काठमाडौँ। सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश गरेको छ। न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले बिहीबार कारण देखाऊ आदेश जारी गर्दै बन्दीसहित उपस्थित गराउन भनेको हो।
उनका छोरा नीराजनले गैरकानुनी रुपमा थुनामा राखेको दाबीसहित बुधबार सर्वोच्च अदालतमा बन्दी-प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए। सर्वोच्चले प्रसाईंलाई छोड्न आदेश भने दिएको छैन। उनलाई पक्राउ गर्नुको कारण सोध्दै चौबीस घण्टाभित्र बन्दीसहित उपस्थित हुन आदेश गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित उनकै घरबाट सोमबार राति गिरफ्तार गरेको थियो। प्रसाईंलाई हिंसा भड्किने अराजक अभिव्यक्ति दिएको आरोपमा मध्यरातमा पक्राउ गरिएको थियो।
यसअघि १५ चैत २०८१ मा हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशपछि छुटेका थिए। उनलाई जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागि चार दिनको म्याद थप गरी हिरासतमा राखिएको छ।