राजनीति
पिपुल्स भोलेन्टियर्स र युथफोर्सको अभ्यास गरिसकेको एमाले नेसनल भोलेन्टियर्स फोर्स घोषणाको तयारीमा
नेकपा (एमाले)ले आगामी ५ मंसिरमा नेसनल भोलेन्टियर्स फोर्स घोषणा गर्ने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले माइतीघर मण्डलबाट फोर्सको केन्द्रीय कमान्डको घोषणा गर्नेछन्।
एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार केन्द्र, प्रदेश, जिल्ला, पालिका र टोलसम्म फोर्स गठन हुनेछ। एमालेको फोर्स संरचना गठन र त्यसको सञ्चालनको खाका बनाउन उनको नेतृत्वमा कार्यदल गठन गरिएको थियो। त्यसकै सिफारिसमा फोर्स बन्न लागेको हो। बस्नेत तिनै पात्र हुन्, जसको नेतृत्वमा एमालेले माओवादीको वाईसीएलका गतिविधिलाई प्रतिकार गर्न युथफोर्स बनाएको थियो।
बस्नेतका अनुसार एमालेले बनाउने नयाँ फोर्स सञ्चालनका लागि केन्द्रमा कमान्डर र सहकमान्डरसहित १३ सदस्यीय हाइकमान्ड हुनेछ। केन्द्रमा सेन्ट्रल कमान्ड २२७ जनाको हुन्छ। प्रदेशमा चाहिँ फोर्सको युनिफाइड कमान्ड हुन्छ। जिल्लामा पनि कोअर्डिनेसन कमान्ड, पालिकास्तरमा एक्टिभ कमान्ड हुनेछ। त्यस्तै, टोलमा टोल सुरक्षा दस्ता बनाउने एमालेको तयारी छ।
नयाँ फोर्सका विभिन्न कमिटीका नाम नै माओवादीको हिंसात्मक युद्धकालको जस्तो ‘कमान्ड’ राखिएको छ। स्वयंसेवक नाम दिइएको यस संगठनको स्वरूप विगतको युथफोर्सको जस्तै हुने देखिन्छ। एमालेको युथफोर्ससम्बद्ध बलजफ्ती र माओवादीको वाईसीएलको जर्बजस्ती अझै सार्वजनिक स्मृतिबाट हराएको छैन। तर, एमाले फेरि युथफोर्सको नयाँ संस्करण जन्माउने तयारीमा छ।

एमालेको युथ भोलेन्टियर फोर्सको भेला। तस्बिर : एमाले सचिवालय
जेन-जी आन्दोलनका क्रममा प्रहरी चौकीमा आक्रमण भएको र प्रहरीको हतियार लुटिएको थियो। त्यतिबेला जेलबाट कैदीबन्दी भागेका थिए। राज्यका सुरक्षा निकायको मनोबल गिरेको र जनता त्रस्त भएको बेला एमालेले घोषणा गर्न लागेको नयाँ फोर्सका कारण शान्तिसुरक्षामा भने चुनौती थप्ने जोखिम बढेको छ।
नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल राजनीतिक दलले गठन गर्ने यस्ता फोर्सले राज्यको संरचनालाई थप कमजोर पार्ने बताउँछन्। भन्छन्, “सत्ता सञ्चालन गरिसकेको देशको प्रमुख दलले नयाँ फोर्स बनाउँदा सुरक्षा चुनौती आउँछ नै। त्यस फोर्सले जुलुस निकाल्ने, अरूसँग निहुँ खोज्ने र समाजमा दबदबा बढाउने काम गर्छ।”
विगतमा पनि दलहरूले बनाएका वाईसीएल, तरुण दल र युथ फोर्सजस्ता समूहको अभ्यास सकारात्मक नभएको मल्ल बताउँछन्। भन्छन्, “यस फोर्सले फाइटिङ स्ट्रेन्थ बढाउन भूमिका खेल्छ। आफ्नो दबदबा कायम गरेर एकअर्कासँग भिड्ने समूहबाट आम नागरिकमा भय सिर्जना हुन्छ।” मल्लका अनुसार एमालेको नयाँ फोर्स घोषणाको तयारीले भिडन्तको खतरा बढाएको छ।
हुन पनि विगतमा एमालेको युथफोर्स र माओवादीको वाईसीएलबीच धेरैपटक मुठभेड र भिडन्त भएको थियो। “जब वाईसीएलले व्यापारीहरूलाई समात्ने, थुन्ने र ठोक्ने काम गर्न थाल्यो, एमालेले पनि युथफोर्स गठन गर्यो। त्यसपछिका भिडन्तहरू हामीले हेरेकै हौँ,” मल्ल भन्छन्, “त्यस्तो अभ्यासबाट त्रास मात्र थपिन्छ। फेरि नयाँ फोर्स बनाउँदै हुनुहुन्छ भने तपाईं भिड्ने तयारी गर्दै हुनुहुन्छ भन्ने बुझिन्छ।”
जेन-जी आन्दोलनबाट आहत भएको एमालेले राष्ट्र, राष्ट्रियता र सार्वभौमिकता’ को रक्षकका रूपमा फोर्स रहने तर्क गरेको छ। “प्रहरी प्रशासनको मनोबल बढाउनेदेखि सहकार्य र सहयोग गर्ने उद्देश्य हो,” बस्नेत भन्छन्। उनका अनुसार २३ र २४ भदौको जस्तो परिस्थिति आयो भने त्यस्तो बेला एमालेको यो फोर्स परिचालन गरिनेछ। फोर्सको कमान्डर कसलाई बनाउने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ।
सरकारले पूर्वविशिष्टको सुरक्षा कटौती गरेपछि अहिले पनि गुन्डुमा एमालेका अध्यक्ष ओलीको सुरक्षामा युवा संघका पूर्वउपाध्यक्ष पुष्प श्रेष्ठको टोली खटिएको छ। सम्भवतः उनले नयाँ फोर्सको नेतृत्व गर्ने जिम्मेवारी पाउनेछन्। “उहाँले नेतृत्व गर्नुहुन्छ होला। तर, अरू पनि दाबेदार हुनुहुन्छ, पार्टी नेतृत्वसँग छलफल गरेर टुंगो लगाउँछौँ,” बस्नेत भन्छन्।
एमालेको नयाँ फोर्स गठनको संकेत चाहिँ ओलीले यसअघि नै गरिसकेका थिए। उनले २३ कात्तिकमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा देशमा शान्तिसुरक्षाको अवस्था बिग्रँदै गएको भन्दै टोल सुरक्षाका लागि फोर्स गठन सुरु भइसकेको दाबी गरेका थिए। “एमालेसँग युवा कति रहेछन्, त्यस समयमा देखिनेछ,” ओलीको कथन थियो।

एमालेको युथ भोलेन्टियर फोर्सको भेलामा अध्यक्ष केपी शर्मा ओलीलगायत। तस्बिर : एमाले सचिवालय
जेन-जी आन्दोलनले ओलीलाई सत्ताच्युत गरेपछि एमाले नेताहरूले सुरक्षा निकायको भूमिकाबारे निरन्तर प्रश्न उठाइरहेका थिए। यस पृष्ठभूमिमा एमालेले नयाँ फोर्स गठन गर्न लागेको हो। ओलीले प्रधानमन्त्री पद छाड्नुपर्ने अवस्था निम्तिनुमा सुरक्षा निकायको असहयोग कारण रहेको एमाले नेताहरूले औँल्याउँदै आएका छन्। २४ भदौमा आन्दोलनकारीले बालुवाटार घेरेपछि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसलगत्तै नेपाली सेनाले प्रधानमन्त्री ओलीलाई हेलिकोप्टरबाट सुरक्षित स्थलमा पुर्याएको थियो।
ओलीले २९ असोजमा पनि एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै जेन-जी प्रदर्शनमा भएजस्ता घटना रोक्नसक्ने पार्टी कमिटी बनाउनुपर्ने बताएका थिए। ओलीको उक्त भनाइपछि नै यो फोर्स गठनको गृहकार्य तीव्र बनाइएको थियो।
यसअघि एमालेले विभिन्न नाममा अर्धसैन्य बलजस्ता देखिने दस्ताको अभ्यास गरेको थियो। २०६२/६३ अघिसम्म पिपुल्स भोलेन्टियर्स बनाएको थियो। त्यसको नेतृत्व प्रदीप नेपालले गरेका थिए। एमालेमा नेपालको बोलवाला सकिएपछि उक्त दस्ता निष्क्रिय भयो।
माओवादी शान्तिप्रक्रियामा आएपछि भने एमालेले २०६५ सालमा लडाकु प्रकृतिको युथ फोर्स गठन गरेको थियो। माओवादीले अर्धसैन्य प्रकृतिको युथ कम्युनिस्ट लिग (वाईसीएल) बनाएपछि एमालेले युथफोर्स गठन गरेको थियो। एमाले पोलिटब्युरो सदस्य बस्नेतको राजनीतिक उदय पनि त्यही फोर्ससँग जोडिएको छ।