४ मंसिर २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोग। फाइल तस्बिर
अ+
अ-

काठमाडौँ। बाजुराको हिमाली गाउँपालिका ६ मा प्रसूति केन्द्र भवन निर्माण गर्दा भ्रष्टाचार गरेको आरोपमा ६ जनाविरुद्ध मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बाजुराका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ६ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

मुद्दा दायर भएकामा तत्कालीन कार्यालय प्रमुख अशोककुमार सिंह, शिक्षा विकास तथा समन्वय एकाइका इन्जिनियर सुरेशकुमार चौरसिया, तत्कालीन सब-इन्जिनियर नरेश रावत, उपभोक्ता समिति अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष खडक ऐडी छन्। उनीहरूसँग जनही १५ लाख आठ हजार ५५७ रुपैयाँ बिगो तथा सजाय माग गरिएको अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए।

आर्थिक वर्ष ०७५/७६ मा प्रसूति केन्द्रको भवन निर्माण गर्न सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय र स्वास्थ्य कार्यालयबाट २६ लाख रुपैयाँ विनियोजन भएको थियो। स्वास्थ्य कार्यालय बाजुरा र उपभोक्ता समितिबीच सम्झौता भएकामा लागत अनुमानबमोजिम आल्मुनियमको झ्याल राख्नुपर्नेमा स्थानीय काठको चौखट जडान गरिएको थियो। लागत अनुमानमा उल्लेखित मापदण्डअनुसार काम नगरी झुटो बिल भर्पाई गरेर पूरै भुक्तानी दिएको उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो।