दृष्टिकोण
इन्टरनेटको पहुँच र प्रयोगलाई आधार मान्ने हो भने नेपालमा अमेरिकी समाजजस्तो सन् १९९७ देखि पुस्ता छुट्याउन मिल्दैन।
पुस्ता ज्ञान विज्ञानका विभिन्न विधा र समयमा भिन्न भिन्न अर्थमा सामान्य र पारिभाषिक दुवै रूपमा प्रयोग हुने अनेकार्थी शब्द हो। सन् २०१९ मा जर्नल अफ कम्पेरेटिभ रिसर्च इन एन्थ्रोपोलोजी एन्ड सोसियोलोजी मा प्रकाशित अलेक्सान्द्र पोपेस्कुले ‘अ ब्रिफ हिस्ट्री अफ जेनेरेसन – डिफाइनिङ द कन्सेप्ट अफ जेनेरेसन. एन एनालिसिस अफ लिटरेचर रिभ्यु’ शीर्षकको लेखमा विभिन्न समयमा प्रचलित पुस्ताका अर्थलाई पाँच वटा बुँदामा प्रस्तुत गरेका छन्: (१) सन्तति वा वंशको अर्थमा (महिला-पुरुष, छोरा-छोरी, नाति-नातिनी, पनाति-पनातिनी, आदि), (२) समान उमेर समूहको अर्थमा (बालक, युवा, वृद्ध, आदि), (३) विकासका चरणको अर्थमा (बाल्य, युवा, वृद्ध अवस्था, आदि), (४) समय अवधिको अर्थमा (चार वर्ष, पच्चिस वर्षको अवधि, आदि) र (५) युगीन प्रवृत्तिको अर्थमा (अभियान र हिप्पी, वैभव, आदि)।
नेपाली समाजमा पुस्ताको कुरा कुन समयबिन्दुबाट सुरु गर्ने भन्ने प्रश्न उठ्छ। यसका लागि २००७ साल यस्तो बिन्दु हुन सक्ने देखिन्छ। त्यस वर्षको परिवर्तनले नेपाललाई बाहिरी संसारको सामाजिक-राजनीतिक संरचनातिर लैजान्छ।
गएको २३ र २४ भदौमा नेपालमा जे भयो त्यसपछि समाजमा साइलेन्ट, बुमर, एक्स, वाई, जेड, अल्फा, बिटाजस्ता पुस्ता जनाउने शब्द प्रयोग भएका छन्। यीमध्ये स्वभावतः जेड वा जी पुस्ता सर्वाधिक प्रयोगमा छ, तापनि धेरथोर अरू शब्दको प्रयोग पनि देखिएको छ। यी सबै माथिको पाँचौँ अर्थमा प्रयोग भएका हुन्, खासगरी संयुक्त राज्य अमेरिकाको समाजमा खास खास समय अवधिका युगीन प्रवृत्तिको अर्थमा।
सबै युगीन प्रवृत्ति विश्वव्यापी हुँदैनन्। केही प्रवृत्तिको विस्तार ठूलो भूगोल र समाजमा हुन्छ भने केहीको सानो भूगोल र समाजमा मात्र। ठूलो भूगोलमा विस्तार युगीन प्रवृत्ति पनि खास ठाउँमा केन्द्रित हुने वा टड्कारो देखिने र त्यस ठाउँबाट टाढातिर क्रमशः घट्दै जाने हुन्छ। उदाहरणका लागि विश्वयुद्धको असर विश्वव्यापी थियो तर युद्धभूमि बनेका राष्ट्रहरूमा भन्दा नेपालजस्तो सहभागी त भएको तर युद्धभूमि नभएको मुलुकमा त्यसको असर भिन्न प्रकार र तहको थियो। त्यसैले अमेरिकी समाजका खास अवधिका युगीन प्रवृत्ति बुझाउन प्रयोग भएका शब्द नेपाली समाजमा जस्ताको तस्तै प्रयोग गर्न मिल्दैन।
त्यसो भए नेपाली समाजको सन्दर्भमा पुस्ता कति हुन् र तिनको विशेषता के हो भन्ने प्रश्न स्वतः उठ्छ। यस लेखमा यसका साथै ‘जेन-जी’ नेपाली समाजको सन्दर्भमा कति उपयुक्त प्रयोग हो भन्नेबारे चर्चा गरेको छु। म मानवशास्त्री वा समाजशास्त्री होइन, पुस्ताबारे प्राज्ञिक चर्चा मेरो विषयक्षेत्रभित्रको कुरा होइन। यो चर्चा मेरो अनुभव, समाज अवलोकन र आमधारणामा आधारित छ।
नेपाली समाजमा पुस्ता
नेपाली समाजमा पुस्ताको कुरा कुन समयबिन्दुबाट सुरु गर्ने भन्ने प्रश्न उठ्छ। यसका लागि २००७ साल यस्तो बिन्दु हुन सक्ने देखिन्छ। त्यस वर्षको परिवर्तनले नेपाललाई बाहिरी संसारको सामाजिक-राजनीतिक संरचनातिर लैजान्छ। आधुनिक नेपाल निर्माणको श्रेय पृथ्वीनारायण शाहलाई दिने गरिएको भए पनि त्यो वर्तमान नेपालको भौगोलिक स्वरूप निर्माणको सुरुआत मात्र थियो।
यो पुस्ता अहिले नेपालको सबै क्षेत्रमा नेतृत्वमा वा प्रभावी हैसियतमा छ, उमेर मोटामोटी ६५ देखि ८० वर्षको बीचमा छ। राजनीतिमा यस पुस्ताका उदाहरण राजा वीरेन्द्रदेखि अहिलेका ठूला तीन र तिनैबाट फुटेर बनेका अरू अनेक दलको मुख्य नेतृत्वमा रहेकाहरू हुन्।
२००७ सालअघिको नेपाली समाज एक किसिमको बन्द समाज थियो। २००७ सालदेखि हालसम्म साना-ठूला राजनीतिक आन्दोलन वा परिवर्तनका दृष्टिले २००७-२०१७, २०१७-२०३६, २०३६-२०४६, २०४६-२०६३, २०६३-२०८२ मोटामोटी रूपमा छुट्याउन सकिन्छ। त्यसो त २०१७-२०३६ लाई २०१७-२०२८ र २०२८-२०३६ अनि २०६३-२०८२ लाई २०६३-२०७२ र २०७२-२०८२ गरेर दुई दुई कालखण्डमा विभाजन गर्न पनि सकिन्छ। यसरी हेर्ने हो भने नेपालमा १० देखि १५ वर्षमा परिवर्तन भएको देखिन्छ। शासकीय स्वरूपमा आएको परिवर्तनका आधारमा हेर्दा २००७-२०१७ (प्रजातन्त्र काल), २०१७-२०४६ (पञ्चायत काल), २०४६-२०६३ (प्रजातन्त्र काल) र २०६३ देखि यता (लोकतन्त्र काल) गरी चार खण्डमा विभाजन गर्न सकिन्छ। यसरी हेर्दा भने घटीमा १० देखि बढीमा ३० वर्षको अन्तरालमा यस्तो परिवर्तन देखिन्छ।
यी राजनीतिक परिवर्तनले नेपाली समाजको चरित्रमा भने परिवर्तन गरेको देखिँदैन। त्यसैले यी राजनीतिक परिवर्तनलाई पुस्ता छुट्याउने समयसीमा मान्न मिल्दैन। यसको साटो मानिसहरूको साझा प्रवृत्तिका आधारमा पुस्ता छुट्याउन सकिन्छ। आफ्नै अनुभवका आधारमा नेपालमा २००७ सालदेखि यता जम्मा चार पुस्ता छन्। तिनलाई प्रवृत्तिका आधारमा क्रमशः संघर्षशील पुस्ता, सुविधाभोगी पुस्ता, विभाजित पुस्ता र भ्रमित पुस्ता नाम दिन सकिन्छ भन्ने मेरो धारणा छ।
पहिलो पुस्ता
यो पुस्ता अब कुनै पनि प्रभावी हैसियतमा छैन, उमेरले ८० वर्ष माथि छ। यस पुस्ताका उदाहरण मान्न सकिने थोरै मात्र जीवित छन्। यस पुस्ताले मूलतः संस्थाहरू निर्माण गर्यो, आफ्नै अनुभवबाट सिक्यो, बाहिरी समाजबाट प्रेरणा लियो र ती संस्था र संरचनाहरूलाई चलाइराख्न विभिन्न किसिमका नीतिहरू पनि ल्यायो। निजी आकांक्षालाई भन्दा सामाजिक, सामूहिक र संस्थागत उन्नतिमा जोड दियो।

त्रिभुवन विश्वविद्यालय। तस्बिर : असीम तिमल्सिना
राजनीतिमा यस पुस्ताका मुख्य उदाहरण २००७ सालअघि स्थापना भएका प्रजातान्त्रिक र कम्युनिस्ट पार्टीका संस्थापकहरू, २०१७ सालअघि ती दलहरूमा जुनसुकै भूमिकामा सक्रिय व्यक्तिहरू र राजा महेन्द्र हुन् भने यसका पछिल्ला उदाहरण गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारी हुन्। नेपालको न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाका स्वरूप मात्रै होइन, सार्वजनिक प्रशासनिक संस्था र निकायहरू, विश्वविद्यालय (त्रिभुवन विश्वविद्यालय), प्रज्ञा-प्रतिष्ठान, उद्योग, व्यवसाय, सार्वजनिक संस्थानहरू, प्राज्ञिक सामाजिक संस्थाहरूको स्थापना गर्ने र नेतृत्वमा वा अरू भूमिकामा रहेर तिनलाई उद्देश्य अनुरूप डोर्याउने व्यक्तिहरू यसै पुस्ताका हुन्। करिब करिब शून्यबाट सामाजिक-आर्थिक-राजनीतिक संरचना र प्रणाली निर्माण गरेको हुनाले यस पुस्तालाई संघर्षशील पुस्ता भन्नु उपयुक्त होला।
दोस्रो पुस्ता
यो पहिलो पुस्ताले जग बसालेका जुनसुकै संस्थामा प्रवेश गरेर योगदान गरेको तर त्यसको स्थापना र नीति निर्माणमा भूमिका नभएको खालि त्यसको सञ्चालनमा मात्रै सहभागी पुस्ता हो। समयअनुसारका नभई नहुने परिवर्तनमा यस पुस्ताको भूमिका भए पनि अरूले नै बनाइदिएका संस्था र संरचनामा रहेर यस पुस्ताले त्यस संस्था वा संरचनाबाट प्राप्त सुविधा उपभोग गरेको टड्कारो देखिन्छ भने संस्थालाई उत्तरोत्तर प्रगतितिर नयाँ दृष्टिसहित प्रतिस्पर्धी बनाएको चाहिँ देखिँदैन। यस अर्थमा यो पुस्तालाई सुविधाभोगी पुस्ता भन्नु उपयुक्त होला।
यो पुस्ता अहिले नेपालको सबै क्षेत्रमा नेतृत्वमा वा प्रभावी हैसियतमा छ, उमेर मोटामोटी ६५ देखि ८० वर्षको बीचमा छ। राजनीतिमा यस पुस्ताका उदाहरण राजा वीरेन्द्रदेखि अहिलेका ठूला तीन र तिनैबाट फुटेर बनेका अरू अनेक दलको मुख्य नेतृत्वमा रहेकाहरू हुन्।

रोपाइँका बेला नाला भन्ज्याङका किसान। तस्बिर : बिक्रम राई
सामाजिक, सार्वजनिक र निजी संस्था र निकायहरूमा नेतृत्वमा रहेका वा भर्खरै अवकाशप्राप्त तर प्रभाव कम नभइसकेका व्यक्तिहरू यसै पुस्ताका हुन्। यस पुस्तामा खासगरी राजनीतिमा रहेका व्यक्तिहरूमध्ये राजनीतिक कारणले जेल बसेका, निर्वासनमा रहेका वा आर्थिक-सामाजिक बहिष्कारमा परेकाहरू पनि छन्। त्यो उनीहरूले राजनीतिमा गरेको संघर्ष त हो तर ती संघर्षशील पुस्तामा पर्दैनन्। तिनको संघर्ष संस्थाहरूको स्थापनामा थिएन। बरु त्यो संघर्षको अवधि हिसाब गरेर तिनले त्यसबापतको सुविधा आफ्नो अनुकूलको राजनीतिक व्यवस्थामा प्राप्त गरे, तिनमा कति त राष्ट्र प्रमुख वा सरकार प्रमुखसमेत भए। यस पुस्ताका लागि बनिबनाउ पदहरू र तयारी अवसर उपलब्ध थिए। प्रतिस्पर्धा या त थिएन या निकै कम थियो।
तेस्रो पुस्ता
यो पुस्ता मोटामोटी ४५ वर्षदेखि ६५ वर्षबीचको उमेर समूहमा छ। यस पुस्ताका लागि सजिलै अवसर उपलब्ध थिएन, भएको अवसर दोस्रो पुस्ताले उपभोग गरिरहेको थियो। प्रतिस्पर्धा तीव्र थियो, त्यसैले या त दोस्रो पुस्तालाई खुसी पारेर क्रमशः लाभ लिनुपर्थ्यो या सिर्जनशील भएर कुनै नयाँ बाटो पहिल्याउनुपर्थ्यो।
यो पुस्ता विभाजन मूलतः प्रवृत्ति वा विशेषतामा आधारित हो, उमेरमा होइन। त्यसैले यदाकदा ८० वर्ष हाराहारीको व्यक्तिमा भ्रमित पुस्ताको विशेषता र १५-२० वर्षको व्यक्तिमा संघर्षशील पुस्ताको विशेषता देखिन पनि सक्छ।
यस पुस्ताको अगाडि पहिलो पुस्ता पनि थियो जसले आफूले यत्नपूर्वक बनाएका संस्थाहरू क्रमशः ओरालो लाग्दै गरेको देखेको त थियो, आफ्नो प्रभाव घटेको हुनाले त्यसमा हस्तक्षेप गर्न सक्ने अवस्था थिएन। त्यसैले पहिलो पुस्ताको दोस्रो पुस्तासँग कुनै आशा थिएन, बरु तेस्रो पुस्तासँग नजिक रहेर केही सिक्न सिकाउन चाहन्थ्यो। यसको अगाडि दोस्रो पुस्ता पनि थियो जसले आफ्नो सुविधामा आँखा नलगाउने बफादार सहयोगी यस पुस्ताबाट चाहेको थियो। दोस्रो पुस्ताले आफ्नो संरक्षणमा रहेर काम गर्न चाहने यस पुस्ताका व्यक्तिहरूलाई संरक्षण गर्थ्यो र अवसर उपलब्ध गराउँथ्यो।

नेपालको संविधान २०७२ जारी गर्दा तत्कालीन राष्ट्रपति रामवरण यादव। तस्बिर : बिक्रम राई
तेस्रो पुस्ता यी दुई प्रवृत्तिबीचमा तानातानमा पर्यो र आधा पहिलो पुस्ताले जस्तो मौलिक केही गर्ने उद्देश्यले संघर्षमा लाग्यो भने बाँकी आधा दोस्रो पुस्ताप्रति बफादार भएर अवसरको उपभोगमा लाग्यो। त्यसैले यस पुस्तालाई विभाजित पुस्ता भन्नु उपयुक्त होला। यस पुस्ताको उपस्थिति पनि समाजका सबै क्षेत्रमा छ तर दोस्रो (विभाजित पुस्ताको आधासमेत) र तेस्रो पुस्ता (विभाजित पुस्ताको आधा) को संघर्षको उदाहरण यो लेख लेख्दै गर्दा नेपालका तीन ठूला राजनीतिक दलभित्र भइरहेका गतिविधिमा देख्न सकिन्छ।
चौथो पुस्ता
मोटामोटी ४५ वर्षभन्दा मुनिको उमेर समूह चौथो पुस्ता हो। यस पुस्ताले नेपाली समाजको तीव्र परिवर्तन भोग्यो। यस पुस्ताको सुरुतिर शिक्षामा निजीकरण सुरु भयो, गैरसरकारी संस्थाहरूको स्थापना भयो, भारतभन्दा परको वैदेशिक रोजगारी ठूलो मात्रामा खुल्यो, स्थायी वा अस्थायी आन्तरिक बसाइँसराइको दर बढ्यो, विभिन्न किसिमका मानव अधिकारको अभ्यास सुरु भयो, स्वास्थ्यमा निजीकरण सुरु भयो, कम्प्युटर, मोबाइल फोन र इन्टरनेटले सूचनामा सहज पहुँच भयो, विद्यालयमा अंग्रेजी माध्यम र कक्षोन्नति (एक वर्ष पढेपछि स्वतः माथिल्लो कक्षामा जाने, फेल हुनुनपर्ने प्रणाली) लागु भयो, पारिवारिक विखण्डन बढ्यो, उपभोग्य वस्तुहरूको आयात बढ्यो र उपभोगमा प्रतिस्पर्धा बढ्यो, सामाजिक सञ्जालहरूको स्थापना र विस्तारसँगै सूचनाको बाढी आयो, सँगै मिथ्या सूचना र अल्गोरिदम निर्देशित सूचनाको पनि बाढी आयो।
यी सबै कुरा एकैचोटि भएको होइन तर एकपछि अर्को गर्दै ज्यादै छोटो समयमा भएका यी परिवर्तनले खासगरी कमजोर शैक्षिक गुणस्तर, अपरम्परागत पेसा, ज्ञान र जीवनपद्धतिका कारण अभिभावक र अघिल्लो पुस्ताबाट पर्याप्त निर्देशन र सहयोग उपलब्ध हुन नसक्नु र उपलब्ध हुन सक्ने भए पनि त्यसप्रतिको तीव्र अविश्वास, उपभोगको तीव्र दबाबजस्ता कारणले यस पुस्ताले सही र गलत, हित र अहित, विश्वास-योग्य र विश्वास-अयोग्य छुट्याउने सामर्थ्य बनाउन सकेन। साथै विभिन्न किसिमका मानसिक दबाबको कारणले अन्तर्मुखी, आक्रोशयुक्त र अदूरदृष्टियुक्त स्वभाव विकास भयो। यस आधारमा यो पुस्तालाई भ्रमित पुस्ता भन्नु उपयुक्त होला।
चौथो पुस्तासँग जोडिएर आएका कुरा आफै नकारात्मक थिएनन्। शिक्षा र स्वास्थ्यमा निजीकरण नकारात्मक कुरा थिएन, त्यसको अनुगमन फितलो भयो र परिणाम नकारात्मक भयो। गैरसरकारी संस्था नकारात्मक कुरा थिएन तर ती जागिर खाने र प्रतिवेदन लेख्ने ठाउँ मात्र भए, तिनले समाजलाई दिने परिणाम सकारात्मक भएन। वैदेशिक रोजगारी नराम्रो कुरा थिएन तर अदक्ष जनशक्ति निर्यात गरेर धेरै परिश्रमबापत थोरै रकम भित्रिने र त्यो पनि घरजग्गा, पर्खाल र आयातित उपभोग्य सामग्रीमा खर्च हुने हुँदा अवकाशपछिको जीवन आर्थिक रूपले असुरक्षित हुनु समस्या भयो। अंग्रेजी माध्यम सायद आफैमा नराम्रो थिएन तर विषयवस्तु, शिक्षक र परिवेश पनि त त्यसैअनुरूप चाहिन्थ्यो नि। कक्षोन्नति नराम्रो कुरा होइन, वर्षभरि पढेर फेल हुनु कसरी राम्रो हुन्थ्यो र तर पढ्नुपर्ने कुरा नपढी कक्षोन्नति हुनु नराम्रो भयो। सूचना र सञ्चारमा भएको विकास नराम्रो कसरी हुन्थ्यो तर सूचनाले भ्रमित हुने स्थिति बन्यो। यसैले यी कुरा नराम्रा थिए भनेको होइन, हामीले जसरी अभ्यास गर्यौँ त्यसको परिणाम राम्रो भएन।

भक्तपुरको न्यातपोल मन्दिरअगाडि तीजका बेला रमाइरहेका महिला। तस्बिर : बिक्रम राई
माथि भनिएका उमेर समूह मोटामोटी हुन्, ती कठोर सीमा होइनन्। यो पुस्ता विभाजन मूलतः प्रवृत्ति वा विशेषतामा आधारित हो, उमेरमा होइन। त्यसैले यदाकदा ८० वर्ष हाराहारीको व्यक्तिमा भ्रमित पुस्ताको विशेषता र १५-२० वर्षको व्यक्तिमा संघर्षशील पुस्ताको विशेषता देखिन पनि सक्छ। उदाहरणका रूपमा सामाजिक सञ्जालमा अर्धसत्य वा असत्य सूचनालाई सत्य जसरी आत्मविश्वास साथ प्रस्तुत गर्ने र व्यक्तिगत लाञ्छनासहितका उत्तेजक अभिव्यक्ति दिने व्यक्तिहरूमा अवकाशप्राप्त शिक्षक, प्राध्यापक, पत्रकार, डाक्टर र निजामती सेवाका उच्च ओहदामा रहिसकेका मानिस प्रवृत्तिका हिसाबले यही भ्रमित पुस्तामा पर्छन्।
जेन-जी
नेपाली समाजमा पुस्तासम्बन्धी उपर्युक्त धारणामा जेन-जी कहाँनिर पर्छ त? जेन-जी अमेरिकी समाजमा सन् १९९७ र २०१०-१२ को बीचमा जन्मेको पुस्तालाई दिइएको नाम हो। यस पुस्ताका मुख्य विशेषता इन्टरनेटको प्रयोग, आधुनिक प्रविधि र सामाजिक सञ्जालसँगै हुर्केको हुनु हो।
नेपालमा सन् १९९७ देखि २०१२ बीचमा जन्मेको पुस्तामा अमेरिकी समाजमा ‘जेन-जी’ भनिने पुस्ताका जस्ता प्रवृत्तिको विकास हुन पायो त?
३० अप्रिल १९९३ मा वर्ल्ड वाइड वेब सञ्चालनमा आएपछि इन्टरनेट सार्वजनिक प्रयोगका लागि उपलब्ध भएको हो तर जेन-जी को सुरु समय १९९७ मान्नुको अर्थ अमेरिकामै पनि १९९७ मा मात्रै आम मानिसका लागि इन्टरनेट उपलब्ध भएको भन्ने बुझ्नुपर्छ। नेपालमा यो ठ्याक्कै कहिले सुरु भयो त्यो म भन्न सक्दिनँ तर म आफैले सन् २००२ तिर पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्नातक पढ्ने एक जना मित्रले आफू काम गर्ने विद्यालयको सूचना पाटीमा ‘Yahoo!’ प्रिन्ट गरेर टाँसेको देखेपछि त्यसबारे जिज्ञासा राख्दा थाहा पाएको हुँ। त्यसबेला याहुमा इमेल लेख्न मिल्थ्यो तर दोहोरो कुरा गर्ने याहुकै मेसेन्जर थिएन, यो अलि पछि थपिएको हो।
सन् २००४-२००५ तिर काठमाडौँको मुटुमै पनि मसँग आफ्नै इन्टरनेट थिएन, एउटा इमेल लेख्न साइबरमा कहिलेकाहीँ त घन्टौँ लाइन बस्नुपर्थ्यो। यसै समयमा मैले डायल अप (टेलिफोनको सेटबाट एउटा नम्बर डायल गरेपछि इन्टरनेट जोडिने प्रविधि) इन्टरनेट जोडेको थिएँ। यसमा समय हिसाब गरेर टेलिफोनको जति नै पैसा लाग्थ्यो तर इन्टरनेट चलाएको बेला फोनमा कुरा गर्न मिल्दैनथ्यो। त्यसबेला फाइलहरू केही किलोबाइट साइजका हुन्थे तर त्यो पनि इन्टरनेटको लाइन काटिएर डाउनलोड गर्न गाह्रो हुन्थ्यो। त्यसको समाधानका लागि हामी डीएपी सफ्टवेयर प्रयोग गर्थ्यौं। सन् २००७-२००८ तिर होला मैले एडीएसएल प्रविधिको इन्टरनेट जोडेँ र बल्ल सजिलो भयो। यो काठमाडौँमा बस्ने विश्वविद्यालय शिक्षकको अनुभव हो। त्यसबेला पनि यो प्रविधि नेपालका केही सहरमा मात्र सीमित थियो भने नेपाली समाजमा इन्टरनेट प्रयोगलाई आधार मानेर सन् १९९७ देखि नै कसरी पुस्ता छुट्याउन मिल्छ त?
पहिलो सामाजिक सञ्जाल फेसबुक सन् २००३ बाटै सुरु भएको भए पनि संसारभरि १३ वर्षमाथिको जोसुकैले प्रयोग गर्न पाउने भएको सन् २००६ मा हो। नेपालमा त्यसको प्रयोग विस्तार हुँदासम्म जेन-जीको पछिल्लो सीमा भेटिने अवस्था भएको हुँदो हो। यसबीचमा एक-डेढ घन्टाबाट बढ्दै दैनिक १६ घन्टासम्मको लोडसेडिङ काठमाडौँवासीले पनि बिर्सिसक्ने बेला भएको छैन भने मुलुकका अरू भागमा के स्थिति हुँदो हो।
उपर्युक्त सामाजिक परिवेश (यसैमा नेपाली समाजका सांस्कृतिक, शैक्षिक आदि पक्ष पनि थप्न सकिन्छ)मा नेपालमा सन् १९९७ देखि २०१२ बीचमा जन्मेको पुस्तामा अमेरिकी समाजमा ‘जेन-जी’ भनिने पुस्ताका जस्ता प्रवृत्तिको विकास हुन पायो त? हुनसक्छ केही व्यक्तिले यसको अनुभव गरे। तर, पूरै पुस्ता नै यसबाट प्रवृत्त हुन सकेन भन्ने मेरो मत हो। त्यसैले म भन्छु– नेपालमा अमेरिकी समाजमा भनिएका जस्ता ‘जेन-जी’ छैनन्।
-रेग्मी भाषाशास्त्री हुन्।