काठमाडौँ। नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरणका सम्बन्धमा गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ।
छानबिन समितिका संयोजक पूर्वसचिव मणिराम गेलालले आज (बिहीबार) सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई प्रतिवेदन हस्तान्तरण गरे। प्रतिवेदन बुझ्दै मन्त्री खरेलले मन्त्रालयको आन्तरिक प्रयोजनका लागि समिति गठन गरिएको उल्लेख गर्दै प्रतिवेदनका आधारमा नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रिया अवरुद्ध नहुने स्पष्ट पारे। उनले भने‚ “नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रियामा प्रतिवेदन आफैँले अवरोध गर्दैन‚ नेपाल टेलिकम कानुनको परिधिभित्र रहेर राम्रो निर्णय गर्नका लागि स्वतन्त्र छ।”
मन्त्री खरेलले बिलिङ खरिद प्रक्रियाका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट समेत चासो राख्दै पत्र प्राप्त भएकाले सन्दर्भ सामग्रीका रुपमा अध्ययन प्रतिवेदन तयार पारिएको बताए। आफूले भर्खरै प्रतिवेदन प्राप्त गरेको र अध्ययनको चरणमै रहेको उनले उल्लेख गरे। प्रतिवेदनले दिएका सुझाव आगामी दिनमा हुने खरिद प्रक्रियाका लागि सहयोग हुनसक्ने उनको भनाइ छ।
छानबिन समितिका संयोजक एवं पूर्वसचिव गेलालले अध्ययन प्रतिवेदनले नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रियामा भएका गोप्य बोलपत्र मूल्यांकनलाई प्रभावित नहुने बताए। “हामीले प्रतिवेदनमार्फत नेपाल टेलिकमले प्रतिस्पर्धी बजारमा आफूलाई स्थापित गराउन र सेवाग्राहीका व्यक्तिगत विवरणको गोपनीयता र सुरक्षाका सम्बन्धमा केही सुझावहरु पनि दिएका छौँ‚” उनले भने।
गेलाल संयोजक रहेको छानबिन समितिको सदस्यहरुमा सहसचिव गौरव गिरी, सहसचिव आदेश खड्का सहसचिव कृष्ण पन्त, दूरसञ्चार प्राधिकरणका उपनिर्देशक प्रदीप पौडेल, नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका प्रबन्धक डा. कमल लामिछाने र मन्त्रालयका उपसचिव राजेश थापा थिए।