इतिहास
दोस्रो विश्वयुद्धमा मारिएका, बेपत्ता तथा घाइते भएका गोर्खाली सिपाहीका खबर र परिवारले भोगेका ‘न सैसक्ने शोक’ का व्यहोरा पुराना चिठीचपेटामा
राष्ट्रिय अभिलेखालयको अध्ययन कक्ष। २ सि १९० नम्बरको रातो कपडाको पोकोभित्र विभिन्न कागजात छन्। एउटा पानामा लेखिएको छ–
रणभूमिमा आफूको छोरा न १८३२९ राइफलमेन इमानसिंग गुरुंग ४/१ गोर्खा राइफल्सको मृत्यु हुनाले तिमीलाई जो बहुतै अफसोस भ्याको छ, म १ गोर्षाका जम्मै मानिसका तरफबाट तिम्रो न सैसक्ने शोकमा शामिल भई हार्दिक दुखः प्रगट गरछु।
दोस्रो विश्वयुद्धमा एक लाख २० हजार गोर्खाली बेलायती सेनाका हैसियतमा लडेका थिए। उनीहरूले मलाया, बर्मा, इराक, इरान, प्यालेस्टाइन, सिरिया, इटली, ग्रिस, इजिप्ट, ट्युनिसिया, अल्जेरिया, मोरक्को, लिब्या आदि ठाउँमा लडाइँ लडेका थिए। त्यस क्रममा नौ हजारजति गोर्खाली सिपाहीको ज्यान गएको थियो।
ती नेपालका बहादुर छोराहरु, जसले यो जगत रणमा सब्बै जातीका हक आजादीको लागि आफ्नो जीवन बहादुरीको साथ अर्पण गरे, ….१ गोर्षाका मानिसले, मान, र इज्जतका साथ ….
एन एम मेकलोड
करनल
कमान्डींग रेजीमेन्टल
सेन्ट १ गोर्षा रैफल्स
१४ जुन १९४४ (१ असार २००१)मा पठाइएको यो चिठी नेपाली र अंग्रेजी दुवै भाषामा छ। त्यो चिठी हेर्दा के देखिन्छ भने यस्ता मरेका मान्छेबारे खबर पठाउन गोर्खा राइफल्सले दुवै भाषामा फारम छापेको रहेछ। मृत्यु हुनेको नाम र नम्बर भर्न राखिएको खाली ठाउँमा अंग्रेजीमा टाइप गरिएको छ भने नेपालीमा हातले लेखिएको छ। नेपालीमा लेखिएको माथिको चिठीको केही भाग च्यातिएकाले त्यस ठाउँमा खाली राखेको छु। त्यस ठाउँमा अंग्रेजीमा यस्तो लेखिएको थियोः “We shall all, in this Regiment, ever remember and honour those sons of Nepal who offered their services in this world war and who have given their lives fighting bravely for the freedom of all nations.” (यो विश्वयुद्धमा सबै देशको हक र स्वतन्त्रताका लागि बहादुरीका साथ लड्दालड्दै आफ्नो जीवन अर्पण गरेका नेपाली छोराहरूलाई हामी एक गोर्खा राइफल्सका सबैले मान र इज्जतका साथ सदा स्मरण गर्छौं।)
त्यतिबेला दोस्रो विश्वयुद्ध चलिरहेको थियो, जसलाई माथिको चिठीमा ‘जगत रण’ भनिएको छ।
यो चिठी इमानसिंग गुरुङका बाबुआमामध्ये कसलाई लेखिएको हो थाहा छैन। तर, यस्ता धेरै चिठीमा आमाको नाम लेखिएका हुनाले यो पनि उनकी आमालाई लेखिएको होला भन्ने अनुमान गर्न सकिन्छ। लाहुर जाने चलन भएका ठाउँका लाहुरे छोराका बाबु पनि लडाइँमै हुनसक्ने हुनाले यो चिठी आमालाई लेखिएको होला भन्न सकिन्छ।
इमानसिंगका कर्णेलले सोचेजस्तै त्यो लडाइँले गर्दा कति हो कति नेपालीलाई ‘न सैसक्ने शोक’ परेको थियो र ‘बहुतै अफसोस भ्याको’ थियो। यही कुरा बुझेर हुनुपर्छ, यस्ता आमाबाबु र पत्नीलाई बेलायती राजा जर्ज छैटौँले बकिंघम दरबारबाट अंग्रेजी भाषामा लेखिएको सान्त्वना पठाउँथे। त्यसमा लेखिएको हुन्थ्यो– तिम्रो अपूरणीय क्षति भएकामा रानी र म तिमीप्रति हार्दिक सहानुभूति प्रकट गर्दछौँ।
दोस्रो विश्वयुद्धमा एक लाख २० हजार गोर्खाली बेलायती सेनाका हैसियतमा लडेका थिए। उनीहरूले मलाया, बर्मा, इराक, इरान, प्यालेस्टाइन, सिरिया, इटाली, ग्रिस, इजिप्ट, ट्युनिसिया, अल्जेरिया, मोरक्को, लिब्या आदि ठाउँमा लडाइँ लडेका थिए। त्यसक्रममा नौ हजारजति गोर्खाली सिपाहीको ज्यान गएको थियो।
पल्टनले पठाएका जानकारी र बेलायती राजाले पठाएका सहानुभूतिका सक्कल प्रति जसलाई पठाएको हो, तिनका हात पर्दैनथे। ती अहिले पनि मुन्सीखानाको आधुनिक रूप परराष्ट्रको अधीनमा रहने गरी राष्ट्रिय अभिलेखालयमा राखिएका छन्।
लडाइँमा मर्ने मरिहाले। हराएको एकाध वर्षसम्म नभेटिएपछि हराएकालाई पनि मर्नेको सूचीमा राखिन्थ्यो र तिनका परिवारलाई खबर गरिन्थ्यो। पश्चिम ३ नम्बर मिर्लुङकोटका, १/३ गोरखा राइफल्सका नम्बर ३३२९ (अंग्रेजीमा ३३२७ लेखिएको) भएका राइफलम्यान बलबहादुर गुरुङकी आमा आस्मालाई पठाइएको चिठीमा भनिएको छ–
यो साह्रै दुखको साथमा आफूलाई खबर दी रहेको छु कि आफूको छोरा नं ३३२९ रा. बलबहादुर गुरुं १/३ गोरखा पल्टनको जो पहले हामीले सरकारी तौरमा ता. १५–११–४५ देखी गुम भयो भनी खबर पठाको थियो। अव आफूको छोरा ता. १५–११–४५ देखी मरी गयो भनेर आडर गरिदियो।
फेमीली पेन्सनको बारामा खोजी खबर गरदेईछम। मिलने नमिलने खबर फेरी पठाउने भयो। झिटीमिटीको पैसा लिनुको लागी दुईजना पेन्सनवाला गवाहीको लागी लिएर ब्रिटिश मिनिष्टर नेपालमा रिपोर्ट गर्नुहोला।
चिसापानी नम्बर २, पश्चिम लमजुङका नम्बर २८८६ का लेन्स नायक कनु गुरुङकी पत्नी डिला, बहाचोक लमजुङका नायक नरबहादुर गुरुङकी पत्नी लौती, राइफलम्यान शेरबहादुर गुरुङकी आमा कुमारीलगायत धेरै लाहुरेका पत्नी र आमाहरूलाई पनि यस्तै खबर पठाइएको थियो। यस्ता चिठीमध्ये कतै कतै मृतकका आफन्तलाई केही पैसा दिएको कुरा लेखिएको हुन्थ्यो। जस्तै, नरबहादुरकी पत्नीलाई पठाएको चिठीमा भनिएको थियो– मृतककी आमालाई ४-२-४७ मा देहरादूनमा रु. १६० दिइएको छ।

दार्जिलिङछेउको बतासे लुपमा राखिएको सैनिक स्मारक। तस्बिर : मोहन मैनाली
राष्ट्रिय अभिलेखालयमा रहेको त्यस रातो पोकामा पहिले बेपत्ता भएका र पछि मृतक घोषणा गरिएका यस्ता चिठी पनि धेरै छन्।
यी चिठी जसलाई पठाइएको हो, उनीहरूले सोझै पाउँदैनथे। सबैभन्दा पहिले मृत्यु हुने वा ‘गुम हुने’ का पल्टनले काठमाडौँमा रहेको ब्रिटिस लिगेसनमा पठाउँथ्यो। लिगेसनले तिनलाई त्यतिबेलाको नेपालको परराष्ट्र मामला हेर्ने अड्डा मुन्सीखानामा पठाउँथ्यो। त्यहाँका कर्मचारीले तिनलाई आफ्नो शैलीमा ढाल्थे र सम्बन्धित गौँडा/अड्डामा पठाउँथे। अड्डाले सम्बन्धित मान्छेलाई खबर दिन्थ्यो होला। अर्थात् पल्टनले पठाएका जानकारी र बेलायती राजाले पठाएका सहानुभूतिका सक्कल प्रति जसलाई पठाएको हो, तिनका हात पर्दैनथे। ती अहिले पनि मुन्सीखानाको आधुनिक रूप परराष्ट्रको अधीनमा रहने गरी राष्ट्रिय अभिलेखालयमा राखिएका छन्।
धन्न, यसपालि भदौमा भएको आम आगजनीमा पनि ती कागज बचे!
पोका नम्बर २ सि २६६ मा २००२ सालको एउटा बही छ। त्यसमा ३२ साउन २००२ देखि चैत अन्तिमसम्म पठाइएका आदेश/सन्देशहरूको विवरण छ। यसको सुरुआत १०४५ नम्बरबाट भएको छ। अर्थात् त्यस वर्षका यसअघिका चार महिनामा एक हजार ४४ वटा चिठी पठाइसकिएका थिए। २००२ सालभरिमा दुई हजार ९६६ वटा आदेश/सन्देश पठाइएका थिए। तीमध्ये एउटा यस्तो छ–
इलाम गौँडा के
जी इलाम थुं फाकफोक मौजे कोलबोटे बस्ने ७७६१ नम्बरको ह. चम्दाल राई पत्ता लाग्यो भनी स्वास्नी लक्ष्मीमायालाई सुनाउने।
लडाइँमा हराएको मान्छे भेटियो, दुस्मनको बन्दी थियो, पछि छुट्यो जस्ता शुभ सन्देश परिवारलाई दिनू भन्ने आदेश थोरै मात्र छन्। अधिकांश सन्देशमा लडाइँमा सिपाही मरेको व्यहोरा छ।
केही आदेशमा भनिएको छ– घरबिदामा बसेको पल्टनियाँ मान्छे फलाना मर्यो भनेकामा के भएर मरेको हो बुझी पठाउनू। यसबाट केही लाहुरे घरबिदामा आएर नफर्की ‘मरे’ भन्ने सूचना पल्टनमा पठाएको र त्यसलाई पल्टनले विश्वास नगरेर थप सोधपुछ गरेजस्तो देखिन्छ।
पहिलो विश्वयुद्धमा जस्तै दोस्रो विश्वयुद्धमा पनि सिपाही र कुल्ली धेरै चाहिएकाले नेपालका श्री ३ ले कुल्ली र रिक्रुटमा सबै जातका मानिसले भर्ना हुन जान पाउँछन् भनी उर्दी दिएका थिए। त्यसले गर्दा पहिलेभन्दा धेरै नेपाली लडाइँमा होमिएका थिए।
घाइते हुनेको अवस्था कम दुःखदायी थिएन। परराष्ट्रका कागजहरूको चाङमा रहेको एउटा कागजले यो कुरा राम्रोसँग देखाउँछ। त्यो कागज हो– देहरादुनको रेडक्रस होमबाट जुठे गुरुङले तारिक ‘तेह्र तिन अट्चालिस साल’ अर्थात् १ चैत २००४ मा श्री ५ महाराजधिराजलाई लेखेको चिठी।
त्यस चिठीमा लेखिएको छ–
इन्डियन रेडक्रसको होममा हामी एघार गोर्खालीहरू उन्नाइस सय चवालिस पैतालिसमा बर्मा इटलीको लडाईंमा जख्मी भएकाहरू छौ। अउर पनि मिलिट्री अस्पतालदेखि गराउँदाई पठाइदिँदै छ। अउ सरकार हामीहरूको हात खुट्टा पूरा छ, लेकिन खुट्टा बिल्कुल हिड्न हुदैन। कसैको कम्मरदेखि कसैको आधा हर मरिगएको छ।
(अर्थात्, भारतीय रेडक्रसको आश्रयस्थलमा १९४४/४५ मा बर्मा र इटालीको लडाइँमा घाइते भएका ११ जना गोर्खाली छौँ। अरू घाइते सैनिकलाई पनि अस्पतालले उपचार गरेर पठाइदिँदै गर्छ। सरकार, हाम्रा हातखुट्टा सग्लै देखिन्छन्, तर खुट्टाले हिँड्न हुँदैन। कसैको कम्मरमुनिको भाग अनि कसैको आधा मेरुदण्ड मरिसकेको छ। कसैको दिसापिसाब पेटबाट निस्कन्छ। कसैको त दिसापिसाब साविक ठाउँबाटै हुन्छ, तर दिसापिसाब भएको थाहा हुँदैन। सरकार, हामीलाई राम्रो स्याहार गर्ने मान्छे छैन। हामीले जति रिपोर्ट गरे पनि स्याहार गर्ने मान्छे आउँदैन।)

परराष्ट्रका कागजातका पोको। तस्बिर : मोहन मैनाली
गोरखपुर देहरादुनभन्दा गर्मी ठाउँ भए पनि जुठेले आफूलाई गोरखपुर सार्ने व्यवस्था मिलाइदिन अनुरोध गरेका थिए। उनले भनेका थिए– सरकार, दया गरेर हामी गरिबहरूलाई गोरखपुरको अस्पतालमा राखिदिए हाम्रा दुःखी मातापिता र पत्नी वर्षमा एकपटक हेर्न आइपुग्ने थिए। औ सरकार, आशा छ– हामी गरिबहरूको प्रार्थना जरुर सुनिबक्सनुहुन्छ।
जुठेको कुरा नेपालका श्री ५ महाराजाधिराजबाट सुनिबक्सियो वा सुनिबक्सिएन, थाहा भएन।
पछि यस्तो अवस्थामा रहेका यी सैनिकहरूले ठूलो बहादुरीका साथ लडेर हिन्दुस्तान आउन लागेका जापानी सैनिकलाई बर्मामै रोकेका थिए। त्यस युद्धमा २० हजार गोर्खाली सैनिक घाइते वा अपांग भएका थिए।
यसअघि निश्चित जातजातिका मानिसले मात्र बेलायती पल्टनमा भर्ना हुन पाउँथे, तर पहिलो विश्वयुद्धमा जस्तै दोस्रो विश्वयुद्धमा पनि सिपाही र कुल्ली धेरै चाहिएकाले नेपालका श्री ३ ले कुल्ली र रिक्रुटमा सबै जातका मानिसले भर्ना हुन जान पाउँछन् भनी उर्दी दिएका थिए। त्यसले गर्दा पहिलेभन्दा धेरै नेपाली लडाइँमा होमिएका थिए।
गोर्खालीले बेलायती साम्राज्यलाई यस्तो सेवा गरेबापत उसले सन् १९१९ देखि नेपाललाई बर्सेनि १० लाख रुपैयाँ दिन थाल्यो।
लडाइँमा गएका मानिसका आफन्तको अवस्था कस्तो हुन्थ्यो होला? एउटा उदाहरण हेरौँ। नेपालमा प्रजातन्त्र ल्याउन २००७ र २०४६ सालमा लडेका नेता गणेशमान सिंह जेलबाट भागेर हिन्दुस्तान जाँदा नुवाकोटमा यस्तै लाहुरेका घरमा वास बस्न पुगेका थिए। आफ्नो किताब मेरो कथाका पानाहरूको भाग १ मा उनले लाहुरेका परिवारको अवस्थाबारे लेखेका छन्–
डेढ वर्ष भए बिहा भएको। छोरो लाहुर पसेको एक वर्ष भयो। पाँच महिनाअघिसम्म चिठी चपेटा आउँदै थियो, अहिले त त्यो पनि ठ्याम्मै बन्द छ भनेर बूढाले लामो सास फेरे। छोराको यादले हो अथवा बुहारीको अवस्थाप्रति दया जागेर आएको हो त्यो लामो सास, मैले छुट्याउन सकिनँ। तर त्यसमा ती दयालु, परोपकारी तथा सज्जन पुरुषभित्रको पीडा र निराशा अभिव्यक्त भएको थियो, त्यसलाई भने मैले प्रस्ट रूपले लक्ष्य गरेँ। … बुहारीको भरिएको जवानी देखेर बूढाको करुणा र दया अत्यधिक बढेको रहेछ। जवानीमा वैधव्यको जस्तो जीवन बिताउनुपर्दाको कल्पनाले बूढालाई नराम्ररी बुहारीप्रति दयालु बनाएको होला भन्ने अनुमान जोसुकैले गर्न सक्थ्यो। … संसारको बेग्लै भागमा विश्वयुद्ध चलिरहेको थियो। त्यो युद्धको शङ्खनाद गर्ने, उपनिवेश र प्रभुत्वका निम्ति प्रतिस्पर्धा गर्ने जर्मनी, इटाली र जापानी एकातिर थिए भने अंग्रेज, फ्रेन्च र अमेरिकीहरू अर्कातर्फ थिए। तिनको युद्धोन्मादले यो अनकन्टारका प्राणीहरू कसरी प्रभावित भएका छन् र तिनको जीवन कसरी पीडित र दुःखी भएको छ भन्ने कुरा मैले पनि बोध गर्ने अवसर पाउने थिइनँ यदि मेरो बूढासँग संयोगले भेट नभएको भए।
हो, त्यो अरूको उन्मादले नेपाली समाजमा परेको असर र त्यसको फाइदाबारे हर्क गुरुङले लाहुरेको कथा पुस्तकको भूमिकामा लेखेका छन्– त्यसताका धेरैलाई भर्ना गर्न परेकाले गल्लावालाले बइना दिने चलन रहेछ। …भर्ना हुनका लागि उमेर घटाउनु र बढाउनु सामान्य कुरा थियो। यसैप्रकार जात ढाँठ्ने चलन पनि थियो।…पल्टनमा भर्ना नपठाउने गाउँको मुखियालाई सरकारले सजाय पनि गर्ने गर्थ्यो। हाट भर्न आएका ढाक्रेसमेतलाई लडाइँबाट फर्केका घाइतेलाई बेक्ने कर थियो। अधिकांश गोर्खालीहरु गैरहिन्दू, मतवाली भए पनि समुद्रपारबाट घर फर्किँदा पतिया गर्नुपर्थ्यो जसको भेटी बडागुरुज्यूको पेवा हुन्थ्यो।
गोर्खालीले बेलायती साम्राज्यलाई यस्तो सेवा गरेबापत उसले सन् १९१९ देखि नेपाललाई बर्सेनि १० लाख रुपैयाँ दिन थाल्यो। दोस्रो विश्वयुद्धमा गोर्खाली सैनिकका परिवारले माथि भनिएजस्ता ‘न सैसक्ने शोक’ भोगेबापत यो रकम दोब्बर पारियो, तर उनीहरूका परिवार र तिनका सन्तानले आफ्ना छोरा र लोग्ने/पुर्खा मरेको/बेपत्ता भएको/बैरीले बन्दी बनाएको/बैरीको थुनाबाट मुक्त भएको/मृत घोषणा गरेको खबर ल्याउने कागजसमेत देख्न पाएनन्।
– यो लेख लेख्न आवश्यक जानकारी परराष्ट्र मन्त्रालयका प्रकाशन नभएका कागजात २ सि १९० को पोका १६८ र १६८/१४, २ सि २६६ को उल्लेख नभएको पोका, गणेशमान सिंहको ‘मेरो कथाका पानाहरू’ र भरतराज पोखरेलले संकलन गरेको ‘लाहुरेका कथा’ बाट लिइएका हुन्।