काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनमा घाइते (दुवै आँखाका दृष्टि गुमाएका) सन्तोष बोहोरालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज पुगेर उनले घाइते बोहोराको उपचारको अवस्थाबारे जानकारी लिँदै परिवारसँग पनि कार्कीले कुराकानी गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जनाए।
वीरेन्द्रनगर नगरपालिका २‚ भुरेली सुर्खेतका बोहोरालाई २४ भदौमा सुर्खेतमै गोली लागेको थियो। गोली लागेपछि उनले दुवै आँखाका दृष्टि गुमाएका थिए। उनका बुबा चन्द्रबहादुरले छोरा सन्तोषलाई यो अवस्थामा पुर्याउनेमाथि कारबाही हुनुपर्ने माग गरे।
उनले आफ्नो छोरा जीवनभर काम गर्न नसक्ने भएकाले श्रीमती, ४ वर्षीया छोरी र बुबाआमाको सहारा गुमेकामा चिन्ता पनि व्यक्त गरे।
प्रधानमन्त्री कार्कीले आश्वासन दिँदै भनिन्‚ “तपाईंलाई धेरै दुःख परेको छ, त्यो त मैले बुझिरहेको छु। किनभने हामी पनि आमाबाबु हौँ। सन्तानको माया कस्तो हुन्छ भन्ने मैले पनि महसुस गर्न सक्छु। तर यो समस्या तपाईँको मात्र होइन। उपचारका लागि सम्भव हुन सक्ने जति सबै उपाय लगाऔँला। बच्चाको पढाइ, श्रीमतीको कामका लागि पनि पहल गरौँला। चिन्ता नगर्नुहोस्।” अस्पतालमा श्रीमती निर्मला र अन्य आफन्त पनि थिए।