काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

एनपीएल

लुम्बिनीको जितमा गुल्बादिन नैब नायक बने‚ बलिङमा २ विकेट लिएका उनले ब्याटिङमा अविजित रहँदै सर्वाधिक ४४ रन बनाए।

४ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। गुल्बादिन नैबको अलराउन्ड प्रदर्शनसँगै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा सुखद् सुरुआत गरेको छ।

बिहीबार सम्पन्न खेलमा लुम्बिनीले ६ विकेटको सानदार जित निकालेको हो। चितवनले दिएको १४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १८.३ ओभरमा ४ विकेट गुमाउँदै १४६ रन बनायो। योसँगै पहिलो संस्करण पुछारमा रहेर प्रतियोगिता सकाएको लुम्बिनीले दोस्रो संस्करणको पहिलो खेलमै २ अंक जोडेको छ।

चितवनको भने यो पहिलो हार हो। पहिलो खेलमा चितवनले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको थियो।

लुम्बिनीको जितमा गुल्बादिन नैब नायक बने। बलिङमा २ विकेट लिएका उनले ब्याटिङमा अविजित रहँदै सर्वाधिक ४४ रन बनाए। २४ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे।

उनले कप्तान रोहितकुमार पौडेलसँग चौथो विकेटका लागि ६० रनको साझेदारी गरे। ४४ बल खेलेका रोहितले १ चौकासहित ३९ रन बनाए।

दिलीपले १३ बलमा १ चौका र २ छक्कासहित २१ रन बनाए। सन्दीप जोरा २८, डी’ आर्ची सर्ट ११ र दिलीप नाथले १० रनको योगदान दिए। जेजे स्मिथ ४ रनमा अविजित रहे।

चितवनका रिजन ढकालले सर्वाधिक २ विकेट लिए। सोहेल तान्विरको नाममा १ विकेट रह्यो।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४२ रन बनाएको थियो।

चितवनका रवि बोपाराले सर्वाधिक ६६ रन बनाए। ५५ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे। उनीसँग कप्तान कुशल मल्लले चौथो विकेटका लागि ४४ रनको साझेदारी गरे।

१८ बलमा १ छक्कासहित उनले २१ रन बनाए। यी दुईबाहेक अन्यले राम्रो साझेदारी गर्न सकेनन्।

सैफ जैबले १५, देव खलानले १४ र दीपक बोहोराले १० रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

लुम्बिनीका रुबेन ट्रम्पलमनले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले २३ रन खर्चिए। अविनाश गौतम र गुल्बादिन नैबको नाममा समान २ विकेट रह्यो।