काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जिउ मास्ने बेच्ने र सुन भन्सार चोरी पैठारी मुद्दाका फरार कैदी पक्राउ गरेको छ।
गत भदौ २४ गतेको आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथदेवल सुन्धाराबाट फरार भएका धादिङ गजुरी–२ की गीता लामा र काठमाडौँका मङ्गलनारायण मोहन महर्जनलाई सोमबार पक्राउ गरिएको हो।
लामा जिउ मास्ने बेच्ने मुद्दामा २२ वर्ष कैद सजाय कायम भई २०७६ मङ्सिर १९ गतेदेखि कारागार कार्यालय जगन्नाथदेवल महिला बन्दीगृह सुन्धारामा कैद भुक्तान गरिरहेकी थिइन्।
यस्तै, सुन भन्सार चोरी पैठारी मुद्दामा एक वर्ष कैद र रु एक करोड आठ लाख ३९ हजार ७४७ बराबरको जरिवाना कायम भएका महर्जनलाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए।
प्रहरीले लामालाई ललितपुर महानगरपालिका–३ धोवीघाटबाट र महर्जनलाई काठमाडौँ धोवीचौरबाट पक्राउ गरी कारागार कार्यालय जगन्नाथदेवलमा पेस गरिएको जनाएको छ।