काठमाडौँ
००:००:००
४ पुष २०८२, शुक्रबार

२ मंसिर २०८२
अ+
अ-

जनकपुर। उप-सभामुख बबिता राउत ईसरले मधेस प्रदेश सभाको बैठक आह्वान गरेकी छन्।

सात राजनीतिक दलले प्रदेश सभा आह्वान गर्न उप-सभामुख ईसरलाई पत्र दिएपछि सोही पत्रका आधारमा उनले प्रदेश सभा बैठक आह्वान गरेकी हुन्।

प्रदेश सभा सचिवालयका अनुसार भोलि (बुधबार) दिउँसो १ बजेको लागि बैठक आह्वान गरिएको छ। बैठकमा सभामुखले पदअनुकूल आचरण नगरेको प्रस्तावमाथि छलफल हुनेसहितको बेहोराको सूचना प्रदेश सभा सदस्यहरुलाई पठाइएको छ।

मधेस प्रदेशसभाको बैठक बोलाउन माग गर्दै ३२ सांसदले उपसभामुख ईशरलाई आज (मंगलबार) पत्र बुझाएका थिए।

सभामुख रामचन्द्र मण्डलविरुद्ध पदअनुकूल आचरण नगरेको तथा अविश्वासको प्रस्ताव दर्ता रहेको समयमा विपक्षी दलका सांसदहरूले बैठक आह्वानको माग गरेको नेकपा संसदीय दलका नेता भरत साहले जानकारी दिए। उनका अनुसार प्रदेश सभा सदस्यहरुको हस्ताक्षरसहित बैठक बोलाउनका लागि उपसभामुखलाई अनुरोध गरिएको थियो। सोहीअनुसार बैठक आह्वान गरिएको प्रदेश सभाको सचिवालयद्वारा जारी सूचनामा छ।

२५ प्रतिशत प्रदेशसभा सदस्यले बैठक बोलाउन माग गरे बैठक आह्वान गर्नुपर्ने प्रावधान रहेको र प्रदेशसभा बैठकबाटै सभामुखविरुद्धको प्रस्तावमाथि छलफल प्रक्रिया अगाडि बढाउने उद्देश्य रहेको पनि साहको भनाइ छ।

उपभामुख ईसरले पनि २५ प्रतिशतभन्दा बढी सात दलका प्रदेश सभा सदस्यहरुले प्रदेश सभामा भौतिक उपस्थित भई सभा सञ्चालन गर्न आग्रह गरेको पनि बताइन्। उनका अनुसार प्रदेश सभाको सूचना प्रविधि शाखाले बैठक आह्वानको सूचना सबै प्रदेश सभा सदस्यलाई पठाएको छ।

यता सभामुख रामचन्द्र मण्डलले प्रदेश सभाको बैठक आह्वान गर्ने जिम्मेवारी सचिवको रहेको बताउँदै विधि र प्रक्रिया मिचेर उपसभामुखले आह्वान गरेको दाबी गरे। उनले विवाद उपसभामुखबाटै बल्झिरहेको जिकिर पनि गरे।