काठमाडौं। चलचित्र ‘अभिमन्यु : च्याप्टर-१’को नयाँ गीत ‘मरौँ ज्यानले…’ सार्वजनिक भएको छ। १८ मंसिरमा रिलिज हुने चलचित्रको नयाँ गीत निर्माण पक्षले आज (बिहीबार) सार्वजनिक गरेको हो।
सुशान्त गौतमको स्वर तथा संगीत रहेको गीतमा सुरेश बादलको शब्दरचना छ। प्रेममा छटपटिएको प्रेमीले प्रेमिकाको सम्झनामा जीवन समाप्त गर्न पनि नसकेको र चयनले बाँच्न पनि नसकेको थिममा गीत तयार भएको छ।
सँगै जिउने कसम खाएको प्रेम बीचमै टुट्दाको छटपटी गीतमा छ। प्रेमिकाको कोमल हृदयको तारिफ गर्दै सँगै बिताएका पल समेटिएको गीतले अव्यक्त प्रेममा रहँदाको प्रसंग पनि समेटेको छ।
गीतको भिडियोमा चलचित्रका मुख्य दुई पात्र कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा छन्। चलचित्रका फुटेज समावेश गरिएको भिडियोमा तराई-मधेस देख्न सकिन्छ।

‘अभिमन्यु : च्याप्टर-१’मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देल मुख्य भूमिकामा छन्।
सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु : च्याप्टर १’को क्रिएटिभ निर्देशक मदन थापा छन्। यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ।

‘अभिमन्यु : च्याप्टर १’का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन्। यो सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य छन्।
शरद महतोको डीओपी रहेको चलचित्रमा मनोज श्रेष्ठको भीएफएक्स, जुनिम गहतराजको रङ संयोजन छ। चलचित्रको सम्पादन मदन घिमिरेले गरेका छन्।
