काठमाडौँ
००:००:००
२१ मंसिर २०८२, आईतवार

१ मंसिर २०८२
सर्वोच्च अदालत। तस्बिर : विक्रम राई
अ+
अ-

काठमाडौँ। सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। गत २४ भदौको जेन-जी आन्दोलनपछि आगजनी भएर आंशिक रूपमा मात्रै सञ्चालन हुँदै आएको अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन भएको हो।

सर्वोच्चको गत २१ कात्तिकको पूर्ण बैठक (फुल कोर्ट) ले आगजनी, ढुंगामुढा, तोडमोड र लुटपाटका घटनाबाट सुरक्षित मुद्दाहरू तथा अवरुद्ध भएका सबै सेवाको १ मंसिरदेखि नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो।

“मुद्दाका मिसिलहरू नष्ट हुनबाट बचेकाले पेसी तारेखको मिति आउन बाँकी रहेका ती मुद्दाको १ मंसिरदेखि पूर्ववत् रूपमा तोकिएको पेसी तारेखको दिन नियमित सुनुवाइ हुनेछ‚” पूर्ण बैठकले भनेको थियो, “अन्य पेसी नचढेका मुद्दाहरूको कानुनबमोजिम अंग पुर्‍याई सुनुवाइ गरिने बेहोरा सम्बन्धित मुद्दाका पक्ष र अन्य सरोकार भएकाहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।”

अवरुद्ध भएका सेवा सुरु हुनुका साथै मुद्दा, पुनरावेदनपत्र, दोहोर्‍याई पाउँको निवदेन तथा पुनरावलोकन निवेदनका सबै मुद्दा तथा निवेदन, दर्ता एवं सुनुवाइ आजदेखि सुरु भएको सर्वोच्च अदालतले जनाएको छ। जेनजी आन्दोलनका कारण अदालतको भौतिक संरचना पूर्ण रूपमा नष्ट भएको थियो भने मुद्दाका मिसिलहरू जलेका थिए। अदालतको सूचना प्रविधि शाखाले सूचना प्रणालीको ‘रिकभर’ (पुनःप्राप्त) गरेको छ।