन्?
काठमाडौँ। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले ढाका अदालतको निर्णयको कडा रुपमा निन्दा गरेकी छन्। उनले अदालतको निर्णयलाई ‘पक्षपाति र राजनीतिक रूपमा प्रेरित’ भएको बताएकी छन्।
अदालतको निर्णयपछि शेख हसिनाले पाँच पृष्ठको विज्ञप्ति जारी गरेकी छन्। हसिनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ‚ “मृत्युदण्ड भनेको राजनीतिक शक्तिका रूपमा अवामी लिगलाई अवैध बनाउने अन्तरिम सरकारको तरिका हो।”
अवामी लिग शेख हसिनाको पार्टी हो। यसअघि शेख हसिनाले मुद्दालाई ‘प्रहसन’ भनेर टिप्पणी गरेकी थिइन्। उनल आफूमाथि लगाइएका सबै आरोपलाई अस्वीकार गरेकी थिइन्।
उनले भनिन्, “मलाई उचित न्यायाधीकरणमा ममाथि लागेका अभियोगहरुको सामना गर्ने कुनै डर छैन, जहाँ प्रमाणहरूको वस्तुनिष्ठ रूपमा मूल्यांकन र जाँच गर्न सकिन्छ।”
उनले अन्तरिम सरकारलाई हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा यी आरोप ल्याउन चुनौतीसमेत दिइन्।
बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधको दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ।
गत वर्ष जुलाई/अगस्तमा भएको विद्रोहका क्रममा शेख हसिनामाथि मानवताविरुद्धको अपराधको आरोप लगाइएको थियो। भारतमा निर्वासनमा बस्दै आएकी शेख हसिनाविरुद्धको मुद्दा उनको अनुपस्थितिमा चलाइएको थियो। र फैसला पनि उनको अनुपस्थितिमै आएको हो।