काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

३ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा काठमाडौँ महानगरपालिकाले तीन अर्ब २२ करोड ४१ लाख २५ हजार १४९ रुपैयाँ राजस्व संकलन गरेको छ।

यही अवधिमा गएको वर्ष तीन अर्ब १६ करोड ७६ लाख १४ हजार ६५७ रुपैयाँ संकलन भएको थियो। यसरी हेर्दा गएको वर्षको तुलनामा चालु आवको यस अवधिमा पाँच करोड ६५ लाख १० हजार ४९२ रुपैयाँ बढी राजस्व संकलन भएको छ।

गएको वर्ष १२ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँको लक्ष्य निर्धारण गरिएको थियो। यस वर्षको १५
अर्ब ११ करोड ४३ लाख ४१ हजार असुली हुने प्रक्षेपण गरिएको छ।

चालु आवको यस अवधिमा आन्तरिक करतर्फ एक अर्ब ९६ करोड ८१ लाख ७५ हजार ७ सय रुपैयाँ संकलन भएको छ। गएको वर्ष यस अवधिमा एक अर्ब ९९ लाख दुई लाख ६७ हजार ६९५ रुपैयाँ राजस्व संकलन भएको थियो। यो अंक गएको वर्षको तुलनामा दुई करोड २० लाख ९१ हजार ९९५ रुपैयाँ कम हो।

यसरी आन्तरिक राजस्व घट्नुको कारण सम्पत्ति कर शीर्षक हो। गएको वर्षको पहिलो चौमासिक अवधिमा ५० करोड ३१ लाख तीन हजार ७३८ रुपैयाँ संकलन भएको सम्पत्ति कर यस वर्षको सोही अवधिमा ४२ करोड ७६ लाख ५४ हजार २७६ रुपैयाँ संकलन भयो।

गएको वर्षभन्दा कुनै शीर्षकमा धेरै र कुनै शीर्षकमा कम राजस्व जम्मा

राजस्व विभागका प्रमुख दीपक अधिकारी भन्छन्, “गएको वर्ष सम्पत्ति करको दर सम्बन्धित मालपोत कार्यालयले तोकेको दरमा लिने भन्ने निर्णय गरियो। यो निर्णयबाट ठुलो भवन भएका करदाताको राजस्व गुणात्मक रुपमा वृद्धि भयो। साना घर हुनेको घट्यो। यस विषयमा करदाताबाट गुनासो आएपछि २०८१ असोज महिनामा बसेको कार्यपालिका बैठकले पुरानै दरमा सम्पत्ति कर लिने निर्णय गरेपछि त्यस अवधिमा बढी कर तिरेका करदाताको यस वर्ष कर समायोजन गर्ने भनियो। यसरी समायोजन गर्दा यस वर्ष सम्पत्ति कर घटेको हो।”

यस वर्ष बहाल कर असुली बढेको छ। गएको वर्ष यस अवधिमा ९४ करोड ८५ लाख २८ हजार १५४ रुपैयाँ संकलन भएकामा यस वर्ष एक अर्ब दुई करोड ९२ लाख ९७ हजार ५७० रुपैयाँ संकलन भएको छ। बहाल कर बढ्नुको कारण बताउँदै अधिकारी भन्छन्, “२० जेठ २०८२ मा सर्वोच्च अदालतको संवैधानिक इजलासले बहाल कर स्थानीय सरकारको क्षेत्राधिकार भएको फैसला गरेपछि साबिकमा संघ सरकारका आन्तरिक राजस्व कार्यालयहरुबाट उठाइँदै आएको कर महानगरपालिकामै जम्मा हुन थालेपछि यस शीर्षकमा कर बढेको हो।

यस वर्ष व्यवसाय कर पनि बढेको छ। गएको वर्ष २२ करोड ८७ लाख आठ हजार ७०८ रुपैयाँ संकलन भएकामा यस वर्ष २३ करोड ३२ लाख ३६ हजार १७० रुपैयाँ असुली भएको छ।

भवन नक्सा शुल्कबाट संकलन हुँदै आएको रकम भने घटेको छ। गएको वर्ष १२ करोड ६ लाख ६६ हजार ६४९ रुपैयाँ संकलन भएकामा यस वर्ष आठ करोड ८८ लाख ६ हजार ८८१ रुपैयाँमा झरेको छ। सहरमा भवन निर्माण गर्ने क्रम घटेसँगै राजस्व असुली पनि घटेको हो।