टिप्पणी
एकातिर हिन्दु राष्ट्र र राजसंस्था ल्याउने घोषणा र अर्कातिर देशलाई भारतमा गाभ्नुपर्छ भन्ने प्रसाईंका मनपरी अभिव्यक्तिलाई हामीले कहिलेसम्म छुट दिइरहने?
सन १९८० को दशकमा र्याम्बो फिल्मको शृंखलाले संसारभर तहल्का मच्चाएको थियो। यस शृंखलाको पहिलो फिल्म थियो– सन् १९८२ मा बनेको फर्स्ट ब्लड। फिल्ममा नायक र्याम्बो (सिल्भेस्टर स्टालोन) पूर्वअमेरिकी सैनिक हुन्छन्। तर, एउटा सामान्य घटनामा पनि एक प्रहरी अधिकृतले उनलाई प्रताडना दिन्छन्। त्यसपछि नायकले ती अधिकृतलाई मरणासन्न हुने गरी पिट्ने मात्र होइन, पूरै प्रहरी चौकी ध्वस्त बनाइदिन्छन्। यसैको अभियोगमा जेलजीवन बिताइरहेका उनलाई भियतनाम युद्धमा बन्दी अमेरिकी सेनालाई छुटाउन सेनाका हाकिमले अनुरोध गर्छन्। तर, उनलाई देशभक्तिको यस्तो पाठ पढाइन्छ कि अन्त्यमा नायक ‘आफूलाई जेसुकै भए पनि म देशका लागि मरिमेट्न तयार छु’ भन्दै भियतनाम जान तयार हुन्छन्। फिल्मको दोस्रो भाग र्याम्बोः फर्स्ट ब्लड २ (सन् १९८५) मा नायक र्याम्बोले उनले कसरी बन्धक सैनिकहरूलाई मुक्त गर्छन् भन्ने देखाइएको छ।
राष्ट्रवाद यस्तो विषय हो जुन सबैको मनमा भावनात्मक हिसाबले जोडिएको हुन्छ।
म सहभागी थाइल्यान्डमा भएको नेतृत्व विकाससम्बन्धी तालिममा भारतका प्राध्यापक विजय पात्कीले भनेका थिए, ‘संसारमा जेजति युद्ध तथा आन्दोलन भएका छन्, कि स्वतन्त्रताका लागि भएका छन् कि समानताका लागि। स्वतन्त्रता प्रायः अरू देशविरुद्ध लडिन्छ भने समानता आफ्नै देशभित्र। अहिलेको जेन-जी आन्दोलन पनि मूलत: समानताका लागि र केही व्यक्तिगत स्वतन्त्रताका लागि लडिएको हो भन्दा फरक पर्दैन।
अब प्रसंग केलाऊँ दुर्गा प्रसाईंको।
केही समयपहिले प्रसाईंले भनेका थिए– नेपाल भारतमा गाभिएको भए हाम्रा दाजुभाइले ५० हजार र दुई लाख भारुमा मोटरसाइकल र कार चढ्न पाउँथे। … मोदी मेरै प्रधानमन्त्रीजस्तो लाग्छ, यदि हामी भारतमा गाभियौँ भने दिल्ली पनि हाम्रै हुन्छ, मुम्बई पनि हाम्रै हुन्छ।
एउटा सोसल मिडियाको भिडिओ क्लिपमा प्रसाईं भन्छन्– भारतबाट एक लाखभन्दा बढी मानिस हाम्रो हिन्दु राष्ट्र बनाउने तथा राजतन्त्र ब्युँताउने आन्दोलनका लागि हिँडिसके।
एकातर्फ राजतन्त्रलाई राष्ट्रियताको प्रतीक मान्ने प्रसाईं अर्कातर्फ देशलाई नै भारतमा गाभ्नुपर्छ भन्छन्।
भारतको कुरा गरौँ, इन्दिरा गान्धीको समयमा पन्जाबलाई खलिस्तान बनाउनुपर्छ भन्ने माग राखेर स्वर्ण मन्दिरमा आश्रय लिएका जरनैल सिंह भिन्डरावालेलाई अपरेसन ब्लुस्टारमार्फत हत्या गरियो। सोही प्रकरणमा गान्धी आफ्नै अंगरक्षकबाट मारिनुपर्यो। अहिले मोदीको शासनकालमा खलिस्तान समर्थक नेताको क्यानडामै हत्या भयो। क्यानडाले हत्याको दोष भारत सरकारलाई लगायो। तर, भारतले अस्वीकार गर्यो। सौहार्दपूर्ण रहेको भारत-क्यानडाको सम्बन्ध यस घटनापछि यति कटुतापूर्ण भयो कि उनीहरूले एकअर्काका कूटनीतिक प्रतिनिधिहरूलाई देशनिकालासम्म गरे।
हामी बलभद्र कुँवर, भक्ति थापा र अमरसिंह थापाको वीरताको इतिहास बढो चाख लिएर पढ्थ्यौँ। नालापानीको युद्धमा हामीले करिब २५ वर्ष शासन गरेको कुमाउ, गढवालको क्षेत्र गुमाउनुपर्यो, तर त्यस युद्धमा भक्ति थापाको शवलाई अंग्रेजहरूले ससम्मान नेपाली सेनालाई सुम्पेको यथार्थ हो। यस्ता कथाहरूले हामीमा देशभक्तिपूर्ण भावना जगाउन मद्दत गर्थे। तर, अहिले खुलमखुला दुर्गा प्रसाईं नेपाललाई भारतमा गाभ्नुपर्छ भन्छन्। तर पनि, हामी चुप छौँ। रमाइलो मानिरहेका छौँ। उनको यस्तो राष्ट्रघाती अभिव्यक्ति किन राष्ट्रिय चासो र चिन्ताको विषय बनिरहेको छैन?
स्वतन्त्रता र समानताको चाहना हरेकमा हुन्छ। र, यो समग्र देशको सन्दर्भमा पनि लागु हुन्छ, किनभने देश भनेको वास्तविक अर्थमा जनता हुन्। भौगोलिक सिमाना सहायक तत्त्व हो। मधेस प्रदेशको सीमावर्ती क्षेत्रमा बसोबास गर्ने कतिपयको वारिपारि रोटीबेटीको सम्बन्ध छ। तर पनि, किन कुनै एकजना पनि मधेसी नेपाललाई भारतमा गाभ्नुपर्छ भन्दैनन् बरु उल्टै सीमारक्षक भएर बसेका छन्। छिमेकीबाट दशगजा क्षेत्रमा अतिक्रमण हुँदा सबैभन्दा पहिले विरोधमा उत्रिने सीमावासी नै हुन्छन्। केपी शर्मा ओली सरकारले ‘चुच्चे नक्सा’ जारी गर्ने क्रममा संविधान संशोधन गर्दा किन कुनै बेला भारतीय नाकाबन्दीको समर्थनमा उत्रिएका मधेसी पार्टीहरूले समेत समर्थनमा भोट हाले। विरोध गर्ने मधेसी सांसद सरिता गिरीको सांसद पद नै खारेज गरियो।
नेपालका दलित हजारौँ वर्षदेखि शोषित, उत्पीडित र अवहेलित छन्। समानताको लडाइँ निरन्तर जारी छ। भारतमा नेपालको तुलनामा दलितहरूले धेरै सुविधा पाएका छन्। सत्तामा समेत उनीहरूको हिस्सेदारी राम्रै छ। दुईजना दलित त राष्ट्रपति नै भइसके। यस्तो अवस्थामा के हामी नेपाली दलितले नेपाल भारतमा गाभिए हामीले अझ बढी अधिकार पाउँथ्यौँ भन्नुपर्ने हो? हामीले यसो भन्नु त परको कुरा, सोच्नसमेत सक्दैनौँ।
अर्को प्रसंग, सन् १९९३ मा इन्सेकले प्रकाशन गरेको मानवअधिकार वर्ष पुस्तकमा बांगे सार्कीबारे उल्लेख गरिएको छ। बेतिया हुँदै आक्रमण गर्न आएका सार्कीलाई नेपाल जाने बाटो सोद्धा उनले जवाफ दिएनछन्, त्यसैले उनी मारिएछन्। के मार्नुअघि उनलाई अंग्रेजहरूले लालच देखाएनन् होला? उनी ज्यान गुमाउन तयार भए, तर देशप्रति गद्दारी गरेनन्।
अहिले सरकारले प्रसाईंलाई प्रहरीप्रति कटाक्ष गर्दै अभिव्यक्ति दिएको कसुरमा हिरासतमा लिएको छ। उनको समर्थनमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यलगायतले रिहा गर्न माग गरिरहेका छन्। एउटा स्वतन्त्र नागरिकको हिसाबले उनको पक्राउको समय र कारणलाई लिएर विरोध गरिनु अन्यथा नहोला, तर आफ्नो देश नै अर्काको देशमा गाभ्नुपर्छ भन्ने व्यक्तिलाई खुलेआम छुट दिन मिल्छ?
मैले पढेअनुसार स्विजरल्यान्ड र फ्रान्सको सीमा जोडिएको ठाउँमा दुवैतर्फ बजार छ। स्विजरल्यान्डतर्फ बियरलगायत धेरै सामान महँगो पर्छ, तर फ्रान्समा सस्तो। तर पनि, स्विसहरू सामान किन्न उता जाँदैनन्, किनभने आफ्नो देशमा सामान किन्दा तिरिएको कर आफूहरूकै हितमा खर्च हुन्छ भन्ने कुरा उनीहरूले बुझेका छन्।
दुर्गा प्रसाईंले भनेजस्तै के नेपाली जनता ५० हजारमा पाइने मोटरसाइकल र दुई लाखमा पाइने कारको लोभमा देशलाई नै भारतमा गाभ्न तयार होलान्? जवाफ– २०७२ सालमा भारतले लगाएको नाकाबन्दी हो, जहाँ सम्पूर्ण नेपाली हजार कष्ट सहन तयार भए, तर झुक्न तयार भएनन्।
सबै देशको आफ्नै स्वार्थमा आधारित परराष्ट्रनीति हुन्छ र सो नीतिमा राज्यको चौथो अंग मानिने सञ्चारजगत् पनि सरकारसँगै हुनुपर्छ। तर, उदेकलाग्दो त प्रसाईंका जथाभाबी भनाइ तथा अन्तर्वार्ता सञ्चारमाध्यमहरूले ‘भाइरल’ हुने लोभमा प्रसारण गरिरहेका छन्। के हामीलाई नेपाली पहिचान र राष्ट्रियता प्यारो छैन? यस्ता थुप्रै प्रश्न छन्, जसलाई प्रसाईं प्रकरणले बाहिर ल्याएको छ। तर, जवाफ हामीले नै दिनुपर्नेछ।