काठमाडौँ
००:००:००
२९ मंसिर २०८२, सोमबार

अराजकता

घटनामा संलग्न एमाले कार्यकर्ताहरूलाई पक्राउ गरी मुद्दा चलाउनुपर्ने मागमा सहमति भएपछि खुल्यो यातायात

३ मंसिर २०८२
सिमरामा जेन-जी र एमाले कार्यकर्ताबीचको मुठभेडपछि भएको प्रदर्शन। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

वीरगन्ज। नेकपा (एमाले)का कार्यकर्ताहरूले जेन-जीहरूलाई कुटपिट गरेपछि आज दिनभर सिमरा तनावग्रस्त रह्यो। सामाजिक सञ्जालमा एमाले नेता महेश बस्नेतको कार्यक्रम बहिष्कार गर्ने अभियान चलाएको भन्दै एमाले कार्यकर्ताहरूले सिमरा चोकमा भेला भएका जेन-जी युवाहरूलाई कुटपिट गरेपछि अवस्था बिग्रिएको स्थानीय प्रत्यक्षदर्शी बताउँछन्।

जेन-जी आन्दोलनका सहभागीहरूको मजाक उडाएको, असंवेदनशील अभिव्यक्ति दिएर पटक पटक विवादमा निम्त्याएको भन्दै एमाले नेता बस्नेतको कार्यक्रममा विरोध गर्ने जेन-जीहरूको योजना थियो। सुरुमा कालो झन्डा देखाउने, त्यसपछि कार्यक्रममा सहभागी हुन अवरोध गर्ने र मोसो नै दल्नेजस्ता योजना जेन-जीहरूले बनाएका थिए। तर, बस्नेत सिमरा आइपुग्नुअघि नै एमाले कार्यकर्ताले युवाहरूलाई कुटपिट गर्दै लखेटे।

एमालेका महासचिव शंकर पोखरेल, बस्नेतलगायत नेताहरू बुधबार बिहान सवा १० बजेको विमानमा बाराको परवानीपुरमा आयोजना हुने मधेस जनजागरण सभामा सहभागी हुन जाँदै थिए। तर, उनीहरू आउनुपूर्व नै एमाले कार्यकर्ताको कुटपिटले जेन-जीका अगुवा सम्राट् उपाध्यायसहित आधा दर्जन युवाहरू घाइते भए।

सिमरामा भएको प्रदर्शन। तस्बिर : नेपाल फोटो लाइब्रेरी

कुटपिटपछि जेन-जीको ठूलो समूहले एमाले कार्यकर्ताहरूलाई धपाउँदै सिमरा विमानस्थलको कम्पाउन्डभित्र पुर्‍याएको थिए। जेन-जीहरूले विमानस्थलको मुख्य गेट तोडफोड गर्दै प्रहरीलाई समेत धकेल्दै विमानस्थलको पार्किङभित्र पुर्‍याएका थिए। लगत्तै प्रहरीले बल प्रयोग गरी उनीहरूलाई बाहिर निकालेको थियो। यसक्रममा प्रहरीले लाठी चार्ज गर्दा थप युवाहरू घाइते भए। त्यसपछि विमानस्थलबाहिर पुर्‍याइएका जेन-जीहरूले टायर बालेर सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि सिमरा दिनभर तनावग्रस्त बनेको हो।

स्थिति काबुमा लिन जिल्ला प्रशासन कार्यालय बाराले गण्डक नहरदेखि पथलैया सडकखण्डसम्मको राजमार्ग क्षेत्र दायाँ-बायाँ ५०० मिटरभित्र तथा सिमरा विमानस्थल वरिपरि ५०० मिटर क्षेत्रमा दिउँसो १२:३० बजेदेखि बेलुका ८ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ। कर्फ्यु अवधिभर आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ पूर्णतः निषेध गरिएको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए।

सिमरा विमानस्थलनजिक भएको प्रदर्शन। तस्बिर : जियालाल साह

प्रहरीले बारम्बार सार्वजनिक सडक खाली गराउन तथा भिड नगर्न आग्रह गरे पनि केही समूहले प्रदर्शन जारी राखेकाले थप सुरक्षाकर्मी परिचालन गरिएका छन्। सिमरा आसपासका क्षेत्रका स्थानीयको भने आवागमन रोकिएपछि दैनिक जीवनमा असर परेको छ। बजार क्षेत्रमा समेत त्रास फैलिएको छ।

हाल घटनामा संलग्न एमाले कार्यकर्तालाई तत्काल पक्राउ गर्नुपर्ने र मुद्दा चलाउनुपर्ने जेन-जीको मागबमोजिम सहमति भई यातायात खुलाइएको बाराका प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिएका छन्। अहिले सिमरा क्षेत्र बिस्तारै सामान्य अवस्थामा फर्किँदै छ।