काठमाडौँ। सप्तरीबाट प्रहरीले मालवाहक ट्रकबाट ९७८ किलो गाँजा बरामद गरेको छ। कञ्चनपुर नगरपालिका २‚ बरमझियाबाट प्रहरीले बिहीबार राति गाँजा बरामद गरेको हो।
सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) डम्बरबहादुर पुरीका अनुसार फत्तेपुरबाट भारदह जाँदै गरेको ना.५ख ५३५ नम्बरको ट्रकमा लोड गरिएको गाँजा बरामद गरिएको हो। गाँजा ओसारपसार भइरहेको सूचना पाएपछि प्रहरी टोली राति साढे १० बजे बरमझियास्थित पूर्व-पश्चिम राजमार्गमा खटिएको थियो।
गाँजा बोकेको ट्रक नियन्त्रणमा लिन पुरी र इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेको नेतृत्वमा टोली खटिएको थियो।
धनकुटाबाट मालवाहक ट्रकमा सप्तरी लगिएको गाँजासहित चालक प्रहरीको नियन्त्रणमा, गाँजा धनीकै अझै भएको छैन पहिचान
पुरीका अनुसार ट्रक जाँच गर्दा २८ वटा पोकामा रहेको गाँजा फेला परेको हो। ट्रकका चालक धरान उपमहानगरपालिका १३ का २५ वर्षीय सञ्जय श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
बरामद भएको गाँजा धनकुटाबाट ल्याइएको थियो। सीमावर्ती क्षेत्र हुँदै भारत निकासी गर्ने तयारीमा रहेका बेला प्रहरीले सूचना पाएको थियो। गाँजाधनी भने पहिचान भइसकेको छैन। चालकलाई प्रहरीले लागुऔषध मुद्दामा अदालतबाट सात दिन थुनामा राख्ने अनुमति लिई अनुसन्धान थालेको छ।