काठमाडौँ। विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले सन्तुलित टिम भएकाले पोखरा एभेञ्जर्सविरुद्धको जित सहज भएको बताएका छन्।
नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो खेलमा पोखरा एभेञ्जर्सलाई ५३ रनले पराजित गरेपछि प्रतिक्रिया दिँदै उनले भने, ‘प्रतियोगिताको सुखद सुरूआत भएको छ। आगामी दिनमा अझ मेहिनतका साथ खेल्ने छौँ, सुधार गर्नुपर्ने धेरै कुरा छ।’ पोखरासामू विशाल लक्ष्य बनाएकाले बलिङमा दबाब नपरेको उनले बताए।
विराटनगर किङ्समा प्रशिक्षकका रुपमा पुबुदु दसानायके र खेलाडीका रूपमा फाप डु प्लेसिस आउन बाँकी रहेको उल्लेख गर्दै उनले त्यसपछि टिम थप सन्तुलित बताए।
पोखराका कप्तान कुशल भुर्तेलले बलिङ राम्रो नभएको बताए। ‘टस जितेपछि बलिङ रोजेका थियौँ, तर धेरै रन खर्चियौँ’, उनले भने, ‘हाम्रो सुरुआती ब्याटिङ राम्रो भए पनि साझेदारी हुन सकेन।’ जारी प्रतियोगितामा बुधबार काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच हुनेछ।
एकैदिन पाँच अर्धशतक
मंगलबार सम्पन्न दुई खेलमा पाँचवटा अर्धशतक प्रहार भए। पहिलो खेलमा कर्णाली याक्सका प्रियान्क पञ्चाल अर्धशतक बनाए। उनले चितवन राइनोजविरूद्ध ४८ बल खेल्न क्रममा ९० रन बनाए। सोही खेलको दोस्रो पारीमा चितवनका लागि रवी बोपराले पनि अर्धशतक पूरा गरे। उनले ३६ बल खेल्दै ५२ रन बनाए।
मंगलबार नै भएको दोस्रो खेलमा विराटनगरका लोकेश बम र मार्टिन गुप्टिल अर्धशतक प्रहार गरे। मार्टिनले ३५ बल खेल्दै ६१ रन बनाए। लोकेश बमले ४७ बलमा ७२ रन बनाए। पोखरा एभेञ्जर्सका कप्तान कुशल भुर्तेलले पनि अर्धशतकीय पारी खले। भुर्तेल ३१ बलमा ५९ रनमा आउट भए।