काठमाडौँ
००:००:००
२४ मंसिर २०८२, बुधबार

सीआईबीका अनुसार ठाकुरप्रसाद मानन्धरसमेतको जाहेरी तथा कसुम लामा भएको ठगी तथा आपराधिक विश्वासघात, राष्ट्र बैंकअन्तर्गतको कसुर मुद्दा अनुसन्धान सिलसिलामा महाजू पक्राउ परेका हुन्।

४ मंसिर २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। प्रभु म्यानेजमेन्ट प्रालिका पूर्वसेयर सदस्य तथा हाल लेखा प्रमुख हेमकुमार महाजूलाई प्रहरीले पक्राउ गरेको छ।

काभ्रे पनौती नगरपालिका ८ घर भई हाल ललितपुर गोदावरी नगरपालिका ३‚ टौखेल बस्दै आएका ५१ वर्षीय महाजूलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरी टोलीले महाजूलाई बुधबार टौखेलबाटै पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले बताए।

ठाकुरप्रसाद मानन्धरसमेतको जाहेरी तथा कसुम लामा भएको ठगी तथा आपराधिक विश्वासघात, राष्ट्र बैंकअन्तर्गतको कसुर मुद्दा अनुसन्धान सिलसिलामा महाजू पक्राउ परेको श्रेष्ठले बताए।

प्रभु म्यानेजमेन्ट प्रालिका नाममा रहेको सिटिजन्स बैंकको खातामा विभिन्न व्यक्तिहरूको नामबाट शंकास्पद रूपमा नौ लाख ९९ हजार पाँच सय रुपैयाँका दरले रकम जम्मा भएको, एकै दिन पटक-पटक शंकास्पद रकम जम्मा भएको देखिएको, सिटिजन्स बैंकको खातामा रेमिट कारोबारको आवरणमा हुन्डीमार्फत रकम प्राप्त गरी हिसाब मिलान गरेको देखिएको श्रेष्ठ बताउँछन्।

प्रहरीले यसअघि ग्रुपका सञ्चालक देवीप्रकाश भट्टचनलाई पक्राउ गरेको थियो। उक्त कारोबारमा महाजूसमेत संलग्न रहेको देखिएको प्रहरीले दाबी गरेको छ। उनीमाथि थप अनुसन्धान थालिएको ब्युरोले जनाएको छ।