काठमाडौँ
००:००:००
२४ मंसिर २०८२, बुधबार

४ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा चोरी भएका ५१ वटा दुईपाङ्ग्रे सवारीसाधन (मोटरसाइकल र स्कुटर) खोजी गरी सम्बन्धित धनीको जिम्मा लगाइएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार चोरी भएका सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच काठमाडौँ उपत्यका प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारी र उपत्यका ट्राफिक प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले संयुक्त रुपमा ३३ वटा मोटरसाइकल र १८ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरे।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा गोंगबु, नयाँ बसपार्क, बालाजु, सीतापाइला, रानीबारी, बौद्ध, बालकुमारी, कोटेश्वर, काँडाघारी, पुतलीसडक, अनामनगर, सिंहदरबार, मालीगाउँ, गठ्ठाघर, लुभूलगायत स्थानबाट उक्त सवारीसाधन ट्राफिक प्रहरीले फेला पारेको थियो।

साउनयता ट्राफिकले ९१ वटा सवारीसाधन धनीलाई जिम्मा लगाइसकेको छ। चोरीमा संलग्न रहेको आरोपमा १९ जना पक्राउ परेका छन्।


सवारीसाधन पाएपछि धनीहरू खुसी व्यक्त गर्दै सामूहिक रूपमा ट्राफिक प्रहरीलाई धन्यवाद दिएका थिए। आव ०८०/८१ मा ४१७ र ०८१/८२ मा ५०३ वटा दुईपाङ्ग्रे सवारीसाधन खोजी गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको थियो।

सवारीसाधन चोरी रोक्न आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गरी ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरन जडान गर्न र मानिसको आवत-जावत नहुने एकान्त स्थानमा सवारीसाधन पार्किङ नगर्न कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले अनुरोध गरे। हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, हटलाइन नम्बर १०० मा फोन गर्न सकिनेछ।