काठमाडौँ
००:००:००
२४ मंसिर २०८२, बुधबार

४ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत सइद मुबारक जर्वान अल शम्सीले बिहीार शिष्टाचार भेट गरेका छन्।

भेटमा शुभकामना नेपाल र यूएईबीचको द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, श्रम, आर्थिक तथा बहुपक्षीय सहकार्यका विषयमा महत्त्वपूर्ण संवाद भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ।

उपराष्ट्रपति यादवले सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र यूएईबीच मित्रता, सहयोग, आपसी विश्वास र समझदारीका बलियो आधारमा सम्बन्ध विकसित हुँदै आएको उल्लेख गरे। उनले २०२५ अप्रिलमा यूएईका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेइख अब्दुल्ला बिन जायेद अल नाह्यानको नेपालको राजकीय भ्रमणलाई द्विपक्षीय सम्बन्धको इतिहासमा महत्त्वपूर्ण कोसेढुंगाका रूपमा स्मरण गर्दै यस्ता उच्चस्तरीय भ्रमणले सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।

उपराष्ट्रपति यादवले रमजान महिनाको अवसरमा यूएई सरकारले २८६ नेपालीलाई प्रदान गरेको आममाफीप्रति आभार व्यक्त गर्दै रोजगारीका अवसर उपलब्ध गराएकामा यूएई सरकारलाई धन्यवादसमेत दिए। उनले आईटी, इन्जिनियरिङ, स्वास्थ्य सेवा, होटेल व्यवस्थापनलगायत क्षेत्रमा अर्ध-दक्ष तथा दक्ष नेपाली श्रमिकको माग बढ्ने सम्भावना रहेको बताउँदै वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र सम्मानजनक बनाउन नेपाल प्रतिबद्ध रहेको स्पष्ट पारे।

नेपाल र यूएईबीच आर्थिक सहकार्यलाई विस्तार गर्ने सम्भावना उच्च रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले पूर्वाधार, कृषि, स्वास्थ्य, स्वच्छ ऊर्जा, पर्यटन तथा खानेपानी क्षेत्रमा सहकार्य गर्न यूएईको इच्छाशक्ति नेपालको विकास प्राथमिकतासँग मेल खाने बताए। उनले नेपालले लगानीका लागि कानुनी तथा संस्थागत व्यवस्था तयार पारेको र प्राथमिक क्षेत्रहरूमा विदेशी लगानीलाई स्वागत गर्ने जानकारी पनि दिए।

भेटमा यूएईका राजदूत शम्सीले नेपाल र नेपालीलाई यूएईले धेरै माया गर्ने गरेको उल्लेख गर्दै नेपालले यूएईलाई अन्तर्राष्ट्रिय स्तरमा गरेको सहयोगप्रति आभार प्रकट गरे। “यूएई नेपाली श्रमिकका लागि नेपालमै सीप विकास केन्द्र खोल्न तयार छ‚” उनले भने, “नेपालको ऊर्जा, प्रविधिलगायत क्षेत्रमा यूएई सहयोग गर्न इच्छुक छ।”