महानगर ‘गौरव योजना’ र ‘स्वर्णिम योजना’ को प्रगति तीन दिनभित्र बुझाउन प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको निर्देशन
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले कार्यान्वयनमा ल्याएको प्राथमिक योजना ‘गौरव योजना’ र ‘स्वर्णिम योजना’ को प्रगति तीन दिनभित्र पेस गर्न प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले निर्देशन दिएका छन्।
विभागीय प्रमुख र कार्यक्रमका फोकल पर्सनहरुसँग बिहीबार बसेको संयुक्त बैठकमा उनले आन्तरिक सञ्चार र समन्वयमा जोड दिँदै प्रक्रियामा भएका योजना कहिले टुंगिने हो? अपेक्षित अवधि, समस्या भए समाधानका उपायसहितको विवरण पेस गर्न निर्देशन दिए। यी विवरण सहरी योजना आयोग, योजना, अनुगमन तथा मूल्यांकन एकाइ र प्रमुख प्रकाशकीय अधिकृतको सचिवालयमा बुझाउनुपर्नेछ।
चालु आवका लागि स्वीकृत भएका र सार्वजनिक खरिद प्रक्रियामा जानुपर्ने कार्यक्रमको अवस्थाबारे जानकारी लिँदै उनले कात्तिक मसान्तसम्ममा सूचनामा गइसक्नुपर्ने योजना त्यसअनुरुप कार्यान्वयनमा नगएको भए आउँदो १५ दिनभित्र पठाइसक्न गुरागाईंको निर्देशन थियो। त्यस अवधिमा पनि प्रक्रियामा नगएका योजनाबारे सम्बन्धित अधिकारीले समीक्षामा जवाफ दिनुपर्ने उनको भनाइ थियो।
बैठकमा प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले आन्तरिक सञ्चारको अभावमा प्राप्त उपलब्धिलाई अभिलेखन गर्न नसकिएको बताउँदै आपसी संवाद र समन्वयमा जोड दिए।
नागरिकका दैनिक जीवनसँग जोडिएका र आमसरोकारसँग सम्बन्धित योजना कार्यान्वयनलाई थप प्राथमिकता दिन स्वास्थ्य, शिक्षा, रोजगारीको प्रवर्धन, वातावरण सुधार र पूर्वाधारका कार्यक्रमलाई महानगरपालिकाले गौरवको योजनाका रुपमा राखेको छ। यस्तै आमनागरिकको प्रत्यक्ष चासोका रुपमा रहेका निरन्तर सञ्चालन हुने कार्यमध्ये प्राथमिकतामा राख्नुपर्ने कार्यक्रमलाई स्वर्णिम योजनाका रुपमा राखिएको छ। कतिपय योजना निर्माण सम्पन्न भइसकेपछि त्यसको मर्मत गरे मात्र पुग्छ। कतिपय योजनालाई निरन्तर चलाउनुपर्छ। यो कामलाई व्यवस्थित गर्न, नतिजामा पुर्याउन सूचकका आधारमा मापन गर्न सकिने बनाउन योजना वर्गीकरण गरिएको हो।
महानगर गौरवका योजना ११ वटा र स्वर्णिम योजना ३० वटा छन्। यी योजना पहिलोपटक १३औँ नगर सभाको अधिवेशनमा विनियोजन वियेधकमार्फत पेस भएका थिए। गौरव योजनाअन्तर्गत ‘उज्यालो सहर, मेरो महानगर’, ‘धुलोरहित सडक’, र ‘ढलरहित खोलानाला’ गरी तीनवटा योजना सार्वजनिक निर्माण विभागअन्तर्गतका छन्। ‘महानगरले देख्छ’, र ‘सुशासनका लागि अनलाइन सेवा’ गरी दुईवटा योजना सूचना प्रविधि विभागअन्तर्गत कार्यान्वयनमा छन्। ‘सबैको चाहना, ढुङ्गेधारा, हिटि र पोखरीको पुन:स्थापना’, र ‘संस्कृति, सम्पदा र पर्यटन’, महानगरको धन’ गरी दुईवटा योजना सम्पदा तथा पर्यटन विभागले कार्यान्वयन गर्छ।

‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’, सामाजिक विकास विभागले कार्यान्वयन गर्छ। ‘मेरो रहर, सुन्दर र हरित सहर’ उद्यान तथा हरियाली प्रवर्धन आयोजनाले, ‘सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा’ स्वास्थ्य विभागले र ‘गरी खाने शिक्षा, महानगरको इच्छा’, शिक्षा विभागले कार्यान्वयन गर्छ।
३० वटा स्वर्णिम योजनामध्ये ‘सम्पदा मर्मत तथा संरक्षण’, ‘सांस्कृतिक महानगर’, ‘पर्यटकीय सहर’ र ‘ढुङ्गेधारा हिटि र पोखरी’ गरी चारवटा कार्यक्रम सम्पदा तथा पर्यटन विभागअन्तर्गत कार्यान्वयनमा छन्। ‘साथी महानगर’, ‘सबैको योजना, सबैको विकास’, ‘स्वरोजगार नगरबासी’ र ‘क्लोथ बैङ्क’ गरी चारवटा कार्यक्रम सामाजिक विकास विभागअन्तर्गत कार्यान्वयनमा छन्।
सार्वजनिक निर्माण विभागले ‘खेलकुद पूर्वाधार परियोजना’, ‘पूर्वाधार एम्बुलेन्स’ र ‘सुन्दर महानगर’ गरी तीनवटा कार्यक्रम कार्यान्वयन गर्छ। ‘नदी सरसफाइ’, ‘पोखरी सरसफाइ’, ‘जैविक मल परियोजना’ गरी तीनवटा कार्यक्रम वातावरण व्यवस्थापन विभागअन्तर्गत छन्। ‘सुलभ फार्मेसी’, ‘स्वच्छ भान्छा कार्यक्रम’ र ‘आरोग्य जीवन’ गरी तीनवटा कार्यक्रम स्वास्थ्य विभागअन्तर्गत छन्।
‘यातायात तथा सडक सुरक्षा’ र ‘स्मार्ट टोल’ गरी दुईवटा कार्यक्रम सहरी व्यवस्थापन विभागले कार्यान्वयन गर्छ। ‘एकल सेवा केन्द्र’ र ‘श्रम बैंक’ गरी दुईवटा कार्यक्रम प्रशासन विभागले कार्यान्वयन गर्छ। ‘सुन्दर विद्यालय परियोजना’ र ‘रचनात्मक विद्यालय गरी दुईवटा कार्यक्रम शिक्षा विभागका छन्।
‘पिउने पानी तथा सार्वजनिक शौचालय’ सार्वजनिक निजी साझेदारी एकाइले कार्यान्वयन गर्छ। ‘डुबान समाधान’ विपद् व्यवस्थापन विभागले, ‘अनुसन्धान र अन्वेषण’ सहरी योजना आयोगले, ‘न्याय चौतारी’ कानुन तथा मानवअधिकार विभागले’, ‘इ रेन्टल’ राजस्व विभागले, ‘एग्रो पुलिङ परियोजना’ कृषि तथा पशुपन्छी विभागले र ‘मेट्रो मार्ट’ सहकारी विभागले कार्यान्वयन गर्छ।