काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

४ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। नेपाल वायुसेवा निगमका महाप्रबन्धक अमृतमान श्रेष्ठले पदबहाली ग्रहण गरेका छन्। उनले बिहीबारदेखि निगममा महाप्रबन्धकका रूपमा पदबहाली ग्रहण गरेका हुन्।

पदभार ग्रहणपछि श्रेष्ठले कार्यकारी समितिको बैठक बोलाएर समग्र विषयबारे जानकारी लिएको प्रवक्ता अनिल घिमिरेले बताए। श्रेष्ठले कर्मचारीहरूलाई निगमको हितमा लाग्न निर्देशन दिएका थिए। उनले इजरायलमा रहेको एयर बस ए-३२० को इन्जिन जहाजमा जडान गरी लिजमा लिएको इन्जिन फिर्ता गर्ने कार्य तत्कालै टुंग्याउने बताए। उक्त कार्यको आरम्भ गरिसकेको जानकारी दिँदै श्रेष्ठले सोहीअनुसार कर्मचारीलाई काम गर्न निर्देशन दिएको निगमले जनाएको छ।

२ मंसिरको मन्त्रिपरिषद् बैठकले सञ्चालक समिति सदस्य रहेका श्रेष्ठलाई महाप्रबन्धकको काम, कर्तव्यसमेत गर्ने गरी कार्यकारी सञ्चालकको रूपमा नियुक्त गरेको थियो।

एयर बस ए-३२० को इन्जिन डेढ वर्षदेखि इजरायलको आईएआई कम्पनीमा मर्मतमा राखिएको छ। जहाजमा आईएआईकै इन्जिन लिजमा जडान गरी उडान सञ्चालन भइरहेको छ। आईएआई र निगमबीच लिज, मर्मत र क्षतिपूर्तिसम्बन्धी भुक्तानीमा विवाद छ।